हरेक चुनावका बेला राजनीतिक दलहरूबीच एउटा दलका कार्यकर्ता अर्को दलमा तान्ने प्रतिस्पर्धा चल्छ । चुनाव नजिकिन थालेपछि ‘पार्टी प्रवेश’ कार्यक्रमको लहरै चल्छ । यसपटकको उपनिर्वाचनका क्रममा पनि दल बदल्ने क्रम बाक्लै चलेको छ । अहिले दैनिकजसो कुनै न कुनै दलले आफ्नो पार्टीमा प्रवेश गराएका समाचार आइरहेका हुन्छन् । तर, अहिले मतदातामा भ्रम छर्ने किसिमले दल बदलको राजनीति भइरहेको छ । यसले गलत राजनीतिक संस्कारलाई बढावा दिइरहेको छ ।

यसपटकको उपनिर्वाचनमा धरानमा मेयर र एक वडाअध्यक्षको लागि निर्वाचन हुँदै छ । त्यसैको प्रतिस्पर्धामा उत्रिएका दलहरूमध्ये नेकपाले चार सय भन्दा बढीलाई आफ्नो पार्टीमा प्रवेश गराइसकेको दाबी गरेको छ । त्यस्तै नेपाली काङ्ग्रेसले करिब पाँच सयलाई प्रवेश गराएको दाबी गरेको छ । दल बदलको प्रतिस्पर्धामा कुनै दल कोही भन्दा कम लाग्दैनन् । समाजवादी पार्टीले पनि १ सय ५० जनालाई प्रवेश गराएको बताएको छ भने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले हालसम्म २ सय ५० भन्दा बढीलाई आफ्नो पार्टीमा प्रवेश गराएको बताएको छ । सबै दलहरूले प्रवेश कार्यक्रम जारी रहेको बताइरहँदा निर्वाचनसम्म हजारौंले दल बदल गरिसकेका हुनुपर्ने हो र दलहरूका त्यही सङ्ख्यामा मतदाता वृद्धि हुनुपर्ने हो तर विगतका दल बदलको क्रम हेर्दा मतदाता सङ्ख्यामा त्यस्तो फरक देखिँंदैन ।

दल बदलले मतदातालाई भ्रममा पार्ने गरेको छ । दलका नेताहरूमा जसले धेरै मान्छे प्रवेश गरेको अपवाह फैलायो, मतदाताले उसलाई विश्वास गर्छन् भन्ने भ्रम रहेको पाइन्छ । त्यसैले पनि उनीहरू प्रवेश गराउन हतारिने गर्छन् । मतदातालाई भ्रम छर्ने नाममा दलका नेताहरू नै भ्रममा परिरहेका छन् । तर, उनीहरूले के बुझ्नु जरुरी छ भने भ्रमको खेती लामो समय टिक्दैन । यसले दलहरू प्रति अविश्वास बढाउँछ । अहिले दलहरूले आफ्नो पार्टीमा प्रवेश गराएका भनिएका अधिकांश मानिस कि त कुनै पार्टीमा नरहेका, कि आफ्नै पार्टीका सामान्य मतदाता मात्र देखिन्छन् । पार्टीप्रति प्रतिबद्ध कार्यकर्ताहरू ज्यादै कम मात्र अर्को पार्टीमा प्रवेश गर्ने गर्छन् । यो दल बदलको राजनीति एक समय कतिसम्म विकृत भइसकेको थियो भने अघिल्लो केही चुनावमा भाडामा पनि पार्टी प्रवेश गराइएको चर्चा चल्यो । एउटै व्यक्ति केही दिन अघि एउटा पार्टीमा प्रवेश गर्ने र केही दिनपछि अर्को पार्टीमा प्रवेश गर्ने गरेका घटना पनि देखिएका हुन् । दलहरूले आफ्नो पार्टीमा आकर्षण देखाएर प्रपोगन्डा फैलाउन गरिरहेको दल बदलको राजनीतिले अन्ततः दलहरूलाई नै बेफाइदा गर्छ । दलहरूले गलत संस्कारका रूपमा विकास भइरहेको दल बदलको राजनीतिलाई त्याग्नु आवश्यक छ । मतदातालाई भ्रम होइन, विश्वास दिलाउन सक्ने राजनीतिज्ञ र दलले मात्र सही अर्थमा राजनीतिक संस्कार स्थापित गराउन सक्छ ।