धरान / प्रदेश १ को राजधानी वृहत विराट क्षेत्रलाई समेटेर विराटनगर बनाउने सत्तारुढ दलहरुको सहमति बाहिर आएसँगै धरानलाई वाइपास गरेको भन्दैं धरानका राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् ।
धरान उपमहानगरपालिकाले पनि तत्कालिन मेयर तारा सुब्वाको नेतृत्वमा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदैं यहाँको भौतिक संरचना र संभाव्यताबारे जानकारी गराएको थियो । त्यस बेला धरानमा व्यवस्थापिका रहने गरि राजधानी तोकिने मुख्यमन्त्री शेरधन राईले आश्वासन दिएका थिए । तर हावापानी, भौगोलिकलगायत हरेक क्षेत्रमा धरान उपयुक्त हुदा हुदैं बाइपास गरिएको धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले बताइन ।
आज कार्यवहाक मेयर भण्डारीको पहलमा स्थानीय राजनीतिक दलका नेता, नागरिक समाज, नीजी क्षेत्र विभिन्न संघ प्रतिनिधिहरुको संयुक्त रूपमा बैठक बसी राजधानी धरान बनाउन निर्णय गर्न दवावका लागि कार्यक्रम गर्ने निर्णय गरेको छ ।
छलफलमा प्रदेश प्रमुख गोविन्द्र सुब्वा, सभामुख प्रदिपकुमार भण्डारी, प्रदेशसभा सदस्य तथा नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्यजस्ता व्यक्तिहरु सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनीधित्व हुदाँ हुदै धरानलाई बाइपास गर्नु दुभाग्य भएको बताए । उनीहरुले निर्णय गर्न सक्ने स्थानमा बसेर धरानलाई शुन्य शहर बनाउने काम गरेको आरोपसमेत लगाए ।
नेकपाका प्रदेश सदस्य रमेश बस्नेत, आइन्द्रविक्रम बेघा, जिल्ला नेता मुरारी सुवेदी, संघीय लिम्बुवान परिषद्का धरान अध्यक्ष अमर इजम, संघीय समाजबादीका धरान अध्यक्ष ताजुक लिम्बुलगायतले धरानबाट मत पाएर माथि पुगेका नेताहरुको धरानलाई न्याय गर्न हिच्किचाएको आरोप लगाए ।
छलफलमा कार्यवहाक मेयरले धरान उपमहानगरपालिकाले राजधानी ल्याउनका लागि २५ विगाह जमिन संरक्षण गरेर राखेको बताइन । यहाँको भौतिक संरचनाबारे प्रधानमन्त्री, विभिन्न राजनीतिक दलहरुका नेता सबैलाई बुझाइसेको बताइनन् । उनले निर्णय गर्न सक्ने स्थानमा रहेका प्रदेश प्रमुख, सभामुख, नेकपाका प्रदेश संयोजकलगायतलाई धरानका लागि के पहल भयो भनेर यहाँका राजनीतिक दलहरुले प्रश्न गर्न आग्रह गरिन । सुनसरी क्षेत्र नं. १ बाट विजयी प्रदेश सांसदहरुले धरानका लागि के कस्ता लभिङका काम भए भन्ने समिक्षा गरेर अव राजधानीका लागि अन्तिम लडाइ लड्न तयार हुनु भण्डारीले सबैलाई आग्रह गरिन ।
भोलीदेखि धरान राजधानीका लागि सडकमा उत्रिने
छलफलले भोली विहान प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रतिपक्ष दललगायतलाई धरानमा राजधानी किन भन्ने विषयमा जानकारीसहित ज्ञापन पत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम तय गरेको छ । पाँच सय भन्दा बढिको संख्यामा सबै दलहरुको नेतृत्वमा विराटनगर जाने कार्यक्रम तय भएको नेकपाका नगर नेता नारायण सुवेदीले जानकारी दिए ।