भण्टाबारी / सुनसरीको विभिन्न भेगमा अझै घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुने गरेको पाइएको छ ।
प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाइ गरे पनि जिल्लाका ग्रामीण क्षेत्रमा अझैसम्म घरेलु मदिराको कारोबार भइरहेको छ । पछिल्लो समय दलित तथा निम्नवर्गीय घरपरिवारमा महिला तथा बालबालिकामाथि हुने विभिन्न प्रकारको हिंसा र घरायसी विवादको मुख्य कारण घरेलु मदिरा बन्दै गएको कोशी गाउँपालिका ७ स्थित हरिपुरका लखन मुखिया बताउँछन् ।

दिनभरि जनमजदुरी गर्दै साँझ घरेलु मदिराको सेवन गरेर घरपरिवारमा झे झगडा गर्नु मुसहर समुदायको लागि सामान्य बनेको उनले बताए । कोशी गाउँपालिका वार्ड नम्बर १,२,६ र ७ नम्बर वडामा घरेलु मदिराको उत्पादन तथा बिक्री वितरण हुने गरेको मुखियाले बताए । अशिक्षित, गरिब र निमुखा दलित समुदायको बसोबास भएको क्षेत्रमा सबैभन्दा बढी मदिराको कारोबार हुने गरेको छ ।

दलित महिलाहरू चेतनाको अभावमा उत्पादन र कारोबार गरेर घरेलु मदिरालाई जीविकोपार्जनको माध्यम बनाएको अर्का स्थानीय पवित्रा सदाले बताइन् । जीविका चलाउने माध्यम बनाएको हुँदा घरेलु मदिरा न्यूनीकरण गर्न चुनौतीपूर्ण रहेको उनको बुझाइ छ । प्रहरीले पटकपटक मदिराको उत्पादन तथा कारोबार नगर्न सचेत गराए पनि गाउँमा अझै कायमै रहेको पवित्रा बताउँछिन् । दिनभर विभिन्न काममा व्यस्त रहने दलित महिलाहरू साँझ परेपछि असुरक्षित हुने गरेको उनले बताइन् । रक्सी खाएर आउने श्रीमान्ले भनेअनुसार कुरा नमानेमा श्रीमतीलाई दिनहुँजसो कुटपिट गर्दै विभिन्न यातना दिने गरेको पवित्राले बताइन् ।

मदिराकै कारण ग्रामीण क्षेत्रका महिला दिदीबहिनीले अनावश्यक रूपमा आफ्नै घरपरिवारबाट हिंसा खेपिरहेको उनको भनाइ छ । श्रीमान् वा आफ्नै घरपरिवारबाट हिंसा खेप्न बाध्य भए पनि कमै महिला त्यसको विरुद्ध प्रहरीमा जानेको गरेको ७ नम्बर वार्डकी दलित सदस्य पार्वती मुखियाले बताइन् । आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिला खुलेर बोल्न नसकेको बताउँदै पार्वतीले कहिलेकाहीँ प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमै टुङ्गिने गरेको बताइन् । मदिरा सेवन गरेर सार्वजनिक रूपमा होहल्ला मच्चाउने,घरपरिवारमा,छिमेकी तथा साथीभाइमा झैझगडा गर्दै कुटपिटका घटना दिनहुँजसो हुने गरेको पार्वतीले बताइन् । नियमित रूपमा गालीगलौज र झैझगडा हुने भएकाले तत्काल घरेलु मदिरा नियन्त्रण गर्नुपर्ने उनले माग गरेकी छन् ।

रक्सी मुक्त अभियानमा महिला
यसैबीच घरेलु मदिराका कारण हिंसा बढेको भन्दै सुनसरीको गढी गाउँपालिका २ औरावनीका दलित महिलाहरूले त्यसको विरुद्धको अभियान चलाउने बताएका छन् । महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न गाउँलाई मदिरा मुक्त बनाई छाड्ने उनीहरूले अठोट गरेका छन् । गढी गाउँपालिका २ नम्बर स्थित औरावनीमा शुक्रबार आयोजित एक कार्यक्रममा मुसहर समुदायका महिलाहरूले शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न तथा बालबालिकाको भविष्य उज्ज्वल बनाउन समेत गाउँलाई मदिरा मुक्त बनाउन अभियान चलाउने प्रतिबद्धता व्यक्त गरे ।

ग्रामीण भेगमा बसोबास रहेको दलित बस्तीमा घरेलु मदिराकै कारण विवाद हुने गरेको हुँदा त्यसको विरुद्ध अभियान चलाउनु आवश्यक देखिएको २ नम्बर वडाका सदस्य गुदनसरी ऋषीदेवले बताइन् । गाउँमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुने गरेको कारणले हिंसा बढेकोले नियन्त्रण गर्न महिलाले अग्रसरता देखाउनु सकारात्मक भएको उनले बताइन् । मदिरा सेवनले शारीरिक, मानसिक, आर्थिक, सामाजिक रूपमा कमजोर बनाउनुका साथै घरपरिवार अशान्त हुने गरेकाले त्यस्ता समस्याबाट जोगिन रक्सीमुक्त गाउँ बनाउन लाग्नेमा कार्यक्रमका सहभागीहरूले प्रतिबद्धता जनाएका छन् ।