जीवनका सम्बन्ध सूत्रहरु

alt
  • मंसिर १४, २०७६
  • १४७ पटक पढिएको
  • ब्लाष्ट खबर

सुनको थाल
आलिशान महल
अनिँदो सपना ।
पाना पल्टाउँदा सवभन्दा पहिले आँखा प¥यो सङ्खुवासभाका कृष्ण जिमी भरतको यो हाइकुमा । शहरीकृत हुन रमाउने तर मनभरी विविध पीर बोकेर बस्नेहरुको पीडा उतारेको हाइकु । बेलबारीकी सर्जक तीला लेकालीले संयुक्त हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ हातमा दिनुभएपछि हेर्दा सवभन्दा पहिले पल्टिएको पानो थियो त्यो ।

सन्दर्भ थियो पथरीशनिश्चरेस्थित एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ अभियानको १४ औं श्रृङ्खला । त्यस क्रममा पुराना साहित्यिक मित्रहरुसँग भेटघाट भयो । आपसमा सृजनात्मक खुसी साटासाट भयो । मेरो सृजनायात्राका सवैभन्दा घनिष्ट साथी प्रकाश आङ्देम्बेका साथै रोहित पराई र ढाकातारा पराजुलीसँग सृजना चौतारीमा म पनि रचना वाचनमा सामेल थिएँ । पूर्वकै पुराना जनवादी तथा लोक गायक वीरध्वज शिवा पनि गायनको पाटोबाट सामेल हुनुहुन्थ्यो । हामी ५ जना कार्यक्रमका सृजना प्रस्तोता भएर उभियौं । लामै समयपछि यसरी हामी एकैठाउँमा प्रस्तुत हुन पाउँदा निकै खुशीको अनुभूति भयो । पुराना यादहरु छचल्किएर समेत आए । साथका प्राज्ञसमेत भइसक्नु भएका वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्लले समसामयिक कलाका बारेमा विमर्श प्रस्तुत गर्नुभयो । हामी त्यो दिन कला साहित्यको घेरामा रहेर दिनभर फरक आनन्दमा थियौं ।

यही क्रममा विभिन्न ठाउँबाट कार्यक्रमको निम्तो मान्न आउनु भएका साथीहरुसँग भेटघाटका क्रममा मलाई बेलबारीकी उमा सिजापतिले आफ्नो लघु कथासङ्ग्रह ‘परी’ थमाउनु भएको थियो । २ पुस्तकमध्ये छोटो विधाको हाइकु हेरिहालें । तीलाजी अध्यक्ष रहेको पूर्वाञ्चल हाइकु सङ्घ समितिमार्फत प्रकाशित सङ्ग्रह हाइकु विधाको विकासका लागि एउटा महत्वपूर्ण अङ्ग बनेको पाएँ । पूर्वमा सबैभन्दा पहिले ०६७ सालमा उर्लावारीमा हाइकु विशेष कार्यक्रम भएको मलाई पनि सम्झना छ । त्यहाँ सोही बारे कार्यपत्र पनि प्रस्तुत भयो र समिति बनाइयो । सो समितिले भर्खरै देश विदेशमा रहेका सर्जकहरुको हाइकु समेटेर सङ्ग्रह प्रकाशित गर्यो ।

१ सय ६६ जनाका समसामयिक विषयवस्तुमा केन्द्रित हाइकुको सङ्ग्रह चोटिलो खुराक बनेको छ । पहिलो लाइन ५, दोस्रो ७ र तेस्रो ५ अक्षरमा नेपालीमा हाइकु लेखिदै आएको छ । जापानी साहित्यबाट उदाएको हाइकुले अहिले नेपाली साहित्यमा पनि प्रभाव जमाएको छ । पहिलो लाइनले समस्या, दोस्रोले जिज्ञासा र तेस्रोले समाधान दिने संरचनाको व्याख्या गरिएको छ । प्रकृतिसँग जोडिएर लेख्नुपर्ने परम्परागत मान्यता हो । नेपालीहरु अक्षर गनेर लेख्छन् तर खासमा यसको मात्रा ÷स्लेबल्स गनेर लेख्नुपर्ने तर्क अझै बढी सान्दर्भिक लाग्छ । अक्षरमा नभई शव्दको उच्चरणीय आधारमा मात्रा निर्माण हुँने हुँदा यही सन्दर्भ उपयुक्त लाग्ला भन्ने लाग्छ । तथापि अक्षरै गनेर लेखिएका धेरै छन् यहाँ । हुन त मैले पनि हाइकु लेख्दा अक्षरै गन्न चाँहि छोडेको छैन । अब कहिलेदेखि छोडिन्छ होलाकि, थाहा छैन । अक्षर नगन्ने मान्यताले आम रुपमा प्रभाव पारेमा त्यो एउटा मान्यतामा परिणत हुन्छ । त्यो बाँकी छ । तर, यसले समेट्ने भावको गहिराइ अहिले पनि कम गहिरो छैन । इलामका एकु घिमिरेले यसरी गहिरिन्छन् ः
किन कहिल्यै
सेतो हुन सकेन
छायाँको रङ्ग ।
हाइकुले संसारभन्दा माथिको संसार छोटोमा समेट्छ । यसलाई चानचुने हिसाबले अक्षर गनेर मिलाउँदा मात्रै यसको मर्म समेटिँदैन । यसले विविध पक्षलाई गहिरोगरी खोतल्छ । समसामयिक राजनीतिमाथिको व्यङ्ग्य छ हाइकु अभियन्ता प्रा.डा. कपिल लामिछानेको यो हाइकुमा ः
बिहे हुने रे
कुकुर र बिरालाको
काठमाडौंमा ।
सबैका हाइकुका दम एकसे एक दमदार बन्ने प्रयत्नमा छन् । सबैका उत्तिकै दमदार चाँहि हुन बाँकी छ । मुख्यतः एक सर्जकको २० वटाका दरले हाइकु राख्ने काममा केन्द्रित भएर पुस्तक ल्याइएको छ । सुनसरीका केशव बरुवाल पथिकले सङ्ग्रहमा राखेमध्येको चोटिलो लाग्यो यो हाइकु ः
ओर्लियो सूर्य
बटुकाको पानीमा
प्यास मेट्न ।
कतिपयले अक्षर गन्दा पनि कम बेसी बनाएको पनि पाइयो । केशवजी कै यो हाइकुमा पनि ‘प्यास मेट्न’ ४ अक्षरको मात्रै छ । हिसाबै गर्दा आधा अक्षरलाई सिङ्गो भनेर गन्न मिल्दैन ।

सङ्ग्रहमा गजल, कविता विधामा ख्याति कमाएका अगुवाहरुको समेत हाइकु छ । यसलाई कविताको लघु रुप मान्नेहरुको एउटा व्याख्या छ । तर, संरचनाले फरक विधा भएपछि यसलाई जे नाम दिइएको हो त्यही भन्नु उपयुक्त हुन्छ । ‘हाइकु कविता’ भन्नु आवश्यक छैन । हुन त उस्तै फरक संरचनाको गजललाई पनि कविताको अंश भनेर पुरातन असान्दर्भिक भजन गाउनेहरु पनि छन् नै । तर, जुन विधाको फरकपन छ, त्यसको नाम पनि फरक हुन्छ । होला, त्यसलाई विधागत रुपमा दर्विलो बनाउन बाँकी होला ।

बरु दर्बिलो आयाम बनाउन लाग्नु उपयुक्त हुन्छ । रामकुमार पाँडे, डा. घनश्याम न्यौपाने परिश्रमी, रामदयाल राकेश, विष्णुबहादुर सिंह, दिव्य गिरी, पुस्कर लोहनी, टीकाराम उदासी, चेतनाथ धमला, प्रा.डा. भीम खतिवडा, डा. मधुसूधन गिरी, मिश्र वैजयन्ती, राम विनय, रासा, सुरेन्द्र महर्जन अमर, दामोदर पुडासैनी किशोर, चुडामणि ढकाल अकिञ्चन जस्ता नेपालका साहित्यिक आकाशका अगुवाहरुको रचना समाविष्ट छन् । यहाँ भएका नामहरुभित्र नेपालमा हाइकुलाई स्थापित गराउने अगुवाहरु समेत पर्छन् । हाइकु अभियानका अगुवा रामकुमार पाँडे हाइकुमा यसरी डुब्छन् ः
चन्द्रमा भेट्न
बाँसको मुना त्यो
निहुरी उठ्यो ।
सबैको आर्थिक सहकार्यमा प्रकाशित पुस्तक सानो र लामो आकारको छ । गोजीमा बोक्न सहिजो हुनेखाले छरितो छ । १ सय ८४ पृष्ठ छ । एउटा पृष्ठमा १० वटा हाइकु छन् । बेलबारीका चित्रकार गणेश लामा आँशुको अर्धअमूर्त आवरण चित्र शीर्षकमा गहिरो तालमेलमा छ । हाइकुहरु समग्रमा जीवनवादी छन् । जीवनका लागि छन् । जीवनको सम्वन्ध अनि मानवीय सम्वन्ध जोड्ने गतिलो सूत्रका रुपमा उभिएका छन् । ‘सिद्धान्त र सिर्जना ः नेपाल भित्रको हाइकु र हाइकु भित्रको नेपाल’ शिर्षकमा झापा गौरादहका दीपक सुवेदीले हाइकुबारे लेखेको सामग्री अन्तिममा राखिएको छ । त्यहाँ हाइकुको अङ्ग प्रत्यङ्ग व्याख्या छ । शुरुमा बेलबारी नगरपालिकाको शुभकामना र त्यहाँकी नगर उपप्रमुख कवि ढाकाकुमारी पराजुलीका शब्द शुभेच्छा छन् ।

कतिपयले हाइकुलाई अलि बढी यौनसँग जोडेर लाने पनि गरेको पाइएको छ । पुस्कर लोहनीहरु त्यसमा बढी रमाउने गर्छन् । हुन त साहित्य बहुअर्थी हुन्छ र त्यस्तो हुँदामात्र त्यसको गहिरो मर्म झल्किन्छ । तर, यौनमै जोडेर व्याख्या गरी गरी हाइकुको दोहोलो काढ्नेहरु पनि छन् । उनीहरुलाई साहित्यलाई ठाडो अश्लिल नबनाउन नयाँ पुस्ताले पाठ पढाउन आवश्यक छ । हाइकु लेखनको ५ दशक पुरानो नेपालको इतिहासका बीचमा हाइकुलाई नयाँ पुस्ताले अझ प्रभावकारी बनाउन लाग्नुपर्ने हुन्छ । दोस्रो पुस्ताका चेतनाथ धमलाहरु हाइकुलाई व्यवस्थित गर्ने प्रयासमा छन् । मान्छेहरुको व्यस्ततालाई केही सेकेन्डमै साथ दिँदै गहिरो स्वाद चखाउने हाइकुको प्रभाव कम आँकलन गर्न मिल्दैन । यसलाई अझ गहिरो बनाउन लागौं । मान्छेहरु सद्भाव, माया र प्रेमको वास्तविकताबाट टाढा हुँदै गएका छन् । समयले मान्छेलाई मेसिन बनाएको र मुटु पनि मेसिनको जस्तै फलामको बनाउँदै छ ।
आमाको मुटु
छोराको हातमा
छोराकै चिन्ता

अपडेटः कृष्णदासलाई थ ...

विराटनगर /  अनुनायी महिलामाथि जवरजस्ती करणीको आरोप ...

राष्ट्रियसभा सदस्य न ...

सिरहा । प्रदेश २ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा शतप्र ...

डन ‘माननीय' पोखराबाट ...

धरान /  प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ ...

कृष्णदास भारत लागे, ...

विराटनगर  / अनुयायीलाई बलत्कार गरेको अभियोगमा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved