धनकुटा/ क्याक्टस प्रजातिको वनस्पति ‘ड्र्यागनफल’ को व्यावसायिक खेतीको सम्भावना खोज्दै पकेट क्षेत्रको रूपमा विकास गर्न धनकुटा नगरपालिकाले स्रोत केन्द्र निर्माण गरेको करिब एक वर्षपछि पहिलो पटक धनकुटामा ड्र्यागनफल फलेको छ ।
सुख्खा क्षेत्रमा समेत यसको व्यावसायिक खेतीको सम्भावना रहेको कारण नगरपालिकाले ‘मेयर कृषि पर्यटन कार्यक्रम’ अन्तर्गत वडा नं.८ लाई ड्र्यागनफलको स्रोत केन्द्र तथा पकेट क्षेत्र बनाएको थियो । यो कार्यक्रम लागू भएको करिब एक वर्षपछि धनकुटा नगरपालिका वडा नं.७ का वडाध्यक्ष जङ्गवहादुर आठपहरियाले पहिलो पटक आफ्नो घरमा क्याक्टस प्रजातिको वनस्पति ड्र्यागनफल गमलामा फलाएका हुन् । वडाध्यक्ष आठपहरियाले आफ्नै करेसाबारी र आँगनमा लगाएको गमलामा पहिलो पटक ड्र्यागनफल फलाएका हुन् । उनले आफ्नो करेसाबारीमा १५ बोट ड्र्यागनफल लगाएका छन् ।
अधिकांश बोटमा कोपिला लागिसकेको र फल्ने क्रममा रहेको वडाध्यक्ष आठपहरियाले बताएका छन् । धनकुटा नगरपालिकाले आ.व.०७५/०७६ देखी ड्र्यागन फलको व्यावसायिक खेतीको सम्भावना र विस्तारबारे ‘मेयर कृषि पर्यटन कार्यक्रम’ बनाएर अघि वढेको भए पनि राईले भने २ वर्ष पहिले नै लगाएका थिए । अल्पसङ्ख्यक आठपहरिया समुदायको बाहुल्यता रहेको विशेष गरेर ८ नं. वडा अन्य वडाको तुलनामा बढी सुख्खा ग्रस्त क्षेत्र हो । यहाँ खानेपानीको समस्या रहेको छ । सुख्खाग्रस्त क्षेत्र भएपनि यहाँका किसान बर्खाको समयमा मकै, टमाटर, जुनेलो, गहत, भुँईंकटरहर, कोदो जस्ता निर्वाहमूखी बालीको मात्रै खेती गर्छन् ।
सो क्षेत्रमा हुने खेतीको सम्भावना पहिल्याउँदै जाँदा ड्र्यागनफलको सम्भावना देखिएको कारण स्रोत केन्द्र तथा पकेट क्षेत्रको रूपमा विकास गर्न कार्यक्रम शुरु गरिएको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताएका छन् । ‘ड्र्यागन फल खेतीको लागि यहाँको भूगोल उपयुक्त देखियो’ उनले भने ‘ ड्र्यागनफलको खेतीले यहाँका स्थानीयको जीवनस्तर उकास्ने विश्वास छ’। कम पानी पर्दा पनि सुख्खा समयमा पनि फल्ने भएकाले वडा नं.८ को साङ्गताङ, स्वारिफा, चाम्जेबुङ लगायतको क्षेत्रमा यो खेतीको शुरुवात गरिएको प्रमुख तामाङले वताएका छन् ।
ड्र्यागनफल खेती सम्भाव्यताबारे किताबसमेत लेखिसकेका कृषि अभियान्ता जीवनकुमार राईको अनुसार यो फल मेक्सिकोको रैथाने फल हो । क्याक्टस प्रजातिको यो फल रुखोपाखो र बारीहरूमा समेत राम्रोसँगले खेती गर्न सकिन्छ । यसमा १४ प्रकारका मिनरल्स तथा भिटामिनहरू पाइन्छन् । यो क्यान्सर प्रतिरोधात्मक धेरै गुण भएको र यसको नियमित सेवनले मानिसहरूमा क्यान्सर लाग्न दिँदैन । पछिल्लो समय यस फलको महत्व ज्यादै बढेर गएको छ । यसको खेती बारीमा तथा गमला दुवैमा उत्तिकै गर्न सकिने उनले बताए ।
‘यसको बिरुवा रोपेको ३ वर्ष देखि फल दिन थाल्छ’ उनले भने ‘एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ । यसको फल बजारमा प्रतिकिलो ६ सय रुपैयाँ पर्छ ’नगरपालिका क्षेत्रका हुलाकटोल, टेकुनाला, चुलिवन, सान्ताङ, याक्ते लगायत क्षेत्रमा ६ वटा समूह निर्माण गरिएको छ । ड्र्यागनफलको बिरुवा रोपाउने लक्ष्य राखेर गठन भएका ती समूहमा १ सय ४२ घरपरिवार आबद्ध छन् । समूहका सबै सदस्यहरूलाई ड्रयागनफलको सैद्धान्तिक तथा व्यावहारिक तालिमहरू घरआँगनमै उपलब्ध गराइएको थियो ।
मेयर कृषि पर्यटन कार्यक्रमका अभियान्त समेत रहेका राईले भने ‘तालिमपश्चात् ती सदस्यहरूलाई ७० प्रतिशत अनुदानमा १ हजार ५ सय ५५ ओटा बिरुवा वितरण गरिएको छ ।’ ड्रयागनफलको बजार नेपालको आन्तरिक बजार धेरै ठूलो रहेको उनले दाबी गरे । उनका अनुसार भर्खरै मात्र नेपाल प्रवेश गरेको यो फललाई धेरै नेपालीहरूले चाख्न पाएका छैनन् ।
उनका अनुसार ड्रयागन फलको ताजा फल सिँधै खानु बाहेक यसलाई प्रशोधन गरी मुख्य शृङ्खंलाका विविध तरिका अपनाउन सकिन्छ । यो फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली÷जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन र चिया लगायतका रूपमा पनि उत्पादन गर्न सकिन्छ । यो फल नेपालमा झण्डै १५ वर्ष अघि भित्रिएको उनले बताए ।
नेपालमा सर्वप्रथम डा.जगन्नाथ राईले ललितपुरको भैंसेपाटी स्थित आफ्नै निवासमा भित्र्याएका थिए । डा. राईका अमेरिकी इञ्जिनियर साथीले भियतनामबाट कोशेलीको रूपमा सानो टुक्रा ल्याएका थिए । त्यही बिरुवा डा. राईले आफ्नै करेसा बारीमा ३० बोट बनाएर फलाइरहेका छन् । आजका दिन त्यही टुक्राले सिर्जना गरेको ड्रयागनफलबाटै वार्षिक ७ लाख सम्म आम्दानी लिन सकेका छन् । उनको सिर्जनाले आज नेपालको २० जिल्लामा सानो ठूलो परिमाणमा ड्रयागनफलको खेती विस्तार भएको उनले बताए ।