विजयपुर । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभा शनिबार सुनसरीको इटहरीमा आयोजना हुने भएको छ ।
गुरुङ समुदायको पहिचान, संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको हो । परिषद्का महासचिव अधिवक्ता राजु गुरुङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार ‘हाम्रो गौरव, अमूल्य सम्पदा हाम्रो पहिचान, संरक्षण र पुस्तान्तरणका लागि १५औँ पार्षदसभा अभियान’ भन्ने मूल नारासहित कार्यक्रम हुन लागेको हो।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा हुने सभाको उद्घाटन गृहमन्त्री सुदन गुरुङले गर्ने कार्यक्रम छ। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति रहने परिषद्ले जनाएको छ।
सभामा सातवटै प्रदेश कार्यसमिति, ६८ जिल्ला कार्यसमिति, मातृसंस्थाका प्रतिनिधि तथा पेसागत र विशेष संस्थाका प्रतिनिधिसहित करिब ३२० जनाको सहभागिता रहनेछ। परिषद्को केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रमको व्यवस्थापन सुनसरी जिल्ला कार्यसमितिले गर्नेछ।
सभामा गुरुङ समुदायको भाषा, संस्कृति, इतिहास, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणका विषयमा विशेष छलफल गरिनेछ। साथै, प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका गुरुङ समुदायका संस्था र संरचनाहरूको पहिचान गरी तिनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयले पनि प्राथमिकता पाउनेछ।
यसैगरी, गुरुङ समुदायको भाषा, संस्कृति र इतिहासको अध्ययन तथा संरक्षणका लागि विभिन्न स्थानमा स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने प्रस्तावमाथि नीतिगत छलफल गरिने भएको छ। जसअनुसार कोशी प्रदेशमा रोदी स्रोत केन्द्र तथा संग्रहालय, बागमती प्रदेशको चितवनमा खेमा स्रोत केन्द्र तथा संग्रहालय र गण्डकी प्रदेशको कास्कीमा तमु अन्तर्राष्ट्रिय सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने अवधारणा अघि सारिएको छ।
नेपालका विभिन्न स्थानमा रहेका गुरुङ समुदायका संस्था तथा विदेशमा क्रियाशील गुरुङ संघसंस्थालाई समेत समेटेर समुदायको साझा पहिचान, एकता र अधिकारको प्रवर्द्धन गर्नुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य परिषद्ले लिएको छ।

































