विजयपुर । कोशी प्रदेशका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् ।
मंगलबार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित ९ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार झापाको भद्रपुर–५ मा चेकजाँचका क्रममा प्र.१–०१–०१२ प ४७१५ नम्बरको स्कुटरबाट मेचीनगर नगरपालिका–१२ का सन्तोष लिम्बु तथा पछाडि सवार ओम नारायण मण्डल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
यस्तै, मे ४ प ८२७४ नम्बरको मोटरसाइकलसहित भद्रपुर–९ का रेसल खड्का तथा पछाडि सवार सन्दिप राजबंशी र प्रवीण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका–८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान ११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधीसहित मोरङबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी–४ का पर्वत राईलाई ३० ट्याब्लेट प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































