विराटनगर । नेकपा (एमाले) का सांसद् तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारीको ठगी प्रकरण मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशको राय बाझिएको छ ।
अब यो मुद्दाको सुनुवाइ आगामी बिहीबार एकल इजलासबाट हुने भएको छ । मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले दिएको ७२ नम्बरको निवेदनको सुनुवाइमा दुई न्यायाधीशको राय बाझिएको हो ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको इजलासले यही वैशाख ११ गते गरेको आदेश बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा मुद्दा पठाइएको हो ।
न्यायाधीश केशवप्रसाद बास्तोलाले प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गरेका थिए । तर न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गरेकी छन् ।
न्यायाधीश बास्तोलाले सहकारीका अध्यक्ष शम्भूप्रसाद रौनियारलाई जिल्लाको आदेशलाई सदर गर्दै पुर्पक्षमा पठाएको हकमा पनि सहमत भएका छन् ।
‘न्यायाधीश श्रीधराकुमारी पुडासैनीको माथि उल्लेखित रायमध्ये प्रतिवादी शम्भुप्रसाद रौनियारलाई मुद्दा पुर्पक्षको लागि थुनामा राखे गरी जिल्ला अदालतबाट भएको आदेश सदर गरेको हकमा मेरो सहमति रहेको भए पनि प्रतिवादीहरूमध्ये उमागौरी सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको सदस्य तथा पदाधिकारीको रूपमा कार्य गर्ने प्रतिवादीहरूको कसूरमा हुनसक्ने संलग्नतालाई विचार गरी जिल्ला अदालतबाट एकरूपको आदेश भएको नदेखिँदा प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा अभियोगपत्रमा उल्लेखित बिगोसमेतलाई विचार गरी जनही एक करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीकोहकमा जनही २५ लाख नगद, बैङ्क वा जेथा जमानत दिए लिई निज प्रतिवादीहरूलाई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नू र सो धरौटी दिन नसके कानूनबमोजिम मुद्दाको पर्पक्ष गर्नू’ न्यायाधीश बास्तोलाले दिएको रायमा भनिएको छ, ‘माननीय न्यायाधीशज्यू श्रीधराकुमारी पुडासैनीको रायसँग सोहदसम्म म सहमत हुन नसकेको हुँदा प्रस्तुत निवेदनहरू सुनुवाइका लागि तेस्रो न्यायाधीशको इजलास समक्ष पेश गर्नू ।’
जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतिलाई ५ लाख, लक्ष्मीदेवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्जलासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा ७३ नम्बर गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।
गत मङ्सिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि विराटनगरको महेन्द्र रात्रि मा.वि.मा पढाउने अञ्जला विद्यालयमा बिदा लिएर फरार भएकी थिइन् । फरार भएको तीन सातापछि पुस २४ गते बिहान अदालतमा उपस्थित भएकी थिइन् ।
सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य धरौटीमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन् ।
उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य थिए । शेयरबापत ३ करोड ८ लाख ९० हजार रकम रहेको थियो । सहकारीमा ७ सय ७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द अवस्थामा रहेको छ ।