धरान/धरानलाई प्रदेश १ को राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र बुझाइएको छ । प्रदेश नम्बर १ को राजधानी बनाउन अभियान समिति धरानले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । समितिले विभिन्न आधारहरु प्रस्तुत गर्दै राजधानीको माग गरेका छन् । धरान सेनकालिन तथा वुद्धिकर्ण रायको ऐतिहासिक कालखण्ड यसै स्थान रहेकाले पनि धरान उपयुक्त हुने तर्क पेश गरेको छ । त्यस्तै धरान विभिन्न जातजाति, भाषा, धर्म संस्कृतिको साँझ शहरको रुपमा स्थापित रहेको मात्रै नभई पहाड र मधेशको मनोविज्ञानसमेत जोडेको अभियानका संयोजक अइन्द्रबिक्रम बेघाले बताए । प्रदेश नं. १ को १४ वटै जिल्लाका जनता धरानमा बसेको र सडक सञ्जालको हिसावले पनि सबै जिल्लावासीलाई जोड्न सक्ने दाबी गरेको छ । सबै जिल्लाहरुलाई सहज ढंगले प्रशासनिक सेवा प्रदान गर्न सक्ने, खेलकुदको पूर्वधारको नजरबाट हेर्दा थुप्रै खेलमैदान, शैक्षिक केन्द्र, धार्मिक पर्यटन, र भौतिक पूर्वाधारहरु पनि उपयुक्त रहेको समितिको दाबी छ । यी सबै कारणले पनि धरान प्रदेशको राजधानी उपयुक्त रहेको दाबी समितिको छ । त्यसैले पनि प्रधानमन्त्रीलाई प्रदेशको राजधानी बनाउन समितिले जोडदार माग गरेको छ । उक्त ज्ञापन पत्र पूर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुनसरी, इलाका प्रशासन कार्यलय, धरान र संघियता कार्यन्वयन तथा प्रशासन पुर्नसंरचना समिति, काठमाडौलाईसमेत वोदार्थ दिएका छन् ।