बिर्तामोड/ असार दोस्रो साता सरकारले भारतीय कृषि उत्पादनको विषादी परीक्षण नगरी आयात गर्न नदिने निर्णय गरेपछि हाल काँकडभिट्टा नाकाहुँदै भित्रिने तरकारीको आयात रोकिएको छ । छोटो समयमा तरकारी सड्ने भएका कारण व्यवसायीले आयात गरेर जोखिम मोल्न नचाहेकाले आयात रोकिएको हो ।
केहीदिन नाकामा तरकारी बोकेका ट्रक रोकिएपछि भारतीय दूतावासले नेपाल सरकारलाई चेतावनीयुक्त पत्र पठाएको थियो । दूतावासको पत्रपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ६ महिनाका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो । एकै पटक ठूलो परिमाणमा नाकामा ल्याइएका तरकारी नष्ट गर्नुपरेपछि व्यापारीहरू आयात गर्नबाट पछि हटेका हुन् ।
गतवर्षको जेठ र असारमा काँकडभिट्टा नाकाबाट ५४ लाख ७१ हजार ५९ किलोग्राम तरकारी आयात भएको थियो । यो १० करोड ९२ लाख ८४ हजार ७ सय ६९ मूल्य बराबरको तरकारी हो । यस वर्षको सोही अवधिमा ४७ लाख ७० हजार ३९३ किलोग्राम तरकारी आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा १० करोड, ८० लाख, ३९ हजार ९४० रुपैयाँको तरकारी आयात भएको देखिन्छ । यस बर्षको तथ्यांक बिषादी प्रयोग गरिएको भन्दै नाकामा तरकारी रोक्का गर्नुभन्दा पहिलेको हो । परीक्षणको हल्लापछि भने तरकारी आयात ठप्प प्रायः छ ।
अहिले काँकडभिट्टा नाकाबाट ‘पर्वल’ मात्र आयात भइरहेको संलग्न व्यवसायीले बताएका छन् । मेचीभन्सारका एकजना एजेन्ट बालकृष्ण थापा तरकारीको सिजन नभएकाले तरकारी आयात रोकिएको बताउँछन् । विगतका वर्षहरुमा यस सिजनमासमेत तरकारी आयात नहुने गरेको उनले बताए । तर, प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्राविधिक सहायक विनयकुमार साह भने व्यापारीहरुले तरकारी आयात गर्नै नचाहेको तर्क गर्छन् ।
उनले विषादी परीक्षण गरेपछि मात्र तरकारी आयात गर्ने निर्णयका कारण असार तेस्रो साता लाखौँ मूल्यको तरकारी नष्ट गर्नु परेकाले पनि तरकारी आयात गर्न व्यवसायीले आनाकानी गरेको बताए । काँकडभिट्टा नाकाबाट तरकारी आयात गर्न समस्या नरहेको साहको भनाई छ । १६ किलोमिटरको दुरीमा पर्ने बिर्तामोडको कृषिथोक बजारमा रहेको विषादी परीक्षण प्रयोगशालामा परीक्षण गर्न सहज हुने भएकाले तरकारी आयातमा समस्या नरहने उनी बताउँछन् ।
नेपाल ल्याइने भारतीय तरकारी र फलफूलमा विषादीको मात्रा कति हुन्छ भन्ने एउटा उदाहरण गत जेठको एउटा घटनाले छर्लङग बनाएको एक व्यवसायी बताउँछन् । क्वारेन्टाइन कार्यालयमा राखिएको एक टूक केराको नमूना परीक्षण गर्दा अत्याधिक विषादी भेटिएपछि त्यो केरा मेची खोलामा फ्याकिएको थियो । नेपालमा बिक्री हुन नसकेपछि व्यापारीले त्यो केरा नेपालमा नै नष्ट गरेको नाम उल्लेख नगर्न आग्रह गर्दै ति व्यापारीले बताए । अत्याधिक बिषादी प्रयोग गरेका कारण नाकाबाट फिर्ता भएका केरा भारत लैजान भारतीय ब्यापारीले नसकेका हुन् ।
जानकारहरुका अनुसार भारतमा कृषकले दुई किसिमको मल, विउ र विषादी प्रयोग गरेर फलफूल र तरकारी उत्पादन गर्ने गरेका छन् । मानव स्वास्थ्यका लागि घातक विषादीको प्रयोग गरेर भारतीय कृषकले नेपाल निर्यात गर्ने तरकारी उत्पादन गर्ने गरेको यस सम्बन्धि जानकार तथा झापाका अग्रज पत्रकार चन्द्र भण्डारी बताउँछन् ।
कतिपय तरकारीमा फोरेट जस्ता कढाखालका घातक विषादीको प्रयोग गर्ने गरेको उनले बताए । ‘भारत र तेस्रो मुलुकका लागि उत्पादन गरिएको तरकारीमा विषादी प्रयोग हुँदैन’ भण्डारीले भने, ‘नेपाल निर्यात हुने तरकारीमा रातो स्टिकर टाँसिएको अत्यान्त हानिकारक विषादी प्रयोग गरिएको हुन्छ ।’
नेपाली तरकारी बजार प्रायजसो भारतीय उत्पादनमा आश्रित हुने गरेको छ । भारतका कृषि उत्पादन नेपाली बजारमा नआएपछि बजारमुल्य छोइनसक्नु भएको उपभोक्ताको गुनासो छ । झापाको बिर्तामोडमा रहेको कृषिथोक बजारसहित प्राय सबै बजारमा तरकारीको भाउ आकासिएको छ ।
झापाको बिर्तामोडमा रहेको प्रदेश नं. १ कै ठूलो कारोबार हुने कृषिथोक बजारमा तरकारीको भाउ थेग्नै नसक्ने गरी बढेको उपभोक्ताको गुनासो छ । महंगीले तरकारी किनेर छाक टार्न पनि गाह्रो हुन थालेको उपभोक्ताको गुनासो छ । औषत आम्दानी भएका उपभोक्तालाई महंगीले धेरै नै सताएको उनीहरु बताउँछन् ।
गत वर्षको यस सिजनमा ५० रुपैयाँ प्रतिकिलो खुद्रा बिक्री हुँदै आएको थाङग्रे सिमि यस वर्ष १ सय २० रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ । फर्सी र स्कु्सको टुप्पा ५० रुपैयाँ मुठा, इस्कुस ६० रुपैयाँ प्रतिकेजी, चटेला १०० रुपैयाँ, करेला ८० रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको व्यापारी बिष्णुप्रसाद बन्जाराले बताए ।
गत वर्षको तुलनामा यस वर्ष तरकारीको भाउ अत्याधिक बढेको उनको भनाइ छ । ‘खरिद गर्दा नै दोब्बर मुल्य बराबरको मंहगो पर्न थालेको छ, बञ्जाराले भने ‘उपभोक्ता अझ महंगो मुल्य तिर्नुपर्ने बाध्यता छ ।’ भद्रपुर नाकाबाट भने थोरै परिमाणमा तरकारी आयात भइरहेको बताइएको छ । तर, त्यसले नेपाली बजारलाई थेग्न नसक्ने ब्यवसायीको भनाई छ ।