उदयपुर/ उदयपुरमा पनि फौजी किराले बारीमा लगाएको अन्नबाली सखाप पारेको छ । लामो खडेरीपछि फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित बनेका छन् ।

जिल्लाको रौतामाई, लिम्चुङ्बुङ, ताप्ली गाउँपालिकाको तल्लो भेग बेँसीक्षेत्र र कटारी नगरपालिकाको पहाडी भेगका बेँसी क्षेत्रमा किराको प्रकोप बढेको हो । दूधकोशी (पञ्चकोशी) किनारा आसपासदेखि लेकको तल्लो भेग कछाडसम्मको क्षेत्रमा किराले अन्नबाली, बोट बिरुवा खाएको स्थानीयबासीले बताए ।

रौतामाईको तल्लो भेग गुराँसे, फोक्सिन्टार, कटहरे, हात्तीपाइले, भोर्लेनी, पाकाना, आदामारा, चण्ढौटे, बेलबोटे, बिमिरे, लिम्चुङ्बुङको लाकु, बलम्ता, ताम्लिछा, ताप्लीको थुम्की, रामपुर, रूपाटार र कटारीको लेखानी आसपासको क्षेत्रमा किराले मकै, जुनेलोको बिरुवा, अदुवा खाएर सखाप पारेको हो । खडेरीले बारीमा छरेको मकैको बीउसमेत नफर्केकाले हिउँदे बालीको रूपमा पनि मकै नै छरे पनि किराले खाएर बारी रित्याएको स्थानीयले बताए ।

किराले मकै, जुनेलोका बिरुवाको पलाउँदै गरेको टुप्पोबाट गुदी खाँदै फेदमा झार्ने गरेको स्थानीय कृषक लछीबहादुर राईले बताए । २०७४ सालमा हिउँदे बाली कोदो र दलहन बाली किराले खाएको थियो । फौजी किराले मकै बाली सखाप पारेपछि पसलको औषधि छर्किए पनि खासै प्रभाव नपरेको स्थानीय कृषक राईले बताए । औषधि छर्दा बाहिरको किरा मात्रै मर्ने भएकाले खाएको ठाउँमै टुप्पोबाट औषधि खन्याउँदासमेत किरा नमर्ने उनले बताए ।

हिउँदे बालीको रूपमा मकै र जुनेलोे छरे पनि किराले खाएपछि समस्या भएको स्थानीय कृषक कुमार कार्कीले बताए । गत वर्षहरूमा हिउँदे बाली जुनेलो, कोदो र दालहन छर्ने गरिन्थ्यो । तर यसपालि मकै उत्पादन नभएको र कोदोको ब्याड राख्न नपाएकाले हिउँदे बाली पनि मकै नै छरेको स्थानीय कृषक कार्कीले बताए ।

वर्षे र हिउँदे दुवै बाली उत्पादन नभएपछि गाउँबासी समस्यामा परेको उनले बताए । खानेपानीदेखि खाद्यान्नसमेतको सङ्कट झेल्दै आएका बेला किराको प्रकोपले थप पीडित बनाएको स्थानीय कृषक जसबहादुर आलेमगरले बताए । लामो खडेरी र यस्तो खालको किराको प्रकोप अहिलेसम्म नदेखेको र नभोगेको स्थानीय बूढापाकाहरू बताउँछन् ।

खडेरी र किराको प्रकोपले स्थानीय जनता पिरोलिँदासमेत स्थानीय सरकारले कुनै प्रकारको राहत तथा किरा नियन्त्रणको पहल नगरेको स्थानीयबासीको आरोप छ ।