जुनै तन्त्र आए पनि ‘राजसी’ शैलीको अन्त्य सायदै होला, आइतबार नेपालगञ्जको घटनाले पुष्टि गर्ने आधार तयार गरिदियो । जनताबाट निर्वाचित भएर मन्त्री बनेका योगेश भट्टराई जसबाट आशलाग्दो अपेक्षा गरिएको थियो । उनैबाट एक घण्टा प्लेन ढिलाइ हुनुले ‘राजसी’ शैली प्रष्टियो । यही शैलीको विरोधमा जनताले प्रजातन्त्र ल्याएका थिए । प्रजातन्त्र प्राप्तिको ६ दशकपछि गणतन्त्र ल्याएका थिए । गणतन्त्र अर्थात् जनताद्वारा गरिने शासनप्रणाली । तर, व्यवहारमा भने जुनसुकै तन्त्र आए पनि उच्च पदस्थ कर्मचारी तथा नेता, मन्त्रीको हक उस्तै रहेछ भन्ने पछिल्लो उदाहरण हो नेपालगञ्ज घटना । सर्वसाधारणलाई १–१ घण्टा कुराएर पर्यटनमन्त्री आफैले जुन हर्कत देखाए, त्यो उनको कार्यकालमाथिको प्रश्न त हुँदै हो । उनको राजनैतिक नैतिकतामाथिको पनि गम्भीर प्रश्न हो ।

यो शासनका लागि थुप्रै जनताले आहुती दिएका थिए । राजा फालेका थिए । पञ्चायती व्यवस्था निर्मूल पारेका थिए । राणाशासनलाई धुलो चटाएका थिए । सीमित व्यक्ति मालिक हुने प्रवृत्तिको अन्त्यका लागि नै जनता नतमस्तक भएर राजनीतिक दलको पक्षमा उत्रिएका थिए । तर, अहिले जो नेतृत्वमा पुगेका छन् । सरकारमा छन् । उनीहरूबाट हिजोकै गतिविधिहरू पुनरावृत हुन थालेका छन् । आफूलाई श्रीपेचबिनाको राजा ठान्ने मनोवृत्तिको विकास हुन थालेको छ । नेपालगञ्जमा पर्यटनमन्त्रीले समयलाई जसरी ख्याल गरेका छैनन्, त्यो लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा अस्वीकार्य प्रवृत्ति हुन् । हिजो त्यसैका लागि जनताले प्राणदान गरेर लोकतन्त्र, गणतन्त्र स्थापना गरेका थिए । आज त्यही प्रवृत्ति आवृत्ति भइरहने हो भने लोकतन्त्र, गणतन्त्रको जग बलियो होला ? सरकार समृद्धि र विकासको राग अलापिरहेको छ । यस्तो हर्कतले के समृद्धि र विकास होला ? विकास र समृद्धि हुनका लागि हरेक कुरा समय र योजनामुताबिक हुनुपर्छ । आज तेस्रा मुलुकहरूले समृद्धि र विकासको स्वाद त्यसै चाखेका छैनन् । उनीहरू हरेक काम समयमा गर्छन् । समयको महत्व उनीहरूले बुझेका छन् । सामान्य गल्ती गर्दा पनि राजीनामा दिने राजनीति संस्कार छ । त्यो संस्कारलाई नेपाली राजनीतिज्ञहरूले सिक्ने कि नसिक्ने ? अनुकरण गर्ने कि नर्गने ? यो प्रश्न समृद्धि र विकाससँग पनि जोडिन्छ ।

पर्यटनमन्त्रीलाई जसले (ज्ञानेन्द्र शाही) ले दुव्र्यवहार गरेको भनिएको छ । शैली फरक भयो होला । तर, शाहीको प्रश्न आम सर्वसाधारणको प्रश्न हो । अझ पर्यटनमन्त्रीको हकमा त झनै विचारणीय प्रश्न पनि हो । यही क्रममा शाहीमाथि ललितपुरमा जुन घटनाको रचना भएको छ । त्यो एकदमै निन्दनीय छ। बोल्न पाउने नागरिकको मौलिक हकमाथि कुण्ठित पार्ने जुन प्रयास भएको छ त्यसको जति भत्र्सना गरे पनि कमै हुन्छ।उडानलाई प्रभावित बनाउने मन्त्री भट्टराईले सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत् ढिला गराएकामा क्षमा याचनामा गरिसकेका छन् । यो कुरा आफैमा सकारात्मक भए पनि आगामी दिनमा यस्ता गम्भीर त्रुटि दोहोरिन नदिन सबै एयरलाइन्स कम्पनी र मन्त्रीहरू सजग हुनैपर्छ । यस्ता किसिमका समस्याको निराकरण नगर्ने हो भने मुलुकको सुशासन, विकास र समृद्धि कसरी सम्भव होला । यस्ता किसिमका समस्याको युक्तिसङ्गत समाधान भनेको सबैले समयको परिपालना गर्नु नै भएकाले सजगता अपनाउन वाञ्छनीय देखिन्छ ।