विजयपुर । वरपीपल माध्यमिक विद्यालय बेलका–९ कमलाबारी, उदयपुरले सीमान्तकृत समुदायका टाढाबाट विद्यालय आउने विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

विद्यालयको १८औं अभिभावक भेलाका अवसरमा मंगलबार उदयपुर–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पारसमणि गेलालले १६ जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरे ।

विद्यार्थीहरू नम्रता माझी, जर्मन माझी, जलसा माझी, शान्ताकुमारी माझी, भविना माझी, नविना माझी, विभा माझी, ममता राई, पनिता मगर, रोदिना मगर, विपना मगर, प्रकाश श्रेष्ठ, अनिस मगर, पेमाल्हामु शेर्पा, मनिसा खड्का, अनिका श्रेष्ठ छन् ।

पूर्वप्रअ र अभिभावकलाई सम्मान

अभिभावक भेलाका अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापकहरू सुरेन्द्र थापा र गणेशबहादुर थापालाई सम्मान गरिएको छ ।

यस्तै सहयोगी दाताहरू तीर्थराज गहतराज र टङ्क शर्मालाई समेत सम्मान गरिएको छ । उक्त अवसरमा अभिभावकहरू अन्जना श्रेष्ठ, रुपा बस्नेत, स्वस्तिका बुढाथोकी, बन्दना श्रेष्ठ, अनिता बस्नेत, कुमार बुढाथोकी सम्मानित भएका छन् ।

सांसद गेलालले औपचारिक कार्यक्रममा बोल्दै उदयपुर–१ को समग्र क्षेत्रलाई विकास गर्ने बताए । प्रधानमन्त्री बालेन्द्र साहले कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा तत्काल पूरा गर्नुपर्ने समस्या टिपोट गरेको सांसद गेलालले बताए । उनले उदयपुर–१ का सबै पालिकाका समस्याबारे अवगत गराएकाले तत्काल पूरा गर्नैपर्ने समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख अशोक कार्कीले विद्यालय नमुनाका रूपमा अघि बढेको बताए । उनले वरपीपल माविमा सञ्चालित पढ्दै– कमाउँदै कार्यक्रम, मौरीपालन, कृषिलगायतका कार्यक्रमको प्रशंसा गरे । उनले विद्यालयमा दरबन्दी आवश्यक रहेकाले कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य पारसमणि गेलालको ध्यानाकर्षण गराए ।

बेलका–९ का वडाध्यक्ष साथै वरपीपल मावि व्यवस्थापन समितिका अध्यक्ष भरत घिमिरेले विद्यालय, नगर र वडाका समस्याबारे लिखित ध्यानाकर्षण पत्र सांसद गेलाललाई हस्तान्तरण गरे ।

भेलाका अवसरमा प्रधानाध्यापक चन्द्रनारायण तामाङले विद्यालयको प्रगति विवरण, आम्दानी–खर्च र विद्यालयको अवस्था र आवश्यक भौतिक संरचना निर्माणका विषयमा जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेको सभाध्यक्षतामा भएको अभिभावक भेलाले नयाँ व्यवस्थापन समिति चयन गर्ने छ ।