विराटनगर/ धनकुटा र तेह्रथुका विभिन्न ठाउँमा कृषकले लगाएका बन्दाकोपी जोगाउन मुस्किल पर्न थालेको छ । बन्दाकोपीमा बर्सेनि गाढे रोगले सताएपछि किसानहरू समस्यामा परेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको मुर्तीढुङ्गा, चित्रे, गुमाउने, छथर जोरपाटी गाउँपालिको सिधुवा, परेवादिन र तेह्रमथुमको लालीगुराँस नगरपालिमा लगाएको कोपीमा गाढे रोग प्रकोपको रूपमा देखा परेपछि कृषकहरू चिन्तित बनेका छन् । तरकारीको पकेट क्षेत्रमा रूपमा रहेको यस क्षेत्रका सिङ्गो गाउँ कोपी खेतीमा संलग्न छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–१ चित्रेका नारदबहादुर कटुवालले १६ रोपनीमा कोपी खेती गर्दै आएका छन् । ‘कोपी राम्रो सप्रिएर आएको छ,’ उनले कोपीमा लागेको रोग देखाउँदै भने, ‘हेर्नुहोस् न, शुरुमा यति राम्रो सप्रिएर आएको बोटमा अहिले गाढे रोग लाग्यो । यो रोग लागेपछि जरालाई आक्रमण गर्छ ।

विस्तारै बोट मर्दछ ।’ उनका अनुसार १ रोपनी खेतीमा करिब ३० केजी गाढे रोगले कोपी नष्ट हुने गरेको जानकारी दिए । ‘यो गाढे रोग पहाडी जिल्लामा देखा परेको तीन वर्ष भयो,’ उनले भने, ‘माटो परीक्षण पनि गरायौं । अहिलेसम्म खै किन हो ? यो रोग लाग्न छोडेको छैन ।’ यहाँको कृषिका प्राविधक टोलीले पनि रोगको पहिचान गरी समस्याको सावधान गराउन नसकेको उनको भनाइ छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका –४ स्थित २१ रोपनीमा कोपी खेती गर्दै आएकी लीला पराजुलीले कोपीमा गाढे रोप प्रकोपको रूपमा देखा परेको बताइन् । गत वर्ष थोरै कोपीमा मात्र लाग्दै आएको गाढे रोग अहिले प्रकोपमा रूपमा देखिन थालेको उनको भनाइ छ । ‘गाढे रोग लागेपछि कोपी सप्रिन सकेको छैन । गाढे रोग लागेपछि कोपीको जरालाई आक्रमण गर्छ । यो रोग लागेपछि कोपीको मूल जरानै हुँदैन ।

जसले गर्दा मल सोच्न सक्दैन,’ उनले भनिन्, ‘त्यसपछि कोपी बढ्न पाउँदैन । ३/४ केजीको हुनुपर्ने कोपी केही त १ केजी पनि हुँदैन ।’ गाढे रोग कोपीमा देखा परेको स्थानीय सरकारलाई सुनाउँदा पनि अहिलेसम्म नियन्त्रणमा कुनै पहल कदमी हुन नसेको उनले बताइन् । गत वर्ष पनि कोपीमा यो गाढे रोग देखिएको यहाँका कृषकहरू बताउँछन् ।

गाढे रोगले सताएपछि यस पटक उनीहरूले जापनबाट आयात भएको ‘याहुनेम’ जातका कोपीको बिउ ल्याएका थिए । ‘याहुनेम’ जातको कोपीको बिउ लगाउँदा पनि गाढे रोग देखा पर्यो,’ कृषक कटुवालले भने । उनीहरूले १० ग्रामको एक प्याकेटमा १ हजार रुपैयाँमा कोपीको बिउ खरिद गर्दछन् । २० ग्राम कोपीको बिउले १ रोपनी खेतीमा पुग्ने कृषकहरू बताउँछन् ।

बाली संरक्षण प्रयोगशाला प्रदेश १ विराटनगरका बाली संरक्षण अधिकृत मुकेश यादवका अनुसार माटोमा धेरै अम्लियपन भएपछि ढुसी भएर गाढे रोग लाग्दछ । ‘यो रोग लागेपछि निरन्तर एउटै बाली लगाउँनु हुँदैन,’ उनले भने, ‘बाली परिवर्तन गरी घुम्ती बाली अपनाउनुपर्दछ ।’ एक पटक कोपी खेती लगाइयो भने अर्का वर्ष त्यही बाली नलगाएर अन्य कुनै घुम्ती बाली लगाए रोग नलाग्ने गरेको उनले बताए । गाढे रोग लागेको बोटमा ‘फूलोसल्फामाइन्ट’ (lusulphmide) ०.३ प्रतिशत डब्लूपि प्रति बोटमा ३ ग्राम हाले रोग नियन्त्रण गर्न सकिने उनले कृषकहरूलाई सुझाव पनि दिएका छन् ।

kopi-ma-kira-lagako-dhakaud