धरान/ सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकले संस्थाको पासबुक प्रयोग गरेर करोडौं अपचलन गरी दुई सातादेखि सम्पर्कविहीन बनेका छन् ।
विक असार २३ गतेदेखि परिवारसमेतको सम्पर्कभन्दा बाहिर रहेका हुन् । संस्थाको पासबुक प्रयोग गरेर उनले आफैले धरान–१२ मा सञ्चालन गर्दै आएको शिखर सुन–चाँदी पसलमा बचत गराउँदै आएको पाइएको छ । पासबुकमा बचत गरिएको रकम संस्थामा जम्मा नगरी सुन पसलको खातामा जम्मा गर्ने गरेको फेला परेको हो ।
बचतकर्ताले ८० हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म बचत गर्ने गरेको पाइएको छ । संस्थाका अध्यक्ष विक एकाएक हराएपछि बचतकर्ताहरूले सञ्चालक समितिलाई दबाव दिएका थिए । सञ्चालक समितिले धरान उपमहानगरपालिका अन्तर्गतको सहकारी विकास समितिलाई अध्यक्ष विकले हरहिसाब नदेखाएकाले हिसाबकिताब गरिदिन भन्दै निवेदन दिएको समितिका संयोजक एवम् धरान १५ नम्बर वडाका वडाध्यक्ष नरेश इवारमले जानकारी दिए ।
अनुगमनका क्रममा सहकारी ऐन विपरीत काम गरेको समेत भेटिएको उनले बताए । ‘असार २३ गते भागेको देखिन्छ । घरपरिवारले नै असार २६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्’ उनले फोनसम्पर्कमा भने, ‘असार २७ गते धरान–१५ को जग्गा श्रीमतीमार्फत् बिक्री गरेकोसम्म पाइयो ।’ संस्थाकी उपाध्यक्षसमेत रहेकी विष्णुकुमारी श्रेष्ठसहित १२ जना सञ्चालक समितिका सदस्यले निवेदन दिएका थिए ।
उपाध्यक्ष श्रेष्ठलाई यसबारे बुझ्दा आफूसमेत अन्यौल रहेकाले धरान उपमहानगरपालिकामा निवेदन दिन बाध्य भएको बताइन् । उनले के कति रकम लिएर गएको हो, त्यो विषयमा आफूहरूलाई कुनै जानकारी नभएकोसमेत प्रष्ट पारिन् । ‘के कति पैसा लग्यो, त्यो हामीलाई जानकारी छैन, निवेदनको आधारमा अनुगमन समितिले अनुगमन गरेपछि के कति रकम लगेको हो भन्ने थाहा हुन्छ’ उनले भनिन्, ‘संस्थाको पासबुक दुरुपयोग गरिरहेको रहेछ ।’ उनले आफूहरूले रकम तिर्ने वातावरण बनाउनका लागि दबाव दिइरहेको बताइन् ।
विकले आफ्नै छोरा मोहन दर्नाललाई सहकारीको प्रबन्धक बनाएको देखिन्छ । सहकारी ऐन २०७४ मा अध्यक्ष भएकै परिवारभित्रको मान्छे सञ्चालक समितिमा बस्न नपाउने नियम छ । प्रबन्धकसमेत रहेका मोहनले आफूहरूलाई समेत जानकारी नदिई बुबा सम्पर्कविहीन बनेको बताए ।
उनले आफूहरूले प्रहरीमा असार २६ गते बुबा सम्पर्कविहीन भएको भनेर निवेदनसमेत हालेको बताए । उनका अनुसार करिब ३ करोड ऋण रहेको छ । ‘यति नै भन्ने त छैन, तर २–३ करोडभन्दा माथि नै छ’ –उनले ब्लाष्टकर्मीलाई भने । धरान उपमहानगरको सहकारी विकास समितिमा परेको निवेदनका आधारमा टङ्क सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । सो समितिले छानबिनसमेत गरिरहेको छ ।
समितिका संयोजक सुवेदी भन्छन्, ‘संस्थाको पासबुकमा पैसा उठाएर शिखरमा ‘युज’ गर्दो रहेछ । बचत लिने, सहकारीको पासबुकमा भरिदिने, तर, सहकारीमा ‘क्यापिटलाइज’ नभएको देखिन्छ ।’ उनले त्यो हिसाबमा सहकारीको पैसा भन्न नमिल्ने बताए । सहकारीले वार्षिक २ करोडभन्दा माथि कारोबार गर्ने देखिएको छ । विकले धरान–४ पत्रङ्बारीमा पनि कृषि फार्म सञ्चालन गरिरहेका छन् ।
प्रबन्धक मोहनले बुबाले खाएको ऋण तिर्ने दायित्व स्वतः छोरामा आउने भएकाले आफू ऋण तिरिदिन तयार रहेको समेत बताएका छन् । सहकारी ऐन २०७४ मा अध्यक्ष भागेमा सञ्चालक समितिले बचतकर्ताको जम्मा भएको रकम ब्याजसहित फिर्ता गर्ने र त्यो गर्न नसकेमा सञ्चालक समितिको सम्पत्तिसम्म जफत गर्ने व्यवस्था रहेको छ ।