इनरुवा/ कोशीटप्पु वन्यजन्तु आरक्षको चरनक्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेको छ । आरक्षको घाँसे मैदानमा मरेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्सको जीवाणु फेला परेको हो ।
पशुपंछी रोग अन्वेषण प्रयोगशाला विराटनगरका डा.सञ्जयकुमार यादवले आरक्षक्षेत्रमा मरेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज एन्थ्रेक्सको जीवाणुु फेला परेको पुष्टि गरेका हुन् ।
वराहक्षेत्र नगरपालिका वडानम्बर ९ को आरक्षको संरक्षित क्षेत्रमा बिहीबार एकसाथ ४४ वटा चौपाया मरेका थिए । मरेका चौपायाको लक्षणका आधारमा सो क्षेत्रमा खटिएको पशु चिकित्सकको टोलीले एन्थ्रेक्सको आशङ्कामा पशुहरूको पोष्टमार्टम नगरी खाल्डो खनी पुरेको थियो ।
आफूले ल्यावबाट परीक्षणका क्रममा एन्थ्रेक्स पुष्टि गरिसकेको बताउने डाक्टर यादवले सोही अनुरूपको रिपोर्ट केन्द्रीय ल्याव काठमाडौंमा जानकारीका लागि पठाइएको जानकारी दिए । शतप्रतिशत एन्थ्रेक्स जीवाणु रहेको दाबी गरेका डा.यादवले केन्द्रबाट प्राप्त निर्देशनअनुरूप आवश्यक कदम चालिने बताए । उनले पछिल्लो अवस्थाका विषयमा केन्द्रीय र क्षेत्रीय निर्देशनालयसहित प्रदेश सरकारलाई जानकारी गराइएकोसमेत बताए ।
एन्थ्रेक्स जेनेटिक डिजिज भएकाले पशुबाट पशु र मानिसमा समेत सर्न सक्छ । रोग लागेको मानिसको बेलैमा उपचार नभए रोगले ज्यानै लिन सक्ने भएकाले उच्च सावधानी अपनाउनु पर्ने यादवले बताए ।
आरक्षमा चरिचरनका क्रममा मरेका पशुमा एन्थ्रेक्सको जीवाणु भेटिएकाले सावधानीसहित रोकथामको प्रयास थाल्ने तयारीमा जुटेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका पशुु चिकित्सक डा.मनोजकुमार महतोले जानकारी दिए । माटो, हावा र पानीबाट सहजै सर्ने रोग भएकाले आरक्षभित्र रहेका सबै पशुमा तत्कालै भ्याक्सिन लगाउनु जरुरी रहेको उनले बताए ।
आरक्षभित्रको जङ्गल क्षेत्रमा एन्थ्रेक्सको जीवाणु भेटिएसँगै कोशीटप्पु वन्यजन्तु आरक्षभित्रका अर्नासहितका संरक्षित जनावरको अस्तित्वसमेत खतरामा पर्न सक्ने सम्भावना देखापरेको छ ।
एन्थ्रेक्सको जीवाणु माटोमा १० देखि २० वर्षसम्म बाँच्न सक्ने भएकाले समेत जङ्गली जनावरहरूमा रोगको उच्च जोखिम रहेको पशु चिकित्सकहरू बताउँछन् ।
पशु चिकित्सकका अनुसार घाँस खाने क्रममा झारपातको तल्लो भागसम्म खाने पशु तथा जनावरमा जीवाणुको सङ्क्रमण फैलिने सम्भावना प्रबल रहन्छ । माटोमा भएको जीवाणु हावा, पानीको संसर्गमा आएपछि क्याप्सुलमा परिणत हुने र शरीरमा प्रवेश गरी फैलिने गर्छ ।
सङ्क्रमणपश्चात् जनावरमा उच्च ज्वरो आउने र हर्टअट्याक (हृदयाघात) भई एक्कासि मृत्यु हुने डा. महतोले बताए । पूर्वलक्षण विरलै देखापर्ने भएकाले चौपाया मरेपछि मात्र नाक, मुुख, कान र मलद्वारबाट रगत निस्किने गर्छ । एन्थ्रेक्सबाट आरक्षका जनावरसँगै आसपासको बस्तीका मानव तथा चौपाया चराउन आरक्ष पुग्ने गोठालाहरूसमेत प्रभावित हुने देखिएको छ ।
पशु सेवा विज्ञ केन्द्र इनरुवाका अनुसार जीवाणुयुक्त जमिनमा भएको घाँसको तल्लो भागसम्मै खाने जनावरमा बढी मात्रामा तत्कालै भाइरस फैलन्छ । मानवमा भने मरेका जनावरको सिनो छुँदा, श्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र सङ्क्रमित क्षेत्रको सागपात तथा फलफूल राम्ररी नपखाली खाँदा एन्थ्रेक्सको जीवाणु सहजै मानव शरीरमा पुग्ने गर्छ ।
रोगको बारेमा बेलैमा जानकारी नहुँदा र उपचार छिटो नभएमा ज्यानसमेत जान सक्ने बताउँदै क्षेत्रीय ल्याव विराटनगरका डाक्टर यादवले रोग लागेमा त्यसको बेलैमा पहिचान गरी कम्तिमा पनि ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने बताए ।
एन्थ्रेक्स भाइरस बायो टेरेरिजम अट्याकका क्रममा प्रयोगमा ल्याउने गरेको पाइएकाले समेत निकै खतरनाक रहेको चिकित्सकहरूको भनाइ छ । माटोमा रहेको जीवाणु पहिचान गरी नष्ट गर्न कठिन हुने बताउने डाक्टर यादव आरक्षभित्र खुला चरिचरनमा ठूलो सङ्ख्यामा चौपाया रहेको भन्ने बुझिन आएकाले सबै चौपायामा भ्याक्सिन लगाउने कार्यसमेत चुनौती र जोखिमपूर्ण रहेको बताउँछन् ।
भ्याक्सिन लगाउने क्रममा जीवाणु भेटिए हावाको माध्यमबाट मानिसमा तत्कालै सर्न सक्ने सम्भावना रहने भएकाले विशेष सावधानीसहित दक्ष टोली परिचालनमा ल्याउनु पर्ने बताए । जसका लागि समन्वय र सहकार्य थालिएको बताउने डा.यादवले स्थानीय तह र सरोकारवालाहरूको भूमिकासमेत महत्वपूर्ण रहेको बताए ।
पशु सेवा विज्ञ केन्द्र इनरुवाका अनुसार आरक्ष क्षेत्रमा पशुहरूलाई भ्याक्सिन लगाउने तयारी थालिएको छ । थप चिकित्सक र प्राविधिकसहितको टोेली माथिल्लो निकायको आदेशपश्चात् परिचालित हुने कार्यालयले जानकारी दिएको छ । सेवा केन्द्रले आरक्षमा खुला चरिचरन नगराउन भनेको छ । जीवाणु नष्ट गर्र्न उचित मात्रामा औषधि छर्कनेदेखि सो क्षेत्रकोे चरन जलाउनु पर्नेसम्मको अवस्था आउन सक्ने भएकाले विशेषज्ञसहितको सुझावपश्चात् रोग नियन्त्रणको कार्यमा जुट्ने जनाएको छ ।
उता कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले आवश्यकता अनुरूपको जनशक्तिसहित नियन्त्रणको उपाय अवलम्बन गर्नका लागि टोली परिचालन गराइने बताएका छन् । आधिकारिकरूपमा आफूलाई एन्थ्रेक्सबारे जानकारी प्राप्त भइनसकेको बताएका चौधरीले एन्थ्रेक्स ठहरिएको भए आधिकारिकताको आधारमा सरोकारावालाहरूसँग समन्वय गरी अघि बढ्ने बताए ।
यता आरक्ष क्षेत्रमा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु भेटिएको भन्ने विषयलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले स्वीकारेका छन् । एन्थ्रेक्सको जीवाणु फेला परेपछि प्रदेश सरकारसहित पशु निर्देशनालय र मातहतका पशु कार्यालयमा जानकारी गराइसकेको उनले बताए । प्रजिअ राउतले वराहक्षेत्र नगरपालिका प्रमुखसहित आरक्षको कार्यालय र सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग समन्वय गरी सचेतनाका साथै नियन्त्रणका उपाय अवलम्बन गर्न आग्रह गरिएको जानकारी दिए ।
































