विजयपुर । धरान उपमहानगरपालिकाले पशुपालक कृषकलाई घाँसको बिउ वितरण गरेको छ ।
सोमबार धरान–१३ स्थित पशुपंक्षी विकास शाखामा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले कृषकलाई घाँसको बिउ प्रदान गरे । पशुपंक्षी विकास शाखाका प्रमुख किशोर त्रिखत्रीका अनुसार चालु आर्थिक वर्षमा उपमहानगरले २ लाख रुपैयाँ बराबरको घाँसको बिउ वितरण गरेको छ । यसअघि हिउँदे घाँसका लागि १ लाख रुपैयाँको बिउ वितरण गरिसकेको शाखाले हाल वर्षे घाँसका लागि बिउ उपलब्ध गराएको हो । कृषक देवेन्द्र दाहालले उपमहानगरको पहलप्रति खुशी व्यक्त गर्दै अनुदान अझै बढाउनुपर्ने बताए । उनले भने, “अनुगमन गरेर सय प्रतिशत अनुदान दिइए झन् प्रभावकारी हुन्छ ।” शाखा प्रमुख त्रिखत्रीका अनुसार उपमहानगर क्षेत्रमा करिब ३२० पशुपालक रहेका छन् । फर्म दर्ता गरेका कृषकलाई प्रति पशु २ किलो तथा फर्म दर्ता नभएका पशुपालकलाई अवस्था हेरेर १ किलोसम्म घाँसको बिउ प्रदान गर्ने गरिएको छ ।
































