काठमाडौँ । सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने नीतिअनुसार सरकारले नीतिगत तथा संस्थागत पहल थालेको हो । नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको बताइन् ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको छ । त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत कोषमा आबद्ध गराउन सरकारले सहयोग गर्ने व्यवस्था अघि बढाएको छ । स्थानीय तहको सहयोगमा कोषमा आबद्ध हुने श्रमिकका लागि हालसम्म एक प्रतिशत बराबरको योगदान सरकारले जम्मा गरिदिने व्यवस्था गरिएको मन्त्री बादीले जानकारी दिइन् ।

मन्त्री बादीले सामाजिक सुरक्षा प्रणालीको विस्तारसँगै विभिन्न निकाय र क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्नुपर्नेमा जोड दिइन् । सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउनुका साथै कोषको संस्थागत क्षमता विकास गर्नु सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिएको लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीले बताइन् । हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन् । कोषमा एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ ।

संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गर्नुपर्ने बताइन् । यसबाट नागरिकको जीवनचक्रमा आधारित सामाजिक संरक्षण सुनिश्चित गर्न सकिने उनको भनाइ थियो । यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता ः वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नाराका साथ मनाइएको हो ।