विजयपुर । सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनाको छानबिन समितिले अनुमतिबिना सञ्चालित पानीबोटलाई यात्रु ओसारपसारमा तत्काल रोक लगाउन सिफारिस गरेको छ ।

कोशी प्रदेश सरकारद्वारा प्रदेश सचिव अस्मान तामाङको संयोजकत्वमा गठित पानीबोट दुर्घटना छानबिन समितिले जलयात्रासम्बन्धी कानुनी प्रक्रिया पूरा नगरी पानीबोट सञ्चालन भइरहेको र प्रभावकारी नियमन तथा अनुगमनको अभाव रहेको निष्कर्ष निकाल्दै समितिले अनुमति प्राप्त गरेपछि मात्रै यात्रु बोक्न पाउने व्यवस्था गर्न सुझाव दिएको हो ।

समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको प्रतिवेदनमा दुर्घटनाको प्रमुख सम्भावित कारण क्षमताभन्दा बढी यात्रु सवार हुनु, सुरक्षा मापदण्ड पालना नहुनु र नियमन तथा अनुगमनको अभावलाई औँल्याएको छ । प्रतिवेदनले पानीबोटको प्राविधिक अवस्था, चालकको दक्षता, सुरक्षा उपकरणको उपलब्धता र कानुनी व्यवस्थाको कार्यान्वयनमा समेत कमजोरी देखाएको छ ।

समितिले जलयात्रा नियमावली, २०६३ बमोजिम सम्बन्धित कम्पनी तथा संस्थालाई तीन महिनाभित्र सञ्चालन अनुमतिपत्र लिन निर्देशन दिनुपर्ने र अनुमति प्राप्त नगरेसम्म यात्रु ओसारपसारमा रोक लगाउनुपर्ने सिफारिस गरेको छ । प्रतिवेदनको कार्यान्वयन कार्यतालिकामा अनुमतिपत्र नलिएका पानीबोट सञ्चालनमा रोक लगाउने जिम्मेवारी सम्बन्धित स्थानीय प्रशासनलाई तोकिएको छ ।

समितिको अध्ययनअनुसार सप्तकोशीमा पानीबोट सञ्चालन गर्ने कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि सबैले सम्बन्धित निकायबाट आवश्यक सञ्चालन अनुमति लिएका छैनन् । दुर्घटनामा परेको बराह त्रिवेणी जल यातायात प्रालिले जलयात्रा नियमावली, २०६३ बमोजिम सम्बन्धित निकाय तथा बराहक्षेत्र नगरपालिकाबाट समेत व्यवसाय सञ्चालनको अनुमतिपत्र लिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

बराहक्षेत्र नगरपालिकामा व्यवसाय दर्ता भएका केही कम्पनीले पर्यटन बोर्डबाट सञ्चालन इजाजत लिएको देखिए पनि सबै पानीबोटको दर्ता, अनुमति र सञ्चालन अवस्थाबारे नियमित अनुगमन हुन नसकेको समितिको निष्कर्ष छ । नगरपालिकाका अनुसार सप्तकोशी नदीमा २० वटाभन्दा बढी मोटरबोट सञ्चालनमा छन् । समितिले सञ्चालनमा रहेका सबै पानीबोट तथा व्यवसायीको विवरण सङ्कलन र अभिलेखीकरण गर्नसमेत सुझाव दिएको छ ।

दुर्घटनाग्रस्त पानीबोटको भारवहन क्षमता प्रतिवेदनमा ४५० देखि ६८० किलोग्रामसम्म रहेको उल्लेख छ । तर, बालबालिकासहित १५ जना सवार हुँदा यात्रुहरूको अनुमानित तौल बोटको क्षमताभन्दा बढी भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ । क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्दा बोटको सन्तुलन बिग्रिएको हुन सक्ने समितिको विश्लेषण छ ।

त्यस्तै, इन्जिन अचानक बन्द हुनु, सुरक्षा उपकरणको पर्याप्त व्यवस्था नहुनु र चालकको दक्षतामा कमजोरी हुनुलाई पनि दुर्घटनाका सम्भावित कारण मानिएको छ । दुर्घटनाको यकिन यान्त्रिक तथा प्राविधिक कारण भने पानीबोट नदीमा डुबेर बेपत्ता भएकाले पत्ता लगाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

यात्रुको सुरक्षाका लागि आवश्यक उपकरण, बालबालिकाका लागि उपयुक्त लाइफ ज्याकेट तथा चालकको तालिम र दक्षतामा समेत कमजोरी देखिएको छ । दुर्घटनामा घाइते भएकी तीर्थकुमारी मगरले आफ्नो सात वर्षीय छोराका लागि लाइफ ज्याकेटको व्यवस्था नभएको बयान समितिलाई दिएकी थिइन् । आफूले लाइफ ज्याकेट लगाए पनि छोराका लागि उपलब्ध नभएको उनको भनाइ प्रतिवेदनमा समेटिएको छ ।

समितिले जलयात्रासम्बन्धी कानुनी व्यवस्थामा समेत स्पष्टताको अभाव रहेको औँल्याएको छ । पर्यटन ऐन, २०३५ अन्तर्गत बनेको जलयात्रा नियमावली, २०६३ ले मनोरञ्जन तथा दृश्यावलोकनका लागि गरिने जलयात्रालाई समेटे पनि सर्वसाधारणबाट भाडा लिएर नियमित रूपमा एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने सेवाका लागि पर्याप्त कानुनी व्यवस्था नभएको प्रतिवेदनमा उल्लेख छ ।

जलयात्रा सञ्चालनलाई व्यवस्थित र एकरूप बनाउन संघीय सरकारले छाता कानुन निर्माण गर्नुपर्ने तथा त्यसका लागि कोशी प्रदेश सरकारले संघीय सरकारको सम्बन्धित विषयगत समितिमा प्रस्ताव पेश गर्नुपर्ने समितिको सुझाव छ । प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहबाट जलयात्रासम्बन्धी थप कानुनी व्यवस्था नहुँदासम्म संघीय सरकारले जारी गरेको जलयात्रा नियमावली, २०६३ का प्रावधान पालना गरेर मात्रै सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, सञ्चालनमा रहेका सबै पानीबोटको दर्ता, अनुमतिपत्र, बीमा, चालकको योग्यता र प्राविधिक अवस्थाको तत्काल परीक्षण गर्न समितिले सिफारिस गरेको छ । दुर्घटनामा मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषयमा प्रदेश मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गर्न पनि सुझाव दिइएको छ ।

२०८३ कात्तिक ५ गते भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरातर्फ यात्रु लिएर आउँदै गरेको बराह त्रिवेणी जल यातायात प्रालिको आउटबोर्ड मोटर (ओबीएम) पानीबोट धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको, तीन जना बेपत्ता भएको र आठ जनाको सकुशल उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको थियो ।

कोशी प्रदेश मन्त्रिपरिषद्को २०८३ कात्तिक १० गतेको निर्णयअनुसार गठित समितिले स्थलगत अध्ययन, सरोकारवालासँगको छलफल, उद्धारकर्ता तथा व्यवसायीको बयान र उपलब्ध कागजातको अध्ययनपछि प्रतिवेदन तयार पारेको हो ।