पाँचथर/ पाँचथरको उत्तरपूर्वी क्षेत्रका विभिन्न खोलाहरूमा पाइने रैथाने जातको तितेमाछा लोप हुन थालेका छन् । खोलामा लुकिछिपि करेन्ट लगाउने चलन बढ्नु, अत्यधिक बाढीपहीरो जानु, बिकास निर्माणका काम गरिँदा मूल पुरिनु जस्ता कारणले तितेमाछा लोप हुन थालेका हुन् ।
जिल्लाको याङवरक गाउँपालिकास्थित इङ्वाखोला, मेवाखोला, खोङ्खोला, कावेली खेला फालेलुङ गाउँपालिकाको नुवाखोला लगायतका खोलाहरूमा तितेमाछा पाइन्छन् । हातको बुढी औंलाभन्दा ठूलो नहुने तितेमाछाको जीवनचक्र अनौठो किसिमको छ । फूल पार्ने सिजन भएपछि यी माछा रमितै लाग्ने गरी हुल बाँधेर खोलाको शिरतिर उक्लिने याङवरक–२, फलैंचास्थित तिम्तिम्बुका समीर बेघा बताउँछन् । यसरी खोलाको शिरतिर उक्लिएका तितेमाछा मूल (फूल पार्ने ठाउँ) मा पुगेर फुल पारेपछि उसरी नै फर्किने बेघाले बताए ।
फूल पारेर फर्किने क्रममा तितेमाछाको शिकार गरिन्छ । तितेमाछाले फुल पार्ने सिजन जेठदेखि शुरु भएर भदौ अन्तिमसम्म चल्ने स्थानीय बताउँछन् । फुल पारेर फर्किने क्रममा तितेमाछाको शिकार गरिन्छ । स्थानीय भाषामा तितेमाछाले फुल पार्ने समयलाई ‘माछा फल्ने सिजन’ समेत भन्ने गरिएको स्थानीय सुरेन्द्र लिम्बूले बताए । तर हाल आएर तिते माछा आउन छाडेको उनले बताए । २०७४ सालसम्म करिब पाँच सय केजी तितेमाछा मार्ने गरिएकोमा यो वर्ष हालसम्म तितेमाछा नै नआएको उनको भनाइ छ ।
तितेमाछा आउने क्रम घटेपछि २०३० सालदेखि लगाइँदै आएको तितेमाछा मार्ने टेन्डर यो साल नलगाइएको याङवरक–२, का वडा अध्यक्ष देउकुमार योङहाङले बताए । तत्कालीन गाउँ पञ्चायतले शुरु गरेको टेन्डर गाउँ विकास समिति हुँदै आदिवासी जनजाति महासङ्घ गाउँ समन्वय परिषदले टेन्डर लगाउँदै आएको थियो । गत वर्ष भने गाउँपालिकाले ७० हजार रुपैंयाँमा टेन्डर आह्वान गरेको थियो । तर माछा आउने क्रम घटेकाले कोही पनि टेन्डर हाल्न नआएको बताइएको छ ।
तितेमाछा मासिदै गएकाले विगत दुई वर्षदेखि मध्य सिजनमा पनि तितेमाछा आउन छाडेको विगतका वर्षहरूमा माछा मार्ने ठेक्का लिंदै आएका याङवरक–२, का सन्त बेघाले बताए । यी माछा फुल पार्न खोलाको शिरतिर आउने क्रममा वारि र पारि दुबै किनार ढाकेर आउने गर्दछन् । यसरी फूल पार्न आउने क्रममा यी माछाले अन्य जनावर र मानिसको समेत पर्वाह नगर्ने सन्तले बताए । फुल पारिसकेर फर्किने क्रममा मारिंदै आएको तितेमाछा अहिले पाउन छाडिएको उनको भनाइ छ ।
यी माछा जून मूलमा फुलबाट निस्कन्छन् अर्को वर्ष उही मूलमा फुल पार्न आउने जनविश्वास रहेको छ । खाँदा केही तितो हुने भएकाले यसलाई तितेमाछा भनिएको हो । तितेमाछाको सुकुटि नेपालका विभिन्न जिल्लासँगै विदेशसम्म समेत निर्यात हुने गरेको थियो । यी रैथाने माछा लोप हुने क्रम शुरु भएपछि स्थानीय सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् । तितेमाछा संरक्षणका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको याङवरक–२, का वडा अध्यक्ष योङहाङले बताए ।