विराटनगर/ विराटनगर महानगरपालिकाले अत्याधिक मात्रामा कर बढाएको भन्दै विराटनगरका व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।

पहिले तिर्दै आएको करमा पाँच सय प्रतिशत वृद्धि भएपछि विभिन्न सङ्घसंस्थामा आबद्ध भएका व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । महानगरले बढाएको कर संशोधन गरी घटाउनुपर्ने माग राख्दै औषधि व्यवसायी, होटल तथा पर्यटन व्यवसायी र विराट व्यापार सङ्घ आन्दोलित छन् ।

महानगरपालिकाले अचाक्ली कर वृद्धि गरेको भन्दै आइतबार नेपाल औषधि व्यवसायी सङ्घले विरोध ¥यालीसहित विराटनगर महानगरपालिकामा धर्ना दिई मेयर भीम पराजुलीलाई ज्ञापन–पत्र बुझाएका छन् । औषधि व्यवसायी सङ्घ र होटल तथा पर्यटन व्यवसायीहरूले र्यालीसहित छुटा छुट्टै रूपमा मेयरलाई ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले थेग्नै नसक्ने गरी करमा वृद्धि भएपछि आन्दोलन गर्नुपरेको औषधि व्यवसायी सङ्घका महासचिव हरिमोहन श्रेष्ठले बताए । सोही दिन साँझ विराट व्यापार सङ्घले पनि महानगरले बढाएको करको विरूद्धमा मोटसाइकल र्याली निकालेको छ ।

विराटनगरस्थित हिमालयरोडमा व्यवसायी भेला नभएर नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । साविकमा तिर्दै आएको करको दरमा दश गुणासम्म वृद्धि भएपछि व्यवसायीहरू आन्दोलित हुनुपरेको विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाले बताए । कर वृद्धिकै कारण व्यवसायीले व्यवसाय नै बन्द गर्ने खतरा रहेकाले महानगरपालिकाले करको दरमा गम्भीर भएर पुनरावोलकन गर्नुपर्ने उनले बताए ।

व्यवसायीहरूले शुरु गरेको आन्दोलन भने महानगरपालिकाले १ वर्षअघि गरेको निर्णयका विरुद्ध हो । महानगरपालिकाले गत २०७५ साल असार महिनामै विभिन्न शीर्षकमा लिँदै आएको करमा एक हजार प्रतिशतसम्म वृद्धि गरेको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि लागू हुनेगरी भारी मात्रामा करको दरमा वृद्धि गर्दा खासै चासो नदिएका व्यवसायीहरू भने यतिखेर आन्दोलित भएका हुन् ।

आर्थिक वर्षको अन्तिम महिनामा कर तिर्न जाँदा अचाक्ली वृद्धि भएको थाहा पाएपछि आन्दोलनको अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले बताए । ‘आफूले तिर्दै आएको करको दरमा पाँच गुणासम्म वृद्धि भएको आर्थिक वर्षको अन्त्यमा कर तिर्न आउँदा थाहा भयो,’ उनले भने, ‘महानगरले अत्यधिक मात्रामा करको दर बढाएपछि धेरै व्यवसायी कर नतिरी पर्ख र हेरको अवस्थामा छन् ।’ सामान्य होटल तथा ट्राभल्स व्यवसाय गर्दै आएका व्यवसायीले विगतमा दुई हजार तिर्दै आएकामा अहिले १० हजार पु¥याइएको श्रेष्ठले बताए ।

त्यस्तै दुई हजार तिर्दै आएका औषधि व्यवसायीलाई बढाएर १० हजार पुर्याएको नेपाल औषधि व्यवसायी सङ्घ कोशी अञ्चल शाखाका अध्यक्ष कुमार खतिवडाले बताए । ‘अझ हाम्रो व्यवसायमा हुँदै नभएको साना, मझौला तथा ठूलो भनेर श्रेणी छुट्टाइएको रहेछ,’ उनले भने । विराटनगरमा मात्र करिब चार सयको हाराहारीमा औषधि व्यवसायीहरू छन् । यी सबै महानगरपालिकामा दर्ता छैनन् । यस पटक भने महानगरपालिकामा सबै व्यवसायी कुनै न कुनै कारण दर्ता गर्नैपर्ने अवस्थामा रहेको उनले बताए ।

महानगरपालिकाले कर वृद्धि गरी वार्षिक स्तरअनुसार ३० हजारसम्म पुर्याएको छ । सानाको १०, मझौलाको २० र ठूलोको ३० हजार वार्षिक कर तोकेको छ । यसबाट सामन्य रेस्टुरेण्ट व्यवसाय गर्नेले पनि वार्षिक १० हजार कर तिर्नुपर्छ । तारे होटलतर्फ एक तारेको ५० हजार, दुई तारेको ७५ र तीन तारेको एक लाख ३० हजार तोकिएको छ ।

महानगरपालिकाले सबैभन्दा बढी कर मेघा डिर्पाटमेण्टल स्टोरलाई एक लाख ५० हजार तोकेको छ । सबैभन्दा कम पञ्चेबाजालाई एक हजार पाँच सय, ब्याण्डबाजालाई तीन हजार र साइकल मर्मत, लेखापढी व्यवसायी, पेण्टरलाई दुई हजार वार्षिक कर तोेकेको छ ।

यता विराटनगर महानगरपालिका प्रमुख पराजुलीले यस वर्ष कुनै पनि शीर्षकमा करको दर वृद्धि नगरेको भन्दै गतवर्ष बढाएको कर भएको बताए । उनले सबै व्यापार व्यवसाय गर्नेहरूलाई करको दायरमा आउन आग्रह गरे । देशभरिमा रहेका पाँचवटा महानगरपालिकामा भन्दा विराटनगरले सबैभन्दा कम कर निर्धारण गरेको भन्दै करको दायरा वृद्धि नगरी विकास गर्न नसकिने उनले बताए ।