देशमा अहिले दुईवटा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छन् । एउटा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको र अर्को नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको । दुवैको नाम एकै भएपनि एउटा दुई तिहाई मत पाएर सत्तामा छ भने अर्को त्यही सत्ताको विरुद्धमा भूमिगत शैलीमा गतिविधि गरिरहेको छ । सत्तामा रहेको नेकपाको चालिस प्रतिशत हिस्सामा विद्रोही नेकपाका पूर्व सहकर्मीहरूको समूह छ । एक दशकभन्दा बढी समयसँगै सशस्त्र युद्धमा लडेकाहरू अहिले आपसमा दुश्मन सरह छन् । एउटा कम्युनिष्ट सरकारका काम, कारबाही विरुद्ध अर्को तर उहि नामको कम्युनिष्ट पार्टी दशक लामो द्वन्द्वकालकै झल्को दिने गरी चन्दादेखि बम आतङ्कसम्म मच्चाईरहेको छ । देशमा यस्ता घटना बढिरहँदा व्यापारी व्यवसायीहरू आतङकित बनिरहेका छन् । विप्लव नेतृत्वको नेकपाले विशेषगरी चन्दा नदिनेहरूलाई तर्साउन बम पड्काउने गरेको छ ।

यो साता मात्र सुनसरीका धरान, इटहरी र झापाका विभिन्न ठाउँमा बम प्रहार गरेको छ । तत्कालिन माओवादीले चन्दा नदिने शैक्षिक केन्द्रहरूलाई तारो बनाएका थिए । त्यसबेलाको माओवादी द्वन्द्वमा संलग्न विप्लव नेता कार्यकर्ता उही शैलीमा साना बालबालिका पढ्ने स्कूलहरूमा बम विस्फोट गराएर चन्दाको बार्गेनिङ गरिरहेका छन् । देशमा परिवर्तन चाहेर आन्दोलनमा होमिएका राजनीतिक पार्टीले चन्दाका लागि होइन शैक्षिक अवश्था सुधारका लागि चेतावनी दिनु पर्ने हो । अझ समाजवाद चाहने कम्युनिष्ट पार्टीहरूले नेपालमा फैलिएको स्वास्थ्य र शिक्षा क्षेत्रको निजीकरण अन्त्य गरी सामुदायिक विद्यालयहरूको शिक्षा गुणस्तर सुधारमा पहल गर्नुपर्ने हो । सरकारी अस्पतालहरूको सेवा प्रभावकारी बनाउन भूमिका खेल्नुपर्ने हो तर सत्तामा रहेका कम्युनिष्टहरू नै निजी स्कुल र अस्पतालका मालिक छन् अनि सत्ता बाहिर रहेका कम्युनिष्टहरू पनि तिनैसँग चन्दा असुलेर पार्टी चलाउन चाहन्छन् ।

राजनीतिलाई कमाउने धन्दाका रूपमा लिने नेताहरू शक्तिमा रहेसम्म देशको हालत यो भन्दा फरक हुँदैन बरु अझ खस्किंदै जाने निश्चित छ । यस्तो अवस्थामा आफूलाई असली कम्युनिष्ट दाबी गर्ने विप्लव नेतृत्वको नेकपाले बम पड्काएर, जनता तर्साएर कस्तो राजनीति गर्न खोजेको हो ? बुझ्न कठिन छ । कम्युनिष्टहरूले अहिलेको संसारमा पनि बन्दुकको नालबाट सत्ता आउँछ भन्ने सोच्नु गलत हो । बन्दुकबाटै सत्ता ल्याउने उद्देश्यले शुरु भएको दशकभन्दा लामो माओवादी द्वन्द्व अन्तिममा वार्ताबाट विसर्जन भयो । अर्थात् बन्दुकबाट सत्ता कब्जा गर्ने रणनीति त्यही बेला फेल भइसकेको छ । त्यसैले पनि विप्लव नेतृत्वको नेकपाले के बुझ्नु जरुरी छ भने वर्तमान सरकारका काम, बारबाही कम्युनिष्ट सरकारका भन्न लायक छैनन् तर नेपालीहरू लामो समयको बम, बारुदको आवाजले आजित छन् । अब पनि बम पड्काएर जनताको मन जित्ने कल्पना नगरे हुन्छ । जनताको मत जित्न राम्रा काम गर्नुपर्छ । र, सरकारले पनि आफ्नै सगोत्री पार्टीलाई वार्तामा ल्याएर समस्या गर्न पहल गर्नुपर्छ । नेता, कार्यकर्तालाई धरपकड गरेर मात्र सम्भव छैन । लामो सशस्त्र द्वन्द्व भोगेका नेपालीले अब देश शान्तिको बाटोमा हिँडोस् भन्ने चाहेका छन् । सरकार र विद्रोही दुवैले जनताको यो चाहना बुझ्नु पर्छ ।