बिर्तामोड/ पूर्वीनाका काँकडभिट्टाबाट माछा आयात घट्दो क्रममा छ । माछामा आत्मनिर्भर बनाउनका लागि सरकारले कृषकलाई अनुदान दिन थालेपछि विगत ५ वर्षयता क्रमशः आयात घटेको पाइएको छ ।
कृषकलाई अनुदानसँगै आयातमा कडाइ गर्न थालिएको छ । एनिमल क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार क्वारेन्टाइन ऐनअनुसार मात्र आयात गर्न अनुमति दिन शुरु गरेका कारण आयात घटेको होे । यस वर्षदेखि व्यवसायीले सम्बन्धित मुलुकबाट स्वस्थताको प्रमाण–पत्रसहित माछा आयात गर्नुपर्ने नयाँ प्रावधान थपिएको एनिमल क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।
माछामा आत्मनिर्भर बन्ने क्रमसँगै झापामा आयात प्रतिस्थापन हुन शुरु भएको सिंहले बताए । ‘नेपालमा ताजा माछा उपलब्ध भएका बेला भारतीय माछा बिक्री हुँदैन’ प्रमुख सिंहले भने, ‘भारतीय माछाको बजारमा माग नभएपछि व्यापारीले आयात घटाएका हुन् ।’
माछालाई सड्न नदिन फर्मालिन नामको विषादी प्रयोग गर्ने गरिएका कारण उपभोक्ताले खरिद गर्न छोडेको उनको भनाइ छ । फर्मालिन प्रयोग गरिएका माछा उपभोग गर्नु मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले नाकामा चेकजाँच कडाइ गर्ने गरिएको उनले बताए । भारतको आन्ध्र प्रदेशबाट नेपालमा ल्याइने माछामा प्रयोग गरिने फर्मालिनले क्यान्सरजस्ता घातक रोग लाग्ने सम्भावना बढी हुने भएकाले फर्मालिन प्रयोग गरिएको माछा आयातमा रोक लगाइएको उनले बताए ।
‘बरफमा राखेर ढुवानी गर्दा ६ महिनासम्म पनि माछा उपभोग गर्न योग्य हुन्छ’ सिंहले भने, ‘फर्मालिन हालेको छ भने चाहिँ त्यो खानु हुँदैन, फर्मालिन प्रयोग गरेको माछालाई हामीले फिर्ता गर्ने गरेका छौं ।’ नाकामा फर्मालिन किटको मद्दतले चेकजाँच गर्दै आएको जानकारी उनले दिए । त्यसरी चेकजाँज गर्ने गरिएका कारण व्यापारीले फर्मालिन प्रयोग गरेका माछा ल्याउन बन्द गरेको सिंहले बताए ।
नेपालमा व्यवसायिक रूपमा माछा पालन गर्ने क्रम शुरु भएपछि आयात घट्नुको अर्काे कारण भएको सिंहको भनाइ छ । कतिपय स्थानीय तहले पोखरी निर्माण, भुरा तथा दाना खरिदमा कृषकलाई सहुलियत दिने नीति ल्याएका कारण माछापालनमा कृषक आकर्षित भएका हुन् । माछामा आत्मनिर्भर बनाउने नीतिका कारण आयात प्रतिस्थापन हुन शुरु भएको सिंहले बताए ।
आर्थिक वर्ष २०७०/०७१ मा २ हजार ७९ मेट्रिक टन आयात भएको माछा २०७५/०७६ मा १ हजार ३ सय ८२ मेट्रिक टनमा झरेको तथ्याङ्क काँकडभिट्टामा रहेको क्वारेन्टाइन कार्यालयमा छ । २०७० सालदेखि आयात क्रमशः घट्दो दरमा रहेको क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
पाँच वर्षयता माछा आयातमा ६० प्रतिशतले कमी आएको तथ्याङ्क छ । पछिल्लो समय नेपालमा माछाको व्यवसायिक उत्पादन हुन थालेपछि भारतलगायत तेस्रो मुलुकबाट आयात हुने माछाको परिमाणमा कमी आएको हो । काँकडभिट्टा नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा खपत हुने गरेको छ ।
वास्तविक तथ्याङ्क नभए पनि झापामा ४० हेक्टर क्षेत्रफलमा व्यवसायिक रूपमा माछापालन गर्दै आएको बताइएको छ । जिल्लामा गतवर्ष ४ मेट्रिक टन माछा उत्पादन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा माछा ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ । सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
स्वस्थताको प्रमाण–पत्रबाट निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुन्छ । खुल्ला सिमानाका कारण खान अयोग्य माछा नेपाल भित्रिरहेको सरोकारवालाको भनाइ छ । मुख्यरूपमा भारत, थाइल्याण्ड, कोरियाबाट माछा आयात हुने गरेको पाइएको छ । ती माछा आयात गर्ने क्रममा हप्तौं लाग्ने हुँदा माछामा फर्मालिन नामक रसायन प्रयोग हुन्छ ।
माछामा भिटामिन, मिनरल, ओमेगा, क्यालोरी, केमिनो एसिडलगायत तत्व पर्याप्त मात्रामा पाइन्छ । स्वच्छ र ताजा माछाको नियमित सेवनले क्यान्सर रोगी, मुटुरोगी, मस्तिष्क रोगी र गर्भवती महिलालाई फाइदा पुग्छ ।