०५६ सालमा एसएलसी उत्तीर्णको प्रमाणपत्र पाएपछि वृद्ध हुँदै गएका बाबुआमालाई पाल्ने सम्पत्ति कमाउनका लागि धरान बसन्तटारका कृष्ण राईले २१ वर्ष उमेर नकाटिन्जेल लगातार ३ वर्ष गल्ला भिडे । धेरै पटक छाती नापे । उचाइ नापे । कसरत गरे । तर पनि व्रिटिस गोरखा सैनिकमा भर्ती हुन सकेनन् ।
व्रिटिस लाहुरे नहुने भएपछि स्थानीय शिक्षा ज्योती प्राविमा राहत दरवन्दीमा मासिक ४ हजार तलब खाएर विद्यार्थी पनि पढाए आठ वर्ष सम्म । तैपनि जिविका चलाउन मुस्किल भयो । उनको मनमा वैराग पलायो । वैदेशिक रोजगारीमा जाने सुर कसे । उनले मकाउ (चीनको स्वाशासित टापु) मा जान नयाँ पासपोर्ट बनाए । भिसा पनि आयो । तर, परिवारको एक्लो छोरा भएकाले बेलैमा विवाह गरेर मात्र मकाउ जानदिने कडा दबाव आएपछि स्थानीय युवती शान्ति राईसँग विवाह भयो ।
विवाहपछि मकाउ गएर पैसा कमाउने सपना सेलायो । र, नयाँ दुलहीसँग ढुङ्गै ढुङ्गाले भरिएको आफ्नै बारी कोट्याएर भाग्य चम्काउने सपनाको तानाबाना बुन्न थाले । नभन्दै डेढ दशकमा उनले आफ्नो भाग्य आफ्नै बारीमा चम्काएर देखाउन सफल भए । कृषकहरूलाई मात्र होइन आफूलाई कृषि वैज्ञानिक भनेर चिनाउनेहरूलाई समेत चकित पार्र्दै आफ्नो बारीलाई एक्लो प्रयासमा कृषि सम्बन्धी विश्वविद्यालय बनाए । त्यसैबाट उनी बार्षिक २०/२५ लाख रुपैयाँको कमाइ गर्दै रमाइरहेका छन् ।
कृषिविज्ञको सल्लाहमा असफल, आफ्नै तरिका सफल
कृषि प्रधान देश भए पनि नेपालमा कृषिक्षेत्रमा कमैले सफलता पाएका छन् । पछिल्लो समयमा कृष्ण राई जस्ता युवा र ऊर्जाशील जनशक्ति कृषिकर्ममा रमाउन सक्दैनन्, सकिरहेका छैनन् । वैदेशिक रोजगारीको भेलमा ४० लाख नेपाली युवाहरू बगिरहँदा कृष्ण भने सेउती खोलाको किनारामा अड्किए । उनले विगत सम्झँदै भने, ‘ढेड दशक अघिसम्म बाउको अंशमा परेको २५ रोपनी ढुङ्गेबारीमा अन्नको नाममा कोदो र मकै मात्र उत्पादन हुन्थ्यो । ढुङ्गैलो जमिनमा उत्पादित ती अन्नले त्यसबेलाको हाम्रो तीनजनाको परिवारलाई मुस्किलले ४ महिना मात्र थेग्थ्यो ।’
कोदो र मकै मात्र हुने जमिनमा कसरी धेरै भन्दा धेरै अन्नबाली फलाउन सकिन्छ भनेर रातदिन चिन्तन गरे । चिन्तन गर्नु बाहेक अर्को विकल्प पनि थिएन उनीसँग । उसबेलाको २३ वर्षे अल्लारे कृष्णले सबैभन्दा पहिले कोदो र मकैमात्र उत्पादन हुँदै आएको ढुङ्गासरीको बारीमा नया तरिकाले फलफूल तरकारी खेती गर्ने उपायबारे केही पाइन्छ कि भनेर कृषि सम्बन्धी पुस्तक, पत्रपत्रिका खोजेर अध्ययन गर्न थाले । कृषि पत्रिकासँगै मकै, कोदो फलाउने बारीमा नया तरिकाले अन्नबाली र फलफूल तरकारी फलाउन कृषि सम्बन्धी रेडियो कार्यक्रम, टेलीभिजन कार्यक्रम र पुस्तकमा खुब ध्यान दिए दुई वर्षसम्म । रेडियो, टेलिभिजन र कृषीपत्रिका पुस्तकमा कृषि विज्ञले भनेका आधारमा उनले खेती पनि गरे तर असफल भएपछि आफै प्रयोग गर्न अघि सरे । उनले भने, ‘कृषि विज्ञले भनेजस्तै मैले मेरो बारीमा खेती गरेँ तर असफल भएँ ।’
वर्षौ वर्षदेखि कोदो र मकै मात्र फल्ने बारीलाई मासेर उनले रासायनिक मल र विषादी प्रयोगमा पुरै बन्द गरेर फलफूल तरकारी खेतीको आफै शुरु गरे अनौठो परीक्षण । अर्थात् विज्ञहरूले विकासे मल लगाएर उब्जनी बढाउन दिएको सल्लाहको विपरित उनले ०५७ सालदेखि फलफूल तरकारी बारीमा मानव मलमुत्र, गौमलमुत्रलाई आफै प्रसोधन गरेर प्राङ्गारिक मल बनाएर प्रयोग गर्न थाले । किरा फट्याङ्ग्रा र चराचुरुङ्गीबाट बचाउन उनले अनेक परीक्षण गरे । जसलाई नाम दिए, ‘तिरिमिरी गिती तरकारी खेती ।’ सानो स्केलमा गरेको उनको परीक्षणले सकारात्मक परिणाम दिन थालेपछि उपभोक्ताको माग अनुसारका अरू विदेशी फलफूल तरकारीका बिरुवा पनि किनेर ल्याएर परीक्षण गरे । उनले तिरिमीरी गिती तरकारी खेतीका लागि पानीको लागि केही रकम खर्च गरेर सात किमि टाढाको मारखोलाबाट पानी ल्याए ।
आफैले बाँसको स्प्रीङ्कल बनाएर बारीमा प्रयोग गरे । ‘ चिया बगानमा मात्र स्प्रीङ्कल प्रविधि प्रयोग गरी पानी हालेको देखेर उनले सोही प्रविधिलाई तरकारी बारीमा पनि आफै प्रयोग गरेँ ।’ उनले बारीमा सुसेलीका साथमा मधुर गीत गाउँदै विभिन्न बोटविरुवा पेलेर बनाएको ‘औषधी पानी’ र प्राङ्गारिक मल छरेको देख्नेहरू अझै पनि आश्चर्य मान्छन् । गीत गाउँदै पानी र मल छर्नुलाई उनले गिती मल नाम दिएका छन् । उनी किटनाशक औषधी पनि अग्र्यानिक नै बनाउने गर्छन् । निमपत्तिको झोलमा लसुन, सिस्नु, तितेपाती, अदुवा, बनमारा, बकैनाको झोल मिसाएर तयार पारेको किटनाशक औषधी फलफूल, तरकारी अन्नबालीमा छर्ने गरेका छन् । किराहरूले दुख दिने गरे पनि इकोसिस्टम अनुसार सबै प्राणी बाँच्नु पर्ने भएकाले उनी किरालाई सखापै हुने गरी मार्दैनन् ।
यसो गर्दा किटपतङ्गबाट आजित भएका बिरुवाले राहत पाउने र रोग प्रतिरोधक क्षमता बढ्ने उनको अनुसन्धानले देखाएको छ । उनले कृषि विज्ञहरूलाई समेत चकित बनाउँदै काँक्राका बोटमा फर्र्सी फलाएका छन्, फर्सीको बोटमा काँक्रा, लौकाको बोटमा घिरौँला र घिरौँलाको बोटमा लौका फलाएका छन् । जङ्गली विहीँ र भण्टा ग्राफ्टिीङ गरेर भण्टा फलाएका छन् । चिण्डोमा फर्सी जोडेर फर्सी फलाएर देखाएका छन् । आलुमा टमाटर जोडेर टमाटर फलाएका छन् । मकैलाई सोझै बारीमा छरेर फलाउने परम्परागत विधिलाई त्यागेर बेर्नामार्फत् ट्रान्स्प्लान्ट गरेर मकै उत्पादन गरेका छन् । र, ती तरकारी खेतीको व्यावसायिक बिक्री वितरण गर्दै नाफा कमाउँदै आएका छन् ।
उनले परम्परागत शैलीमा गरिने तरकारी फलफूल खेतीलाई आधुनिक रूपमा गर्न उनले थप दिमागी कसरत गरे । आफूले गरेका अधिकांश परीक्षणहरूले एक पछि अर्को गर्दै सकारात्मक परिणाम निकाले पछि प्रेरणाको स्रोत आफ्नै बारीलाई मान्न थालेको उनले बताए ।
बारीमा कायापलट
अहिले उनको बारीमा कायापलट भएको छ । २५ रोपनी जग्गा उनको लागि आफैले बनाएको कृषि विश्वविद्यालय सावित भएको । उनको कृषि विश्वविद्यालयमा उनीमात्र अध्ययन अनुसन्धान गर्र्दैनन्, हाल सम्म ४० जिल्लाका ६० हजार विद्यार्थी, कृषक र कृषि विज्ञले अवलोकन गरिसकेका छन् । उनको बारीमा गत वर्ष फ्रान्सका एग्रिकल्चर इन्जिनियरिङ समूहका दुई सदस्यले ‘नेपालमा अग्र्यानिक खेतीको उत्पादनमा राईको नयाँ भूमिका’ विषयमा अनुसन्धान गरेर विद्यावारिधीको शोधपत्र तयार पारे । बारीमा आएको कायापलटसँगै उनले अचेल एक डेढलाख रुपैयाँ चोखो कमाउन सक्ने भएका छन् ।
उनले विश्वविद्यालय मानेको बारीलाई करिब दुई सय प्रकारका फलफूल तरकारीको परीक्षण स्थल बनाएका छन् । फलफूल तरकारीको परीक्षण पछि व्यावसायिक उत्पादन गर्दै आएका उनले भने, ‘फलफूल तरकारीलाई अनिवार्य चाहिने अर्गानिक मलका लागि बंगुर, गाई, भैंसी, बाख्रा, कुखुरा, टर्की, जस्ता पशुपक्षी चौपायाको पनि व्यावसायिक पालन पनि गर्दै आएको छु ।’ उनले आफ्नो बारीलाई अर्गानिक उत्पादनको तरिका सिक्ने र सिकाउने विश्वविद्यालय जस्तै बनाएपछि नेपालबाट मात्र नभएर भारतदेखि फ्रान्स सम्मका कृषि विज्ञ, कृषि इन्जिनियर, अगुवा कृषकहरूको अर्गानिक कृषि अनुसन्धान, उत्पादन तरिका र व्यवसाय देखेर आश्चार्यचकित हँुदै फर्कने गरेका छन् ।
फलफूल तरकारी परीक्षणसँगै उत्पादन
खेतबारीमा काम गर्न छाडेर गाउँका आफ्नै दौतरीहरू वैदेशिक रोजगारीमा लागिरहेको बेला उनी आफ्नो बारीलाई कृषिबाली र पशुपक्षीका लागि परीक्षण स्थल बनाउनमा व्यस्त हुँदा हुँदै ‘कामले काम सिकाउँछ’ भने झैं कृषिमै चिन्तन गरेर त्यसलाई व्यवहारमा परिवर्तन गर्दै सफलता हात पारे । अचेल कुनै पनि कृषि विश्वविद्यालय नदेखी उनी आफै विश्वविद्यालय हुन पुगेका छन् ।
उनको बारीमा मकै, रुबीबल, नेपाबल, चाइनिज, क्यावेज, मिजुना, सेल्लरी, मिटुसुवा, मिल्क पर्पल लिफ, धनिया, फर्सी, टमाटर, बोडीको बिरुवालाई एउटै करेसाबारीमा रोपेपछि ती फलफूल अन्न बालीको वरिपरि चुकन्दर रोपेका छन् । फलफूल तरकारीहरूमा विदेशी आइटम भए पनि नेपाली माटोमा उत्पादन गरेर बिक्री गर्दै आएका चाइनिज क्याभेज, ल्याटेस, रुबीबल, कोमाटसुना, मिजुना, समर लिफ, मस्र्टाट, पर्पल लिफ, सेलरी, पार्सली, पाक्चोए, काइसम मुख्य छन् । उनी भन्छन्, ‘बारीमा जति पनि फलपूmल तरकारी अन्न बाली छन्, सबै अग्र्यानिक छन् । मैले फलाएका अन्नबाली र फलफूल तरकारीमा किरा कम लाग्ने भएकाले उत्पादन पनि अरूको भन्दा बढी नै भएका छन् ।’
उनले उन्नत जातका गाई र बङ्गुर पालनमा नयाँ तरिका अपनाएर कृषि विज्ञहरूलाई आश्चर्यमा पारेका छन् । महको उत्पादन बढाउन मौरीपालनलाई पनि शुरु गरेको छ । थोरै खेतबारीमा कम श्रम गरेर धेरै फलपूmल तरकारी, अन्न बाली उत्पादन कसरी गर्न सकिन्छ भनेर उनीअझै चिन्तनमा व्यस्त हुन्छन् ।
उनको अनुभवअनुसार, ‘किराले आफ्नो रुचि अनुसारको बिरुवामा आक्रमण गर्छ तर रातो डाँठ भएको चुकन्दरले घेरेपछि ती किरा अरू फलफूललाई आक्रमण गर्न सक्दैनन् । त्यस्तै बोडीमा आक्रमण गर्न आउने चराले सबैभन्दा बढी मटरमा आक्रमण गर्छ । धेरै किसिमका फलफूल तरकारी लगाएको तिरिमिरी खेतीमा किरा आफै कुन पहिले खाने भनेर दोधारमा पर्ने गरेकाले कमै आक्रमण गर्नाले उत्पादन बढेको छ ।’
पछिल्लो समयमा उनको चार नौलो परीक्षण सफल भएको छ । त्यो हो, ‘ट्याब्लेट मल’, ‘बास्केटमा तरकारी खेती, थोपे सिंचाइ र बढी रोग लाग्ने बिरुवामा किरा छेक्ने झुल ।’ फलफूल तरकारी र अन्य बोट विरुवाका लागि चाहिने अर्गानिक मललार्ई प्रशोधन गरेर सानो ट्याव्लेटको रूपमा विकास गरेका छन् । ट्याव्लेट मल ५० ग्राम देखि २५० ग्राम सम्मको बनाएका छन् ।
उनले भने, ‘बारीमा डोको र बोरामा मल बोक्ने जमाना छैन । अब मानिसलाई भिटामिन चाहिएमा वा बिरामी भएमा चिकित्सकले लेखिदिएको प्रेस्किप्सन अनुसार औषधीको ट्याव्लेट सेवन गरेझैं विरुवालाई पनि चाहिने ट्याब्लेट बनाउन सफल भएको अवस्था छ । परीक्षण सफल भए पनि व्यावसायिक बिक्री वितरण गर्नमात्र बाँकी छ ।’ बोट बिरुवाका लागि उनले तयार पारेको ट्याव्लेट मल गोजीमा बोकेर जहाँ पनि लैजान सकिन्छ ।
त्यस्तै, शहरी क्षेत्रमा तरकारी खेती गर्ने जमिन नहुनेहरूका लागि बजारमा पाइने बास्केटमा १५ थरीको साग सव्जी, धनिया रोपेर अर्गानिक तरकारी खान सकिने गरी उनले बास्केटमा तरकारी खेतीको परीक्षण सफल भएको छ । अर्को छ, पानीको अभाव हुँदा पनि घरमा प्रयोग गरिएको पानीलाई प्लाष्टिकको कुनै सानो भाँडोमा लगाएर बिरुवामा लगाउने थोपे सिंचाइ र बढी रोग लाग्ने फलफूल तरकारीमा झुल लगाएर किरा फट्याङ्ग्रा र चराबाट बचाउने तरिकाको परीक्षणमा पनि उनले सफलता हात पारेका छन् ।