taramanधरान / नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले प्रदेश नं. १ को राजधानी धरान नै उपयुक्त भएकाले धरानलाई प्रादेशिक राजधानी बनाउनुपर्ने बताए । हरेक हिसावले धरान उपयुक्त भएकाले प्रदेशको राजाधनी धरान हुनु पर्ने उनको भनाई थियो । नेपाल आदिवासी जनजाति संघ सुनसरीले आयोजना गरेको संविधान संशोधन र आदिवासी जनजाति सवाल विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन । धरान पहाड र तराई दुवैलाई समेटरन उपयुक्त हुने उनको भनाई थियो । उनले धराने जनताको चाहना बमोजिम एयरपोर्ट र वाइपास राजमार्गका लागि समेत सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।  संविधानको अन्तरवस्तुप्रति आदिवासी जनजाति, मधेशी लगायत उत्पिडित समुदायले असन्तुष्टिहरुलाई न्यायोचित सम्बोधन गर्न हालै पेश गरिएको संविधान संशोधन विधेयकलाई सबैले अवसरको रुपमा लिएर सबैतहको निर्वाचन गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए । कार्यक्रममा सहभागीहरुले जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र पहिचान कायम हुनुपर्ने तथा लक्षित वर्ग तथा सम्बन्धित आयोगहरुका बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् । कार्यक्रममा कांग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सागर प्रसाई, आदिवासी जनजाति समन्वय समिति सुनसरीका उपाध्यक्ष संदिप श्रेष्ठ, नेपाल आदिवासी जनजाति संघ सुनसरीका निवर्तमान सचिव प्रेमकुमार राई लगायतले बोलेका थिए ।