विराटनगर/ लेटाङ नगरपालिका–३ की अम्बिका विकले जङ्गलको निगुरोबाटै छ जनाको परिवार पाल्दै आएकी छिन् । पूर्वी जङ्गलमा दिनभरि खोजेको निगुरो उनका लागि जिउने सहारा बनेको छ ।
‘हामीजस्तो गरिब दुःखीको लागि जङ्गलको निगुरो जीवन जिउने दरिलो माध्यम बनेको छ,’ निगुरो टिपेर बिक्री गर्ने तयारी गरिरहेकी उनले भनिन्, ‘दिनभरी जङ्गलमा खोजेको निगुरो बेचेर ६ जनाको परिवार पाल्दै आएको छु ।’ निगुराको सिजन सकिएपछि अरू बेला ज्याला मजदुरी गर्ने गरेको उनले बताइन् । ‘निगुरोले घर खर्च चलाउन, छोराछोरी पढाउन र विभिन्न ठाउँमा लागनी गर्न सजिलो भएको छ । ज्याला मजदुरीको पैसाले मात्रै जीवन धान्न कठिन भइरहेको थियो ।,’ उनले भनिन्, ‘हामीजस्तो गरिब दुःखीको लागि निगुरो जिउने सहारा हो ।’
यसरी लेटाङमा जङ्गल गएर दिनभरि निगुरो खाजेर बिक्री गर्ने अम्बिका एक प्रतिनिधिमूलक पात्र हुन् । उनीजस्तै पूर्वी जङ्गलमा गएर निगुरो खोज्ने लेटाङ्ग, कानेपोखरी, पथरी, बेलबारीलगायतको क्षेत्रमा थुप्रै छन् । दिनभरि निगुरो खोजेर बिक्री गरेको पैसाले परिवारको गुजरा चलाउँदै आएका छन् ।
लेटाङकै सावित्रा विकले पनि जङ्गलमा खोजेको निगुरो तरकारीका रुपमा बिक्री हुन थालेपछि परिवार चलाउन सजिलो भएको बताइन् । जेठदेखि असोजसम्म दैनिक परिवारका सबै जना निगुरो टिप्न आउने गरेको उनले बताइन् । उनले ज्याला मजदुरी गरेर परिवार चलाउन गाह्रो परिरहेका बेला जङ्गलको निगुरो गुजरा चलाउने भरपर्दो आधार बनेको ब्लाष्टलाई बताइन् । मोरङको पूर्वी क्षेत्रमा बसोबास गर्ने स्थानीयको रोजगारको दरिलो माध्यम बनाएका छन् निगुरो ।
पूर्वी जङ्गलमा पाइने निगुरो टिपेर बिक्री गर्दै आम्दानीको राम्रो माध्यम बनेको हो । लेटाङ –४ का जङ्गबहादुर तामाङ जेठ लागेपछि कानेपोखरीको जङ्गलमा प्रसस्त मात्रमा पाइने निगुरो टिप्न व्यस्त हुने गरेको बताए । पत्नी गीतासहित निगुरो टिप्न आउने उनी यही कामलाई असोजसम्म निरन्तरता दिन्छन् । उनको यो क्रम चलेको ११ वर्ष भइसक्यो ।
जङ्गलको निगुरो टिपेर बिक्री गर्दै राम्रो आम्दानी गरिरहेका तामाङ दम्पती जेठदेखि असोजसम्मको पाँच महिनामा वर्ष दिनलाई पुग्ने खर्च निगुरोबाटै जुटाउँछन् । ‘ज्याला मजदुरी गरेर कमाएको पैसाले खान, लाउन पुगेन,’ उनले भने, ‘निगुरोबाट कमाइ हुन थालेपछि गुजरा चलाउन धेरै सजिलो भएको छ ।’
छ जनाको परिवार चलाउन एवम् छोराछोरीलाई पढाउन निगुरोको व्यापारले सजिलो बनाएको उनको अनुभव छ । तामाङ दम्पतीले दैनिक दुई हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । जङ्गबहादुरले भने, ‘जङ्गलकै निगुरो खोजेर बेच्दा राम्रोसँग परिवार चलाउन सकिएको छ ।’
स्थानीय सोममाया तामाङका अनुसार प्रत्येक वर्ष जेठदेखि असोजसम्म निगुरोको सिजन हो । निगुरो बेचेर नै मोरङको लेटाङ र कानेपोखरीका तीन सय बढी विपन्न परिवारको गुजारा चल्ने गरेको उनको भनाइ छ । उनी पनि विगत ११ वर्षदेखि निगुरो टिपेरै आफ्नो परिवार धान्दै छिन् । उनी भन्छिन्, ‘सिजन बाहेक अन्य समय स्थानीय बासिन्दा निगुरोको विकल्प खोज्दै ज्याला मजदुरी गर्छन् ।’
स्थानीयका अनुुसार १० वर्षदेखि ७० वर्ष सम्मका बालबालिका र वृद्ध वृद्धाहरू निगुरो खोज्न दैनिक कानेपोखरी जङ्गलमा पुग्ने गरेका छन् । स्थानीयले निगुरो टिपेर ल्याउँदै मुठा बनाएर ठेकेदारलाई साढे १२ रुपैयाँ प्रति मुठाका दरले बिक्री गर्छन् । एक जनाले दिनमा एक हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् ।
आर्थिक अवस्था कमजोर रहेको परिवार जङ्गलको निगुरोको सहरामा जीवन धानिरहेका छन् । ठेकेदारमध्येका उदय अधिकारीका अनुसार कानेपोखरी जङ्गलमा कानेपोखरी गाउँपालिका र लेटाङ नगरपालिकामा पर्ने सरकारी एवम् सामुदायिक वनभित्र पाइने निगुरो टिप्नका लागि दैनिक ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा भेला हुने गरेको बताए । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरूको गुजारा चलाउने गतिलो माध्यम निगुरो बनेको अधिकारीको भनाइ छ ।
जङ्गलबाट टिपिने निगुरो कानेपोखरीमा सङ्कलन गर्दै पूर्वका विभिन्न सहर र काठमाडौंसम्म पु¥याउने गरिएको छ । कानेपोखरीको जङ्गलमा सङ्कलन हुने निगुरो इटहरी, दमक, बिर्तामोड, काँकडभिट्टा, विराटनगरदेखि काठमाडौं सम्मका सहरमा पुग्ने गरेको छ ।
ठेकेदारले पिकअप गाडीमा राखेर निगुरो विभिन्न ठाउँमा पुर्याउने गरेका छन् । दैनिक सात गाडीसम्म काठमाडौं नै पुग्ने गरेको ठेकेदार अधिकारीले बताए । एउटा गाडीमा एक सय ५० क्यारेटसम्म निगुरो ढुवानी हुन्छ । एउटा क्यारेटमा ३० मुठा अट्छ । अधिकारीले भने, ‘निगुरो टिप्ने क्रममा चोटपटक लागेमा, बिरामी भएमा, सर्प वा कुनै किराले टोकेर उपचार गर्नु परेमा त्यसको आधा खर्च हामीले बेहोर्छौँ ।’ उनले जङ्गलको निगुरोबाट स्थानीयले राम्रो रोजगारी पाएको जानकारी दिए ।
काठमाडौं पुर्याउँदा प्रति मुठा २५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । एक गाडी निगुरो काठमाडौं पुर्याउँदा ७० हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको जानकारी अधिकारीले दिए । उनले ठूला होटल तथा विभिन्न ठाउँहङरूमा यसको माग धेरै रहेको जानकारी दिए ।