‘जहाँ इच्छा, त्यहाँ उपाय’ यो आहान नेपाली समाजमा लोकप्रिय छ । भन्नुको तात्पर्य इच्छा गरेमा उपाय अनेक हुन्छन् भन्ने हो । गरे, असम्भव रहेनछ भन्ने प्रमाणित सुनसरीको वराहक्षेत्र नगरपालिका–२ को प्राथमिक स्वास्थ्य केन्द्रले गरेको छ । जहाँ निःशुल्क ओपिडी सेवा दिइएको छ । नागरिकले पाउने आधारभूत आवश्यकतामध्येको स्वास्थ्य सेवा पनि एक हो । त्यो आवश्यकतालाई त्यहाँको केन्द्रले पूर्ति गरेको छ । चाहँदा नहुने केही रहेनछ भन्ने प्रमाणित स्वास्थ्य केन्द्रका डा. अनिल गिरीले गरेका छन् । देहातवासीलाई त्यो सुविधा प्रदान गर्न उनको इच्छाशक्ति नै काफी रह्यो । जसले आज हेल्थपोष्टबाट स्तरोन्नति गर्दै प्राथमिक स्वास्थ्य केन्द्र बनाए । त्यतिमात्रै हैन, १० बजेदेखि ५ बजेसम्म दिइने सुविधालाई २४ सै घण्टा बनाए । जहाँ आकस्मिक कक्ष, वार्ड, एक्सरे, ल्याबसम्मको सेवा दिइँदै आएको छ । उनको एक्लो प्रयासमा भएको सत्कार्यको प्रशंसा जति गरे पनि कम हुन्छ ।

एकजना डाक्टरले चाहँदा यो कायापलट हुने रहेछ भने देशभरका डाक्टर, नर्स, नेता, मन्त्री, सचिवले चाहेमा के नहुने रहेछ र !तर, त्यसका लागि सबैभन्दा ठूलो हो आफूभित्र भएको इच्छाशक्ति । इच्छाशक्ति भएमा सबै काम फत्ते गर्न सम्भव छ भन्ने कुराको प्रमाणित दस्तावेज हो यो । यदि हाम्रा स्थानीय तहमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रहरूका चिकित्सकहरूले पनि डा. गिरीको इच्छाशक्तिलाई शीरोधार्य गर्ने हो भने देश विकास हुन समय लाग्दैन । ‘समृद्धि र विकास’ को नारा अलापिरहेको सरकारलाई प्रश्न ? आखिर के हो समृद्धि ? यही होइन, समृद्धिको सूचक । जनतालाई आधारभूत सेवा सुविधा दिनु विकासको मापक होइन र !’ हाम्रा नेताहरूमा पनि डा. गिरीको झैं इच्छाशक्ति हुने हो भने अहिले देश कहाँबाट कहाँ पुगिसक्थ्यो होला । तर, हाम्रा नेता देशविदेश सयर गर्न र मोजमस्तीमै दैनिकी गुजारिरहेका छन् ।

आफ्ना छोराछोरी, नातागोतालाई विदेशमा शिक्षादीक्षालगायतको सेवासुविधा प्रदान गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् । भ्रष्टाचार दिनानुदिन बढ्दो छ । जवाफदेहिता स्खलित भएको छ । सुशासन सुगा रटाइमा सीमित छ । यदि हरेक मान्छे आफ्नो कामप्रति जवाफदेही बन्ने हो भने देश बन्न धेरै समय लाग्ला र ? लि क्वानले सिङ्गापुर बनाउन जम्मा २५ वर्ष लगाए । के हाम्रो देश त्यो स्तरमा पुग्न सक्दैन ? यदि डा.गिरीको झैं इच्छाशक्ति भइदिए । अवश्य पुग्छ, तर राजनेताहरूले आफूमा भएको लोभ, मोहको डालो नभत्काएसम्म देश समृद्ध बन्दैन । समृद्धिको नारा अलापेर मात्रै हुँदैन, त्यसका लागि दृढ इच्छाशक्ति हुनुपर्छ । त्यो काम तबमात्रै सम्भव छ, जब नेताहरू जनताप्रति जवाफदेही बन्छन् । स्वास्थ्य केन्द्र प्रतिनिधि उदाहरण मात्रै हो । यस्तै उदाहरण अन्यत्र पनि गर्दै जाने हो भने ‘समृद्ध देश’ बन्न समय नलाग्ला । हाम्रा नेताहरूले भन्दै आएको ‘सिङ्गापुर र स्विटजरल्याण्ड’ तब बन्छ, जब इच्छाशक्तिले काम गर्न थाल्छ । नमूना देश बनाउनका लागि जनताप्रति जवाफदेही र भ्रष्टाचारहित समाज नै पहिलो अस्त्र हो ।