उदयपुर/ पहिलो पटक उत्पादन भएको किवीले बजार नपाउँदा उदयपुरका किवी कृषकहरू चिन्तित भएका छन् । रौतामाई गाउँपालिका–६ को बोलुङ्खामा पहिलो पटक उत्पादन भएको किवीले बजार नपाएपछि कृषकहरू चिन्तित भएका हुन् ।

करिब तीन वर्षअघि कृषि कार्यालयबाट लगेर रोपेको बिरुवाले राम्रो फल दिन थालेपछि कृषकहरूमा बजारको समस्या आएको छ । अहिले किवी एक घरमै करिब २ सय ५० केजीभन्दा बढी उत्पादन भएको कृषक मदन राईले बताए । उनले भने, ‘किवी पाक्न थाल्यो । तर बजार पाइएन ।’ महत्वपूर्ण फल भए पनि किवीको महŒव नबुझेका गाउँलेहरूले त्यतिकै दिए पनि नखाने गरेको कृषकहरूले बताएका छन् ।

सुन्तला, जुनारजस्तो खान नजानेको र यसको महत्व पनि नबुझ्नाले उत्पादित किवीले बजार पाउन नसकेको हो । किवीले राम्रो उत्पादन दिएपछि बजारको लागि धेरै व्यापारीहरू खोजे पनि अहिलेसम्म कुनै निकाय र व्यक्ति नभेटिएकाले किवीको बजारीकरण नभएको कृषक राईले बताए ।

गाई, भैंसीको गोबर मल प्रयोग गरी उत्पादन गरेको अग्र्यानिक किवीले बजार पाएको छैन । एकै पटक गाउँमा ८–१० घरले किवीको बिरुवा रोपे पनि अहिले दुई घरले रोपेको किवीले मात्रै राम्रो फल दिन थालेको छ । सुख्खा पाखामा रोपेका बिरुवाले फल दिन अझै केही वर्ष लाग्नेछ ।

कृषिको सल्लाहअनुसार २ फिटको खाडल खनेर गोठेमल प्रयोग गरी रोपेर त्यसलाई बाँसको गोठ छानो बनाइदिएको कृषक राईले बताए । पहिलो वर्ष ६ फिटमा मुन्टा गिँडेको र दोस्रो वर्ष एक फिटमाथि र तेस्रो वर्ष थप एक फिटमाथि मुन्टा गिँड्ने कृषिको सल्लाहअनुसार गरेको तीन वर्षमै राम्रो फल दिन थालेको उनले बताए ।

कृषक राईले भने, ‘अन्य नगदे बालीलाई जस्तो मेहनत गर्नु नपर्ने रहेछ । लहरा हुने भएकाले झार पनि खासै नआउनाले मल जलमा पनि खासै मेहनत गर्नु नपर्ने रहेछ । कम मेहनतमा राम्रो फल उत्पादन हुने रहेछ । तर बजारीकरण हुन नसक्दा चिन्ता पैदा भएको छ ।’ थोरै भए खाएर र गाउँमा बाँडेर भए पनि सकिन्थ्यो । एकै घरमा अढाई क्विण्टलभन्दा बढी किवी फलेको छ । किवी नपाक्दा गैरसरकारी सङ्घ–संस्थाले चासो देखाए पनि फल पाकेपछि कसैले चासो दिएनन् । व्यापारी खोज्दासमेत नपाएको कृषक राईले बताए ।

किवी व्यवसाय गर्नका लागि राम्रो ठाउँ भएको कृषक राईले बताए । तर यसको महत्व नबुझ्नु र बजारीकरण हुन नसक्दा कृषकहरूको मनोबल घट्दै जाने उनले बताए । सम्बन्धित निकायले कृषकहरूलाई प्रोत्साहन गर्नका लागि बजारीकरण गर्न जरुरी रहेको छ । किवीमा भिटामिन, खनिजजस्ता मानिसलाई नभई नहुने तत्व र औषधिकै रूपमा पनि लिने गरिएको छ । किवीले पेटको समस्या, मधुमेह, निमोनिया, दम, रक्तचापलगायत धेरै रोगलाई नियन्त्रण गर्ने गर्दछ । किवी फल खानाले मानिसलाई स्वस्थ राख्दछ ।