इटहरी/ इटहरीमा बसेर महिलाले मासिक ३ लाख कमाउँछिन् भन्दा सबैलाई विश्वास नलाग्न सक्छ । तर, इटहरीकी सामाजिक क्षेत्रमा समेत अग्रस्थानमा रहेकी अमृता सुब्बाले मासिक तीन लाख भन्दा बढी कमाउन सफल भएकी छिन् । व्यवसाय सँगै सामाजिक क्षेत्रमा नाम र दाम दुवै कमाएकी अमृता अहिले उदाहरणीय बन्दैे छिन् ।
जाँगर चलाउने हो भने पैसा कमाउनलाई विदेश जानु पर्दैन, घर खर्च चलाउन पनि श्रीमान्को आश गर्नुपदैन भन्ने उदाहरण हुन् अमृता । मेहेनत गर्न सके काम र दाम यहीँ छ । काम ठूलो सानो नभन्ने हो भने सफलता अवश्य मिल्छ, अमृता भन्छिन् । २०६९ साल देखि व्यवसायमा लागेकी अमृताको मेहेनतबाट नै व्यवसायले छलाङ मारेको छ ।
आफ्नै मेहेनत र ब्यवसायमा परिवारको जिम्मेवारी सम्हालेकी अमृता भन्छिन् आफ्नो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने हुँदा खुशी साथ बसिरहेको उनको तर्क छ । मैले मेहेनत गरेकै कारण अहिले यो ठाउँमा आएकी हुँ अमृता भन्छिन् ।
इटहरीमा हुर्किएकी अमृताले ३० वर्षको जागिरे जीवन पछि व्यवसायमा हात हालेकी हुन् । साना किसान विकास आयोजनामा कर्मचारी रूपमा शुरु गरेकी अमृता अहिले २ दर्जनलाई रोजगारी दिइरहेकी छिन् । २०४३ सालबाट कृषि विकास बैङ्कको सेवामा प्रवेश गरेकी उनले ६९ सालबाट अवकाश लिइन् । अहिले ब्यापार व्यवसायसँगै सामाजिक काममा जम्न थालिकी छिन् ।
२०३६ सालको जनमत सङ्ग्रहपछि राजनीतिक अवस्था केही सहज त थियो तर खुल्ला गतीविधि गर्न भने पाँइदैन थियो । हाम्रो सेफ्टी ट्याङकी सञ्चालनमा ल्याएर पूर्वका धेरै घरमा फोहोर उठाउने काम गरेको बताउँछिन् । महिनाको ३ लाखसम्म कमाएको उनी सुनाउँछिन् । तर, पछिल्लो समयमा प्रतिस्प्रर्धा धेरै भएको कारण त्यो व्यापार भने केही घटेको अमृता बताउँछिन् । अहिले हाम्रो रेडिमेट र हाम्रो इन पसल खोलेर ब्यापार गदै आएको छु अमृता भन्छिन् । अहिले पनि मासिक ३ लाख जति कमाइ हुन्छ, उनी भन्छिन् ।
एउटा गाडीबाट शुरु गरेको शौचालय सफा गर्ने व्यापार अहिले पनि जारी छ । दिनमै ७ ट्रिपसम्म लाग्थ्यो । एक टिूपको १५ सयका दरले पैसा लिँदा पैसा राम्रै कमाइ भयो ।’ अहिले उनले गाडीहरू थपेकी छन् र स्टाफहरू पनि । अहिले ३ वटा गाडीले सेफ्टी ट्याङ्की सफा गदै आएका छन् ।
व्यापारसँगै बैङ्कबाट पाउने विभिन्न शीर्षकको ऋणबाट जग्गामा पैसा हालिन् । जग्गाले अमृतालाई फाइदै फाइदा दियो । बिहान बैना गरेको जग्गाको बेलुका एक लाख रुपैयाँ सम्म नाफा आयो । छोरा छोरी पढाइन् । घर परिवार चलाइन् । घर बनाइन् गाढी किनिन् अहिले अन्य ब्यापारमा समेत सक्रिय हुँदै आएकी छिन् ।
राजनीति र सामाजिक क्षेत्रमा पनि सक्रिय
२०४३ सालमा सर्वध्वज साँवासँग विवाह गरेकी अमृताले राजनीतिमा श्रीमान्लाई भरपुर सहयोग गदै आएकी छिन् । पार्टीले अमृतालाई विवाहको बेला भन्यो–‘घर चलाउने तिमीले उहाँले राजनीति ।’ अमृताले स्वीकार गरिन् । अब घर नै आफैले चलाउनुपर्ने भएपछि श्रीमान्सँग उनको पैसाको अपेक्षा पनि रहेन । त्यही बेलादेखि श्रीमान्लाई आर्थिकसँगै घरखर्च समेतमा सम्हालेको अमृताको भनाइ छ ।
२०५४ सालमा इटहरीका मेयर बनेका सर्वध्वज साँवालाई सफल बनाउन अमृताको ठूलो हात रहेको छ । नेकपा एमालेमा स्वच्छ छविका सर्वध्वज आर्थिक मामलामा पारदर्शी नेता भएका कारण पनि श्रीमान्ले कहिले पैसा नखोज्ने गरेको अमृता बताउँछिन् । मेरो श्रीमान्ले कहिले पनि घर खर्च चलाउनु भएन उनी भन्छिन् ।
पैसाको अभाव नहुनु भनेको सामाजिक काम पनि हो । सामाजिक काम र व्यापारसँगै उनी राजनीतिमा पनि छन् । स्कूल पढ्दैदेखिको राजनीति मोह घटेको छैन । घर चलाउने जिम्मेवारीले गर्दा ओझेल मात्रै परेको हो । उनी भन्छिन् । अहिले पनि नेकपाको जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाएको छु । अझै पनि सामाजिक क्षेत्रमा लाग्ने मोह घटेको छैन ।
अहिले इटहरीको महिला बचत सहकारी संस्थाको अध्यक्ष समेत रहेकी अमृता भन्छिन्, साडे ६ हजार शेयर सदस्य रहेको संस्था हाँक्दै छु । सानै उमेर देखि सहकारीमा लगाब भएको कारण जागिरे जीवनमै २०५५ सालमा केही साथीहरू मिलेर उनकै सक्रियतामा खोलिएको सहकारीमा महिलाहरू मात्र सदस्य हुन पाउँछन् ।