बिराटनगर । मोरङको रङ्गेली नगरपालिकाका धान उत्पादन गर्ने कृषकहरूलाई तौल कम देखाएर व्यापारीले ठगी गर्ने गरेको पाइएको छ । यहाँका स्थानीय व्यापारीले कृषकबाट खरिद गरेको धानमा तौल कम देखाएर ठगी गर्ने गरेका हुन् ।
रङ्गेली नगरपालिका–५ आँपगाछीका कृषक सुरेन्द्रकुमार मण्डलले चैते धान बिक्री गर्दा स्थानीय धान खरिद–बिक्री गर्ने व्यापारी नन्दलाल मण्डलबाट ठगिएको आरोप लगाए । रङ्गेलीका कृषकहरूले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी ‘काँटा’(गल्ला) धानको कारोबार गर्ने व्यापारीहरूले तौलमा ठगी गर्ने गरेको बताएका हुन् । २ बिघा १४ कठ्ठा क्षेत्रफलमा धान खेती गर्दै आएका सुरेन्द्रले यस वर्षको धान राम्रो उत्पादन हुने अपेक्षा राखेका थिए । ‘अपेक्षा राखेअनुसार धान पनि राम्रै उत्पादन भयो’ उनले भने, ‘खेती लगाउँदा ऋण लागेको थियो ।
ऋण तिर्न उत्पादन भएको बाली बिक्री गर्नुपर्दछ ।’ मण्डललाई चैते धान लगाउन करिब ५० हजार ऋण लागेको थियो । उनले ऋण तिर्न र परिवार पाल्न उत्पादन भएको धान स्थानीय व्यापारी नन्दलाललाई प्रतिमन ६ सय ३० रुपैयाँले चिउरा बनाउने बजरङ्गी धान ३ सय ४० मन बिक्री गरेको बताए । पसलमा राखेको तौल गरिने मेसिनमा व्यापारीले ठगी गरिरहेकोले धर्मकाँटामा तौल गर्ने शर्तमा बिक्री गरेका थिए । उनले घुटराज प्रजातिको ३५ मन धान तौलेर र बजरङ्गी प्रजातिको करिब ४० केजी तौल भएको ३ सय १४ बोरा धान तौल नगरी बोरामा भरेर व्यापारीलाई दिएको सुनाए ।
‘आँगनमा ३ सय १४ वटा बोरामा भरेको धान ना.३ ख ५२५९ नम्बरको ट्रकमा व्यापारी नन्दलालले लोड गरेर गएका थिए’ उनले भने, ‘दुवै पक्षको उपस्थितिमा भोलिपल्ट बिहान धर्मकाँटामा धान तौल गर्ने शर्त गरेर नन्दलालले ट्रक लिएर गए ।’ तर भोलिपल्ट व्यापारी नन्दलालले धर्मकाँटामा तौल गरेको बिल लिएर आएको उनले सुनाए । ‘मैले ३ सय ४० मन जति धान हुने अनुमान गरेको तर नन्दलालले ३ सय १४ मन मात्रै तौल आएको बताए’ उनले भने, ‘धर्मकाँटाको बिलमा आपूmले अनुमान गरेअनुसारै तौल उल्लेख छ तर नन्दलालले २१ मन ३० केजी धान बाटोमा पनि ट्रकमा लोड गरेको भनेर ठग्न खोज्दै छन् ।’ २१ मन ३० केजी तौल कम देखाएर धानको पैसा हिनामिना गरेकोे उनले बताए ।
उनले व्यापारीले ठगी गरेकोले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेको पनि जानकारी दिए । उनले गतवर्ष पनि त्यतिकै जग्गामा लगाएको चैते धान ३ सय ८२ मन दाइँ गरेर बिक्री गरेको तर यस वर्ष व्यापारीले ठग्न खोजेको गुनासो पोखे ।
यस्तै रङ्गेलीका कृषक रामानन्द मण्डलले पनि ९ बिघा जग्गामध्ये २ बिघामा लगाएको चैते धान २ सय २० मन फलेको बताए । ‘चैते धान असार लागेपछि काटेकोले तत्काल बिक्री गर्नुपर्ने बाध्यात्मक स्थितिको व्यापारीले फाइदा उठाएर कम मूल्यमा खरिद ग¥यो’ उनले भने, ‘सबैको १५ सय ७५ रुपैयाँ प्रतिक्विण्टलको दरले खरिद गरिरहेको धान मेरो १५ सयको दरमा मात्रै खरिद ग¥यो ।’ आप्mनो आँगनमा सुकाउने ठाउँ नभएको र वर्षा पनि शुरु भएकोले व्यापारीले मूल्य घटाएर खरिद गरेको उनले गुनासो पोखे ।
‘कृषकलाई बिक्री गर्नै पर्ने बाध्यात्मक अवस्थामा व्यापारीले मनोमानी रूपमा ठगी गर्दै आएका छन् र त्यसका लागि बोलिदिने कोही छैनन्’ उनले भने, ‘व्यापारीले तौलमा समेत ठगी गरिरहेका छन् तर नियामक निकायले काँटा जाँच अहिलेसम्म गरेको छैन ।’
नापतौल विभागलाई व्यापारीहरूको काँटा जाँच गरेर कारबाही गर्न मण्डलले माग गरेका छन् । यहाँका व्यापारीले सीमावर्ती भारतीय बजारबाट डिजिटल काँटा खरिद गरेर ल्याएका छन् । ‘व्यापारीहरूले डिजिटल काँटामा एक पटकमा एक मन तौलने गरेको तर त्यही धान किलोले तराजुमा तौल गर्दा ४२–४५ किलो हुने गर्छ’ –कृषक मण्डलले भने । भारतबाट ल्याएको डिजिटल काँटामा प्रतिमन २ देखि ५ किलोसम्म बढी धान तौलेर ठगी गर्ने गरेको पाइएको छ ।
मोरङ जिल्लामा १ हजार २ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । कृषकहरूले राज्यले कृषिजन्य वस्तुको उत्पादनमा समर्थन मूल्य नतोक्दा व्यापारीहरूको भाउमा कृषिजन्य वस्तु बिक्री गर्नुपरेको गुनासो पनि पोखे । उनीहरूले राज्यले तत्काल कृषिजन्य वस्तुको उत्पादनमा समर्थन मूल्य तोक्नुपर्ने माग राखेका छन् ।
यता धान खरिद गर्ने व्यापारी नन्दलाल मण्डलले आफूले खरिद गरेको धानमा कुनै पनि किसानलाई नठगेको दाबी गरे । बिक्री गर्ने कृषकको सामुमा धान तौलने गरेको भए पनि विभिन्न प्रकारको आरोप लगाएर आफूलाई बदनाम गर्न खोजेको उनको भनाइ थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले यसबारे नापतौल कार्यालयलाई खटाएर काँटाको जाँच गराउने बताए । व्यापारीहरूले ठगी गरेको उजुरी आए तत्काल कारबाहीको दायरामा ल्याउने र सिण्डिकेट लगाउने व्यापारीलाई कारबाही गरिने उनले प्रतिबद्धता जनाए ।