धरान/ पूर्वका बजारमा दूधको अभाव चुलिएको छ । चार वर्षपछि पहिलो पटक वर्षायामको समयमा दूधको अभाव चुलिएको व्यवसायीहरू बताउँछन् ।

वर्षाका कारण बाढीपहिरो, बाटो अवरुद्धलगायतका कारणले दूध अभाव खड्किएको हुनसक्ने व्यवसायीहरूको अनुमान छ । धरानमा मात्रै दैनिक ३० देखि ४० हजार लिटर दूध खपत हुने गरेको छ । तर, अहिले झण्डै ६० प्रतिशतभन्दा बढी दूधको अभाव भइरहेको व्यवसायीहरू बताउँछन् । धरानको धरान डेरी फुड प्रोडक्सन प्रालिले मात्रै दैनिक ४ हजार लिटर दूध खपत गर्दै आएको थियो ।

तर, अहिले १५ सयदेखि २ हजार लिटर मात्रै दूध खपत भइरहेको प्रालिका प्रबन्धक कमलेश श्रेष्ठले बताए । ‘व्यवस्थापन गर्न गाह्रो भइरहेको छ’ उनले भने, ‘डिमाण्ड गरेजति बजारमा दूध नै छैन, ७० प्रतिशत नै सर्टेज भइरहेको छ ।’

उनका अनुसार के कारणले अभाव भइरहेको हो त्यो भने आफूले थाहा पाउन नसकेको बताए । तर, कामधेनु दुग्ध विकास सहकारी संस्थाका व्यवस्थापक कृष्णप्रसाद घिमिरेले भने अविरल वर्षाका कारणले गर्दा पनि दूध अभाव भएको बताए । उनले भने, ‘यो चार वर्षपछि पहिलो पटक दूधको अभाव सिर्जना भएको छ ।’ ग्राहक तथा बिक्रेताहरूलाई दूधजन्य सामग्री पु¥याउन समस्या भइरहेको उनले बताए ।

‘बिक्रेताले बेच्न पाइएन भनेर गुनासो गरिरहेका छन्, ग्राहकको अवस्था त्यस्तै छ’–उनले भने । उनका अनुसार कामधेनुमा प्रतिदिन १५ हजारभन्दा बढी दूध खपत हुने गरेको छ । तर, उत्पादन कम हुँदा बजारमा सामग्री पु¥याउन जटिल भइरहेको उनले बताए । वर्षा, बाढीपहिरो, घाँसको अभावलगायतका कारणले पनि दूध उत्पादन घटेको हुनसक्ने उनले बताए ।

धरानका गोकुल डेरीका सञ्चालक शिव न्यौपानेले दैनिक ८ सय लिटर दूध खपत गर्दै आएकोमा अहिले दूध नपाएका कारण ५ देखि ६ सय लिटर मात्रै खपत भइरहेको बताए । उनले आफूले दूधका लागि सुनसरीको वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिकाका ग्रामीण भेगहरूमा डुलिरहेको बताए । ‘दूध खोज्नकै लागि अहिले म चक्रघट्टी, महेन्द्रनगरमा छु, यसरी पहिलो पटक आउँदैछु । अरूबेला त्यसै पनि पुग्थ्यो’ उनले भने, ‘चाडबाड आएको हुनाले बढी खपत भइरहेको छ ।’

साउनको पहिलो साताबाटै दूधको अभाव शुरु भएको व्यवसायीहरू बताउँछन् । यो अवस्था केहीदिनसम्म रहन सक्ने व्यवसायीहरूले बताए । चार वर्षअघिसम्म वर्षायाममा यस्तो समस्या आउने गरेको थियो । तर, अहिले त्यो समस्या हट्दै गए पनि यो वर्ष एक्कासि फेरि अभाव चुलिएको व्यवस्थापक घिमिरेले बताए ।

यसलाई निर्मूल पार्नका लागि पाउडर दूध उत्पादनको विकल्प नभएको उनले बताए । जसले ‘मिल्क होलिडे’ लाई पनि अन्त्य गर्ने व्यवसायी बताउँछन् । मिल्क होलिडेका कारण किसानहरू प्रत्यक्ष मारमा पर्दै आएका छन् । दूधबाट दही, मही, पनिर, ध्यूँ, आइसक्रिमलगायतका सामग्री उत्पादन गर्दै आइरहेको छ ।