बिर्तामोड । भदौ २३ र २४ गते झापामा भएको जेन जी आन्दोलनमा लुटपाट, तोडफोड र आगजनीमा संलग्नविरुद्ध किटानी जाहेरी परेका अधिकांश अभियुक्तहरूलाई हालसम्म प्रहरीले पक्राउ गरेको छैन ।
पीडित पक्षले किटानी गरेका व्यक्तिहरू सार्वजनिक स्थानमा खुलेआम हिँडडुल गरिरहे पनि प्रहरीले वास्ता नगरेको पीडित पक्षको आरोप छ । हालसम्म किटानी जाहेरी परेका १ सय २ जना अभियुक्त अझै फरार छन् । प्रहरीले ४७ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका अधिकांश अभियुक्त प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न रहेको बुझिएको छ ।
अहिलेसम्म पक्राउ गरेका अधिकांश प्रहरी कार्यालय लुटपाट, तोडफोड, आगजनी, प्रहरीमाथि आक्रमणमा संलग्न, प्रहरीको हतियार तथा बन्दोबस्तीका सामग्री लुटपाट तथा प्रहरी हिरासतमा रहेका थुनुवा भगाउने अपराधमा संलग्न रहेको पाइएको छ ।
आन्दोलनकारीको निशानामा रहेका जनप्रतिनिधि, व्यवसायी, कर्मचारी तथा उनीहरूका निजी सम्पत्ति र सरकारी संरचनामा तोडफोड, लुटपाट एवम् आगजनीमा संलग्न अभियुक्तलाई भने हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । झापा जिल्ला सरकारी वकिल कार्यालयका अनुसार ‘आपराधिक उपद्रव’ मा ४१ वटा मुद्दा दर्ता भएका छन् । घटना भएको मितिले हदम्याद ६ महिनासम्म हुने भएकोले फागुन २४ गतेसम्म मुद्दा दर्ता गर्न पाउने कानूनी प्रावधान छ ।
तर ६ महिनाभित्र दर्ता भएको मुद्दामा भने अहिले पनि पूरक अभियोजनमा अभियुक्तको नाम थप गर्न पाइने उल्लेख छ । पूरक अभियोजन अन्तर्गत पछि पनि अभियुक्त पक्राउ गर्न सकिने कानूनी प्रावधान भने छ । जेन जी आन्दोलनको समयमा झापामा १ सय ५२ वटा भौतिक संरचनामा क्षति पुगेको थियो । जसअनुसार स्थानीय तहका १२ वटा भवन, ५५ वटा वडा कार्यालय भवन, १० वटा सङ्घीय सरकारको कार्यालय, ३ वटा प्रदेश सरकारको कार्यालय, दमक भ्यु टावर र विभिन्न राजनीतिक दलका कार्यालय तथा व्यक्तिका निजी घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।
आन्दोलनमा संलग्न अधिकांश युवायुवती लागूऔषध दुव्र्यसनी रहेको पक्राउ परेका अभियुक्तको पुरानो रेकर्डबाट थाहा हुन्छ । प्रहरीले पक्राउ गरेकामध्ये ८० प्रतिशतभन्दा बढी अभियुक्त लागूऔषध मुद्दामा जेल परेर छुटेका, चोरी तथा डाका मुद्दामा जेल परेका, केही सोही मुद्दामा फरार रहेका व्यक्तिहरू रहेको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख विजय श्रेष्ठले बताएका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीले कात्तिक २१ गते अर्जुनधारा–७ का सुरज राईलाई लागूऔषधसहित पक्राउ ग¥यो । उनका बारेमा अनुसन्धान गर्दा अर्जुनधारा–६ मा डेरा लिएरै देशभर आपराधिक सञ्जाल चलाउने गिरोहको नाइके रहेको फेला प¥यो । उनकै बयानका आधारमा प्रहरीले नवराज राईलाई भक्तपुरबाट पक्राउ गरेर बिर्तामोड ल्यायो ।
राईलाई झापा ल्याएपछि पूजा मगर, निमा शेर्पा, अनिष चौधरी, विशाल राईलगायतलाई प्रहरीले पक्राउ गर्न सफल भयो । यो टिम झापाबाट लागूऔषध काठमाडौँसम्म पठाउने गिरोह भएको दाबी प्रहरीको छ । पक्राउ परेकामध्ये डरलाग्दो यो गिरोहलाई दर्जन बढी मुद्दा लागेको प्रहरीको भनाइ छ । यो गिरोहमाथि हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, थुनुवा भगाएको, लुटपाट, चोरी, डाका, लागूऔषध कारोबारलगायतका मुद्दा दर्ता भएको छ ।
उनीजस्तै दमकका दर्जनौं स्थानमा आगजनी, लुटपाट, थुनुवा भगाउने, प्रहरीको हतियार खोस्नेलगायतका अभियुक्त मेचीनगर नगरपालिका–१२ चारआलीका मुकेश शर्मा हालसम्म फरार छन् । उनी यसअघि पनि आपराधिक सञ्जाल सञ्चालन गर्ने प्रहरीको सूचीमा छन् । “प्रहरीसँग कुनै न कुनै रूपमा असन्तुष्ट समूहले प्रहरी कार्यालय र प्रहरीहरू माथि आक्रमण गरेको देखिन्छ” जिल्ला प्रहरी कार्यालय झापाका एकजना प्रहरी अधिकारीले भने, “केहीले चाहिँ विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा बसेका आफन्त छुटाउन आक्रमण गरेका छन् ।”
नेकपा (एमाले) को अर्जुनधारास्थित पार्टी कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरेको अभियोग लगाउँदै अध्यक्ष बृख प्रधानले सोही स्थानका चारजनाको नाम किटान गरेर जाहेरी दिएका छन् ।
यस्तै नेकपा (एमाले)का जिल्ला अध्यक्ष प्रेम गिरीले बिर्तामोडका पार्टी कार्यालय र सँगै जोडिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कार्यालयमा लुटपाट, तोडफोड तथा आगजनी गरेको अभियोगमा तीनजनामाथि मुद्दा चलाएका छन् । उनीहरूले किटानी जाहेरी दर्ता गरेका अभियुक्तलाई हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरी तथा प्रहरी कार्यालयमा आक्रमण गर्ने पहिचान भएका अभियुक्तलाई भने प्रहरीले पक्राउ गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख वसुन्धरा खड्काले आन्दोलनको समयमा राजनीतिक दलका नेता कार्यकर्ता तथा कर्मचारीहरूका भौतिक सम्पत्तिमाथि आगजनी गर्ने अभियुक्तलाई पक्राउ गरेर कानून बमोजिम कारबाही गर्ने बताइन् । उनले प्रचलित कानून बमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराखिने दाबी गरिन् । तर, झापामा उनले कमाण्ड सम्हालेपछि सो घटनाका कुनै पनि अभियुक्त पक्राउ परेका छैनन् ।
पीडितहरूले अभियुक्त पक्राउ गर्न प्रहरीले गरेको ढिलासुस्तीप्रति आशङ्का व्यक्त गर्न थालेका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका दमकका गगन पुरीले गृहमन्त्रीले २३ गतेको आन्दोलनलाई दबाएको विषयमा कारबाही प्रक्रिया सुरु गरेको तथा २४ गतेको घटनालाई नजरअन्दाज गर्न खोजेको आरोप लगाए । उनले केही समयको धैर्यतालाई कमजोरीका रूपमा बुझिए उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहनसमेत चेतावनी दिए ।
यता बिर्तामोडमा रहेको भाटभटेनी सुपर स्टोर, ईश्वरीप्रसाद शिवाकोटीको घर, बिर्तामोड नगरपालिका र मातहतका वडामा आगजनी गर्ने अभियुक्तको पहिचान नभएका कारण कारबाही प्रक्रिया अघि नबढ्ने भएको जिल्ला सरकारी वकिल कार्यालय झापाका सहायक न्यायाधीवक्ता सन्दिप टेलरले बताए । भदौ २४ गते भएको प्रदर्शनमा तीनजनाको मृत्यु भएको थियो । पाँचथरका कमल भण्डारी, अर्जुनधारा–११ का गोपाल सेढाईं र अर्जुनधारा–८ का दिनेश राजवंशीको मृत्यु भएको थियो । घटनामा सयौं प्रदर्शनकारी र प्रदर्शनकारीको आक्रमणमा केही प्रहरी घाइते भएका थिए ।
































