आज असार १५ । असार १५ भन्ने बित्तिकै आँखा अघि एउटा तस्वीर खडा भइहाल्छ– रोपाईँमा हिलोसँगै रमाउने या दही चिउरा खाने । देशका कतिपय ठाउँमा यसअघि नै रोपाईँ शुरु भइसकेको अवस्था भए पनि असार १५ कै दिन रोपाईँ गर्नुको महŒव बेग्लै छ ।
हिलोमा रमाउँदै धान रोप्नुको जति महत्व छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्त्व छ । दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ । तर, यो पम्पराको शुरुवात कहिलेदेखि भयो भन्नेमा कुनै इतिहास नभए पनि धानखेतीको प्रारम्भ भएसँगै शुरु भएको बताइन्छ ।
संस्कृतिविद्हरूका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपार्इंको काम सकिएपछि दही चिउरा खाने गरिएको र पछिल्ला समयमा यो परम्परा परिष्कृत हुँदै रोपाईंमा मात्रै नभएर घरघरमै खाने चलन बसेको हो ।
यद्यपि यसको शुरुवात कहिले भयो भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन । नेपाली समाज आधुनिकतातर्फ उन्मुख भइरहेको अवस्थामा पनि दही चिउरा खाने परम्परा कायमै रहनु सकारात्मक भएको कतिपयको बुझाइ छ ।
पछिल्ला वर्षहरूमा असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरूमा विकास भइरहेको छ । यही भएर शहर बजारमा समेत दही चिउराको जोहो गरेर खाने गरिन्छ ।
ग्रामीण क्षेत्रमा कृषकहरूले आफ्नै घरमा दुधालु पशुपालन गर्ने र नभएकाहरूले पनि छरछिमेकबाट मागेरै भए पनि परिवारका साथ होस् या रोपाईँमा आलीको डिलमा बसेर होस् दही चिउरा खाएर मनाउने गर्छन् । तर, सहरी क्षेत्रमा पशुपालन र खेतीपाती पनि कम हुने भएकाले परम्परा धान्नकै लागि व्यावसायिक डेरीहरूबाट दही खरिद गरेरै भए पनि दही चिउरा खाने गरेको पाइन्छ ।
किन दही चिउरा खाइन्छ ?
माथि उल्लेख गरिए झैं दही चिउरा खानु एउटा पुरानो परम्परा भए पनि यो संस्कृतिकै रूपमा विकास भइसकेको छ । भनाइ नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खीर !’ । यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाँटी, माघेसक्रान्तिमा तरुल, घिउ, चाकु आदि खाइने परम्परा रहेको छ ।
यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक पर्व भएकाले यी सबै विषेश अवसरको आ–आफ्नै महŒवको रहेको देखिन्छ ।
अरू अवसरको महŒव जेजस्तो भए पनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलस्य हट्ने र रोपाइँ कार्यका लागि शरीर फुर्तिलो हुने जनविश्वास रहेको छ ।
यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता निश्चय नै पक्कै प्रदान गर्छ नै । दहीमा कार्बोहाइड्रेट, चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउँदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाइम हुन्छ, जसले शरीरलाई फाइदा गर्छ ।
असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोश पनि प्रदान गर्छ ।
हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महŒवपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । एउटा भनाइ छ– गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।
































