धरान/अविरल वर्षाका कारण हरियो तरकारीको मूल्य छोइनसक्ने गरी महँगिएको छ ।

एक साताबीचमै कुनै तरकारीमा सय प्रतिशतभन्दा पनि बढी महँगिएको हो । नियामक निकायहरू यसबेला भने मौन छन् । वर्षाभन्दा अघि र वर्षाभन्दा पछि हरियो तरकारीको मूल्यमा २० रुपैयाँदेखि एक सय रुपैयासम्म वृद्धि भएको तरकारी बजारको तथ्याङ्कबाट प्रष्टिन्छ ।

खुद्रा व्यवसायीहरू नै २० प्रतिशतदेखि सय प्रतिशतसम्म मूल्य बढेको बताउँछन् । जसका कारण उपभोक्ता प्रत्यक्ष मारमा पर्न थालेका छन् । धरान–१५ की उपभोक्ता डम्बरकुमारी मगरले पानी पर्न थालेपछि हरियो तरकारी अति नै बढेको बताइन् । ‘पानी पर्न थालेपछि हरियो तरकारी त अति नै बढेको छ,’ उनले भनिन्, ‘नखाइ नहुने । १० रुपैयाँ पावा पाउने तरकारी अहिले ४० रुपैयाँ पावा पुगेको छ ।’

उपभोक्तालाई मात्रै हैन, अहिले खुद्रा तरकारी बिक्री गर्दै आएकाहरूलाई पनि हरियो तरकारीको मूल्य आकाशिएको अनुभूति भएको छ । ‘हामीले कृषि बजारबाट ल्याउँदा नै महँगो परेको हुन्छ,’ धरान–१५ पुष्पलाल मार्गमा तरकारी बेच्दै आएका हिक्मत श्रेष्ठ भन्छन्, ‘२० रुपैयाँदेखि सय रुपैयाँसम्म बढेको छ ।’ उनका अनुसार बेच्नेलाई त झनै सास्ती छ । कृषिबाट ल्याउँदा नै हारालुछ गरेर ल्याउनु पर्ने बाध्यता छ ।

‘तरकारी नै पाउँदैन’–उनी भन्छन् । धरानमा यो सिजनमा दैनिक औसतमा १ सय २५ मेट्रिक टन हरियो तरकारी बिक्री हुने गरेको छ । तर, वर्षा शुरुभएसँगै दैनिक ४५ देखि ५५ मेट्रिक टन मात्रै तरकारी कारोबार हुने गरेको धरान कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

यो बेला मुख्यगरी धनकुटा जिल्लाबाट तरकारी आउने गरेका छ । त्यस्तै तेह्रथुम, सङ्खुवासभा, मोरङको उत्तरी क्षेत्र र सुनसरीको पाँचकन्या र विष्णुपादुकाबाट आउने गरेको छ । ‘निरन्तर झरीका कारण तरकारीको बिरुवा नष्ट गरिदिएकाले पनि तरकारी भनेजति आउन सकेको छैन’ व्यवस्थापक भट्टराईले भने, ‘त्यही भएर महँगिएको हो । हरियो तरकारीको हकमा मात्रै यस्तो हो । अन्य त सामान्य नै छ ।’ पछिल्लो ११ दिनयता वर्षा निरन्तर भइरहेको छ ।

वर्षा हुनुअघि थोकमा फुलकोबी प्रतिकेजी ४० रुपैयाँमा बिक्री भइरहेकोमा अहिले ६० रुपैयाँमा बिक्री हुँदै आइरहेको छ । सिमी ५० बाट बढेर अहिले ९० रुपैयाँ प्रतिकेजी पुगेको छ । मुला २० रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ । टमाटर ४५ बाट बढेर ८५ रुपैयाँ प्रतिकेजी पुगेको व्यवस्थापक भट्टराईले जानकारी दिए । उ

नका अनुसार माग अनुसार आपूर्ति हुन नसक्दा हरियो तरकारीको मूल्य आकाशिएको हो । उपभोक्ताहरू यो बेलामा जति नै महँगो मूल्य भए पनि हरियो तरकारी खान बाध्य छन् । उपभोक्ता मगरले २० रुपैयाँमा खाँदै गरेको सागको मूल्य अहिले ५० रुपैयाँ पुगेको बताइन् ।