नेपालको अर्थतन्त्र अहिले एउटा गम्भीर विरोधाभासबाट गुज्रिरहेको छ । बैङ्कमा निक्षेप बढिरहेको छ, कर्जा प्रवाह भइरहेको छ, आयात निरन्तर उकालो लागिरहेको छ, तर कृषि उत्पादन घटिरहेको छ र उद्योगहरु आफ्नो आधा क्षमतासमेत उपयोग गर्न नसक्ने अवस्थामा छन् । यो केवल आर्थिक वृद्धिदर घटेको तथ्याङ्क होइन, मुलुकको उत्पादन प्रणाली कमजोर हुँदै गएको सङ्केत हो । नेपाल राष्ट्र बैङ्कको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८२/०८३ ले यही चिन्ताजनक अवस्थालाई उजागर गरेको छ । अघिल्लो आर्थिक वर्ष ४.४३ प्रतिशत रहेको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित हुनु सामान्य उतारचढाव मात्र होइन । कृषि, उद्योग र निर्यातजस्ता अर्थतन्त्रका उत्पादनमूलक आधार कमजोर बन्दै जानुको परिणाम हो । अझ चिन्ताको विषय कृषि उत्पादनमा आएको गिरावट हो । प्रमुख कृषि बालीको उत्पादन ०.८४ प्रतिशतले घटेको छ भने खेती गरिएको क्षेत्रफलसमेत १.५६ प्रतिशतले खुम्चिएको छ । कृषिप्रधान मुलुक भनिने नेपालमा खेतीयोग्य जमिन बाँझिँदै जानु, उत्पादन घट्नु र खाद्यान्न तथा कृषिउपजका लागि आयातमा निर्भरता बढ्नु राष्ट्रिय अर्थतन्त्रका लागि गम्भीर चुनौती हो । कृषिमा युवाको आकर्षण घट्नु, श्रमिक अभाव, उत्पादन लागत वृद्धि, सिँचाइको असुविधा, बजारको अनिश्चितता र बिचौलियाको प्रभावले किसान निरूत्साहित छन् । कृषि उत्पादनलाई सम्मानजनक आम्दानीसँग जोड्न नसक्दासम्म यो क्षेत्रको सुधार सम्भव छैन ।

औद्योगिक क्षेत्रको अवस्था झन् निराशाजनक छ । राष्ट्र बैङ्कको अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा झर्नुले उपलब्ध औद्योगिक संरचनाको आधाभन्दा बढी क्षमता उपयोगविहीन रहेको देखाउँछ । उद्योगमा लगानी भएर पनि उत्पादन नबढ्नुको अर्थ लगानीको प्रतिफल कमजोर हुनु हो । महँगो उत्पादन लागत, ऊर्जा तथा कच्चापदार्थको समस्या, बजारको अनिश्चितता, नीतिगत अस्थिरता र आयातित वस्तुसँगको प्रतिस्पर्धाले स्वदेशी उद्योगलाई दबावमा पारेको छ । उद्योग खोल्ने वातावरणभन्दा उद्योग टिकाउने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो । वैदेशिक व्यापारको तथ्याङ्कले पनि अर्थतन्त्रको कमजोर धरातल देखाउँछ । गत आर्थिक वर्ष निर्यात १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ । तर आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब रूपैयाँ नाघेको छ । अर्कोतर्फ, बैङ्क तथा वित्तीय संस्थामा निक्षेप १२.७२ प्रतिशतले बढ्दा कर्जा प्रवाह ६.५५ प्रतिशतले मात्र बढेको छ । बैङ्कमा पैसा थुप्रिनु तर उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार नहुनु पनि अर्थतन्त्रको अर्को समस्या हो । वित्तीय स्रोतलाई कृषि, उद्योग, पर्यटन, ऊर्जा र साना तथा मझौला उद्यममा परिचालन गर्न नसक्दा आर्थिक गतिविधि विस्तार हुन सक्दैन । कर्जा प्रवाहको परिमाणभन्दा त्यसले उत्पादन र रोजगारीमा पुर्‍याएको योगदान महङ्खवपूर्ण हुनुपर्दछ ।

यस्तो अवस्थामा सरकारको प्राथमिकता बजेट खर्चको प्रतिशत देखाउनेभन्दा खर्चको प्रभावकारिता बढाउने हुनुपर्दछ । संशोधित बजेटको ९३.७१ प्रतिशत खर्च भएको तथ्याङ्क आफैमा उपलब्धि होइन । खर्च भएको रकमले कति उत्पादन बढायो, कति रोजगारी सिर्जना गर्‍यो र कति आयात प्रतिस्थापन गर्‍यो भन्ने प्रश्न महङ्खवपूर्ण हो । पुँजीगत खर्चको गुणस्तर र त्यसबाट प्राप्त प्रतिफलको मूल्याङ्कन नगरी बजेट खर्चलाई आर्थिक उपलब्धि मान्न सकिँदैन । अहिले मुलुकलाई भाषणमा समृद्धि र व्यवहारमा आयातमुखी अर्थतन्त्र होइन, उत्पादनमा आधारित आर्थिक नीति चाहिएको छ । कृषिमा व्यावसायिकता, उद्योगमा प्रविधि र लगानी, निर्यातमा प्रतिस्पर्धी क्षमता तथा रोजगारी सिर्जनालाई एउटै आर्थिक रणनीतिमा जोड्नुपर्दछ । किसानले उत्पादनको उचित मूल्य पाउने, उद्योगीले लगानीको सुरक्षा र नीतिगत स्थिरता पाउने तथा युवाले स्वदेशमै रोजगारीको अवसर पाउने वातावरण निर्माण गर्नुपर्दछ । राष्ट्र बैङ्कको प्रतिवेदनले दिएको सन्देश अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनको आधार बलियो बनाउनुपर्दछ भन्ने हो । सरकारको सफलता बजेटको आकार, खर्चको प्रतिशत र आर्थिक वृद्धिको लक्ष्यमा होइन, किसानको खेतमा कति उत्पादन बढ्यो, उद्योगमा कति रोजगारी थपियो र स्वदेशी वस्तुको बजार हिस्सा कति विस्तार भयो भन्ने आधारमा मापन गरिनु पर्दछ । अबको आर्थिक बहस उत्पादन बढाउने कि आयात बढाउने भन्ने प्रश्नको स्पष्ट जवाफबाट सुरू उचित हुनेछ । उत्पादन बढाउने अर्थतन्त्र निर्माण नगरी समृद्धिको नारा सार्थक हुन सक्दैन ।