काठमाडौंमा तीन दिनदेखि एनआरएनएको सम्मेलन जारी गरेको छ । विवाद र असहज परिस्थितिका कारण सम्मेलन लम्बिएको छ । विभिन्न देशबाट झण्डै २६ सय प्रतिनिधिहरू नेपाल आएका छन् । यसले आर्थिक रूपमा नेपाललाई नोक्सान छैन । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा एनआएएनले नेपालमा विश्व सम्मेलन गर्न छनौट गर्नु सकारात्मक कुरा हो । नेपाल र नेपालीहरूकै एजेण्डामा छलफल र भलाकुसारी हुने सम्मेलन नेपालमा हुँदा लाखौंको डलर नेपाल भित्रिएको छ । सम्मेलनको सकरात्मक बाटोलाई हेर्दा नेपाललाई माया गर्ने हजारौं प्रवासीहरूलाई एक ठाउँमा पाएको मात्र छैन, उनीहरूसँगै अर्थ पनि भित्रिएको छ । यसले नेपालको पर्यटन प्रवद्र्धन पनि भएको छ ।

तर यस वर्ष काठमाडौंमा हुँदै गरेको एनआरएनको सम्मेलनले सकारात्मक सन्देश मात्र दिएन । अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल हायातसम्म पुग्दा केही व्यक्तिहरूले देखाएको ताण्डवले एनआरएनको बेइज्जतसमेत भएको छ । विदेशमा लामो सयमसम्म बसेर त्यहाँको सभ्यता संस्कृति बुझेका एनआरएनहरू नेपाल आएर तोडफोड तथा अराजक गतिविधिमा उत्रिनु शोभनीय पक्कै होइन । सामाजिक सञ्जालमा उनीहरूले नेपालमा भएको बेथिति र अनुशासनहीनताबारे अर्ती–उपदेशहरू प्रवाह गर्नेहरू नेपाल आएर गैरजिम्मेवार रूपमा प्रस्तुत हुनुले उनीहरूको गरिमा घटाएको छ । विमानस्थलमा लाइन बस्न परेको भन्दै अष्ट्रेलियबाट आएका रमेश थापाको तोडफोड, पत्रकारसम्मेलनको अस्तव्यस्थता, हायात होटलमा भएको तोडफोडलागयत गैरआवासीय नेपालीको व्यवहारले नकरात्मक सन्देश गएको छ ।

विदेशीहरूसँगै लाइनमा बसेका बेला ढिलो भयो भनेर ती विदेशीहरूलाई उछिनेर विमानस्थलका कर्मचारीमाथि दुव्र्यवहार गर्दा रमेश थापालाई ती विदेशीहरूका सामु ‘वीर गोर्खालीहरू कडा हुन्छन्’ भन्ने देखाए जस्तो लागे पनि नेपालीहरू असभ्य हुन्छन् र धैर्य हुँदैन भन्ने सन्देश ती लाइनमा बसेका ती विदेशी नागरिकमा गएको कुरा एनआरएनले बिर्सनु हँुदैन । काठमाडौंमा एनआरएनहरूले ‘वीर गोर्खाली’को जुन परिचय प्रस्तुत गरे त्यो अशोभनीय थियो । विकशित मुलुकमा बसेर नेपालमा आएर गरिएका यस्ता अवाञ्छित गतिविधिले एनआरएनको शिर झुकेको छ । यी सबै गैर–जिम्मेवारपूर्ण क्रियाकलापको भागीदार नेतृत्वले लिंंदै आगामी नेतृत्वले यस्ता आवञ्छित गतिविधिप्रति गम्भीर भएर समीक्षा गर्नु जरुरी छ ।