भण्टाबारी/ महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा घरेलु हिंसाबाट पीडित भएर आत्महत्या गर्न लागेकी एक युवतीको प्रहरीले उद्धार गरेको छ ।
हिंसाबाट पीडित भई कोशी ब्यारेजमा हाम्फाल्ने तयारीमा रहेकी एक युवतीको स्थानीय प्रहरीले मङ्गलबार दिउँसो उद्धार गरेको हो ।
सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर की १५ वर्षीया अञ्जु मुखियाले डेढ वर्षकी छोरीसहित आत्महत्या गर्न कोशी ब्यारेजमा हाम्फाल्ने तयारी गरिरहँदा स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरेको कोशी ब्यारेज प्रहरी इञ्चार्ज असइ बिनबहादुर पाण्डेयले बताए । इटहरीका रविन्द्र मुखियासँग तीन वर्षअघि १२ वर्षकै उमेरमा विवाह गरेकी अञ्जुले घरपरिवारको हिंसा सहन नसकेर आत्महत्याको बाटो रोजेको बताइन् ।
बिहे गरेदेखि नै श्रीमान्ले आमाबाबुको कुरा सुनेर आफूलाई पटक–पटक यातना दिँदै आएको जनाउँदै अञ्जुले बाध्य भएर आत्महत्या गर्ने योजना बनाएको बताइन् । ‘श्रीमान्ले पनि अर्को विहे गर्छु तिमीलाई राख्दिनँ भन्छन् । छोरीको पनि हेरचाह गर्दैनन्’ उनले भनिन्, ‘बिरामी प¥यो उपचार गर्र्दैनन्, हेला गर्छन्, त्यसैले छोरीसँगै आत्महत्या गर्न इटहरीबाट कोशी ब्यारेज आएको हुँ ।’ उनी इटहरीबाट कोशी ब्यारेज आउने क्रममा एक महिलाले ‘कहाँ जान्छौं’ भनेर सोध्दा उनले ‘कोशीमा हाम्फाल्न जाँदै गरेको’ बताएपछि ती महिलाले कोशी ब्यारेज प्रहरी चौकीमा जिम्मा लगाएको अञ्जुले बताइन् ।
अहिले देशभरि ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रमहरू भइरहेका छन् । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विभिन्न कार्यक्रमहरू गरी मनाइँदै आएको छ । तर, पछिल्लो घटनाले महिला हिंसाविरुद्धको अभियान प्रभावकारी नभएको दाबीलाई बल थपेको छ । महिला अधिकारवादीहरूले सन् १९८१ देखि नै नोभेम्बर २५ को दिनलाई महिला हिंसाविरुद्धको अभियान दिवसका रूपमा मनाइँदै आएको छ । डोमिनिकन गणतन्त्रका मिराबेल दिदीबहिनीमाथि भएको राजनीतिक हिंसा विरुद्धको अभियानस्वरूप यो दिवस मनाउन थालिएको बताइन्छ ।
पछि संयुक्त राष्ट्रसङ्घको १७ डिसेम्बर १९९९ को महासभाले पारित गरेको दिन अर्थात् नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रूपमा मनाउने घोषणाअनुसार हरेक वर्ष सोही दिन अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाइन्छ । यो दिवसको अवसरमा नेपालमा समेत महिलाविरुद्ध हुने विभिन्न घरेलु तथा यौनजन्य हिंसा र महिला हकअधिकारका विषयमा आवाज उठाउने थुप्रै गैरसरकारी सङ्घ–संस्थाहरूले काम गर्दै आएका छन् । शहरका तारे होटेलका सुविधासम्पन्न हलमा नियमितजसो महिलाविरुद्ध हुने हिंसा उन्मूलन गर्ने र महिलालाई उनीहरूको हकअधिकार दिलाउने विषयमा विभिन्न सभा, गोष्ठी र सेमिनार गर्दै आएका छन् ।
तर, गाउँका वास्तविक पीडित महिलासम्म पुग्न पाएको छैन र पीडित महिलाहरूले आफ्ना बारेमा शहरका तारे होटेलमा भएका विभिन्न सभा, गोष्ठी र सेमिनारका बारेमा जानकारी पनि पाउन सकेका छैनन् भन्ने कुरा अञ्जुको घटनाले समेत पुष्टि गर्छ । वास्तविक रूपमा भन्ने हो भने नेपाली समाजका महिलाहरू सामाजिक एवम् सांस्कृतिक रूपमा पनि हिंसापीडित छन् ।
बहुविवाह बारे अनभिज्ञ
श्रीमान्ले अर्को विवाह गर्ने भन्दै इटहरी माइती भएकी अञ्जुले आत्महत्या प्रयास गर्नुको मुख्य कारण हो । ससुराली पक्षले यातना दिनुको साथै आफू हुँदाहुँदै श्रीमान्ले अर्को बिहे गर्न लागेकोले आत्महत्या प्रयास गरेको अञ्जु बताउँछिन् । कान्छी ल्याएपछि थप हिंसाको शिकार हुनसक्ने बताउँदै उनले बहुविवाह बारेमा आफूलाई जानकारी नभएको जनाइन् । जिल्ला प्रहरी कार्यालय सुनसरीमा पटक–पटक उजुरी दिए पनि हिंसा नरोकिएको अञ्जुले गुनासो गरिन् ।
मर्ने चाहना नभएको बताउँदै अञ्जुले श्रीमान्सँग शान्तपूर्वक बस्ने व्यवस्था मिलाउन सबैमा आग्रह गरेकी छन् । आत्महत्या प्रयास गर्ने अञ्जु मुखियालाई उद्धार गरी माइती पक्षको जिम्मा लगाएको कोशी ब्यारेज प्रहरी चौकीका असइ बिनबहादुर पाण्डेयले जानकारी दिए । हिजोआज महिला हिंसाविरुद्ध शहरमा आवाज उठे पनि अञ्जु जस्ता गाउँघरका आवाज सुन्ने कोही छैन । जसले गर्दा गाउँघरका महिलाहरू हिंसा सहेर बस्न बाध्य छन् । जेठी श्रीमती हुँदाहुँदै बहुविवाह गरेको पाइएमा कान्छी श्रीमती र श्रीमान् दुवैलाई कानूनअनुसार सजायको भागीदार हुनुपर्ने व्यवस्था छ । बहुविवाह गर्न कानूनले बन्देज गरे पनि अञ्जु जस्ताको आवाज सम्बन्धित ठाउँसम्म पुग्न नसकेकोेले त्यो कानून व्यवहारिक रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।