विराटनगर । अनलाइन ठगीको रकम नेपाली नागरिकका बैङ्क खाता र डिजिटल वालेटमार्फत् भारत पुर्‍याउने अन्तरदेशीय गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

ठगी गिरोहकै फन्दामा परेका तीन युवाको सुझबुझ र सहयोगमा प्रहरीले दुई भारतीय र दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विराटनगर-९ का २३ वर्षीय फैयाज खान, विराटनगर-१७ का ३१ वर्षीय जफर आलम तथा भारतको बिहारस्थित बेतिया जिल्लाका २६ वर्षीय ताहिर हुसेन र कटिहार जिल्लाका ३६ वर्षीय ‘गुड्डु’ भनिने मोहम्मद सावुद्दिन छन् । भारतीय नागरिकद्वय हुसेन र सावुद्दिन विराटनगर महानगरपालिका-४ एयरपोर्ट मोडमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकामध्ये ताहिर हुसेनले पाकिस्तानी नागरिकसँगको सम्पर्क र निर्देशनमा ठगीको रकम भारतका विभिन्न बैङ्क खातामा जम्मा गर्ने गरेको तथ्य खुलेको छ ।

कसरी खुल्यो गिरोहको पोल ?

मधेस प्रदेश घर भई विराटनगरमा इन्जिनियरिङ अध्ययन गरिरहेका २६ वर्षीय एक युवा (नाम गोप्य राखिएको) बाट यो सञ्जालको पर्दाफास भएको हो । पकेट खर्च जुटाउने क्रममा फैयाज खानको सम्पर्कमा आएका महरालाई खानले खातामा आएको रकम झिकेर दिएबापत २ प्रतिशत कमिसन दिने आश्वासन दिएका थिए । चिनजानकै व्यक्ति भएकाले विश्वासमा परेका महराको खातामा पटक-पटक गरी अपरिचित स्रोतबाट ७ लाख १५ हजार रुपैयाँ आयो । उक्त रकम झिकेर फैयाजलाई बुझाएबापत महराले १५ देखि २० हजार रुपैयाँसम्म कमिसन पाएका थिए ।

तर, केही समयपछि जिल्ला प्रहरी कार्यालय काठमाडौँ परिसरबाट महराको नाममा बैङ्किङ ठगीको उजुरी परेको भन्दै फोन आएपछि उनी आफू फसेको निष्कर्षमा पुगे । त्यसपछि उनले सप्तरी घर भई विराटनगरमा सँगै अध्ययन गरिरहेका एक किशोरी र अर्का एक किशोर साथीहरूलाई घटनाबारे जानकारी गराए । तीनै जना साथीले मिलेर गिरोहलाई नै प्रहरीको जिम्मा लगाउने योजना बनाए ।

योजनाअनुसार फैयाजले ती किशोरी र बिशोरलाई पनि खातामा रकम आए कमिसन दिने प्रस्ताव राखे । त्यसलगत्तै किशोरीको नबिल बैङ्कको खातामा २ लाख ११ हजार र किशोरको खातामा ८० हजार गरी २ लाख ९१ हजार रुपैयाँ जम्मा भयो । तर, उनीहरूले उक्त रकम नझिकी सोझै जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर प्रहरी प्रमुख एसपी कवित कटुवाललाई सम्पूर्ण विवरण सुनाए ।

त्यसपछि प्रहरीले तीनै युवाको सहयोगमा ‘स्टिङ अप्रेसन’ थाल्यो । रकम बुझ्न फैयाजको समूहलाई विराटनगर-१ भट्टाचोकस्थित ‘चिया सङ्गीत’ क्याफेमा बोलाइयो । ३ कात्तिक साँझ ६ बजे पैसा लिन क्याफेभित्र पसेकै बेला सादा पोसाकमा खटिएको प्रहरी टोलीले फैयाज र उनीसँगै आएका जफर आलमलाई रङ्गेहात पक्राउ गर्‍यो । उनीहरूकै बयानका आधारमा प्रहरीले थप दुई भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।

कमिसनको तहगत जालोः ४० बैङ्क खाता प्रयोग

प्रहरीका अनुसार गिरोहले नेपाली नागरिकलाई साथी बनाएर खाता र डिजिटल वालेट खोल्न लगाउने अनि ठगीको रकम जम्मा गर्ने गरेको पाइएको छ । खातावालालाई नगद झिकेबापत २ प्रतिशत कमिसन दिएपछि फैयाजले सङ्कलित रकमको १० प्रतिशत आफूले राखेर बाँकी सावुद्दिन र जफरलाई बुझाउँथे । सावुद्दिन र जफरले पनि १० प्रतिशत कमिसन राखेर बाँकी रकम ताहिरलाई दिने र ताहिरले पाकिस्तानी नागरिकको निर्देशनमा भारतीय बैङ्कमा पठाउने गरेको खुलेको छ । 

मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरोहले हालसम्म विभिन्न ८ बैङ्कका ४० वटा खाता र ई-सेवाका १७ वटा खाता रकम ओसारपसारमा प्रयोग गरेको पाइएको छ । नबिल, एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैङ्कका खाता दुरुपयोग भएको प्रहरीले जनाएको छ ।

हालसम्म प्राप्त जाहेरीका आधारमा १५ लाख रुपैयाँभन्दा बढी ठगी भएको देखिए पनि वास्तविक रकम अझै बढी हुन सक्ने डिएसपी मिश्रले बताए । पीडितहरू जाहेरी दिन आउने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले गिरोहका मुख्य योजनाकार विदेशमा रहेकाले पक्राउ गर्न चुनौती रहे पनि अनुसन्धान गहन ढङ्गले अघि बढाइएको बताए । “पक्राउ परेकाविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ, संलग्न अन्यको खोजी जारी छ” एसपी कटुवालले भने, “अहिले अनलाइन बैङ्किङ ठगी बढेकाले कसैलाई ओटीपी नदिन र कमिसनको लोभमा आफ्नो खाता अरूलाई प्रयोग गर्न नदिन सबैमा आग्रह गर्दछु ।”

प्रहरीले उक्त गिरोहबाट ठगीमा परेका अन्य व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गरी जाहेरी दिनसमेत आग्रह गरेको छ ।