इटहरी/ नदीमा माछा पाउन छाडेपछि यहाँ सयौंको सङ्ख्यामा रहेका माझीहरू अन्य पेशा अपनाउन थालेका छन् ।
पुख्र्यौली पेशाबाट दैनिकी नचलेपछि माझीहरू पनि खेतीपाती, मजदुरी र परदेशतिर जान थालेका हुन् । कोशी नदीको किनारमा बस्दै आएका माझीहरू वैकल्पिक पेशाको खोजीमा छन् । कोशी नदीमा लामो समयदेखि माछा मार्दै आएका सत्यनारायण माझी पूख्र्यौली पेशा सङ्कटमा परेको बताउँछन् । ‘अहिले खोलामा माछा कमै मात्र पाउँछ, हामीले दिनभरि खोलामै बिताउँदा पनि एक किलो माछासमेत पाउन छाड्यौं, कमाइ पनि ठप्प छ,’ माझीले भने । माछा मार्ने काम ठप्प भएपछि माझी युवाहरू जाल, थकौली र बल्छी थन्क्याएर रोजगारीका लागि देशपरदेश जान थालेको उनी बताउँछन् ।
धेरै जसो माझीहरू अहिले खेतीपातीमा लागेका छन् । जग्गा नभएकाहरू पनि नदी किनारबाट माथिल्लो क्षेत्रमा जग्गा भाडामा लिएर, अधियाँ, कुदियाँ तथा बन्धकी लिएर खेती गर्न थालेका छन् । पुख्र्यौली पेशा मासिएपछि माझीहरूलाई गुजारा चलाउन विकल्पका रूपमा अन्य पेशा अपनाउनु परेको बदमबहादुर माझी बताउँछन् । माझी समुदायको केन्द्रीय महासचिबसमेत रहेका माझी भन्छन्, ‘नाउ तार्ने ठाउँमा पुल बन्यो नदीमा माछा छैन ।
डुङ्गा चल्ने घाटहरूमा पुल, नदी किनारसम्मै मोटरबाटोसमेत पुग्न थालेपछि माझीको पुख्र्यौली पेशा जोखिममा परेको वराहक्षेत्रका स्थानीय जनप्रतिनिधिसमेत रहेका शेषराज माझी बताउँछन् । माझीहरूको आफ्नै खेतीपाती गर्ने जग्गा जमिन छैन,’ उनले भने । परम्परागतरूपमा डुङ्गा तार्ने र माछा मार्ने पेशा अँगाल्ने माझीहरूका दुई वटै पेशा विस्थापित हुँदै गएपछि माझीहरूको अवस्था भने दयनीय बनेको छ । लोप हुने अवस्थामा पुगेका माझीहरूलाई पनि राज्यले उचित शिक्षादीक्षा र समान अवसर दिएर न्याय गर्नुपर्ने उनी बताउँछन् ।
सुनसरीमा करीब ४ हजार माझी बरोजगार भएको बताउँछन् । माझी उत्थान समाज सुनसरीका कार्यवाहक अध्यक्ष घनश्याम माझी । उनी भन्छन्, ‘माछा मार्ने, डुङ्गा चलाउने, डुङ्गा बनाउने, भारी बोक्ने आदि काम गर्दै आएका यहाँका माझीहरू पुख्र्यौलीरूपमा गर्दै आएका ती पेशा मासिँदै जाँदा जीविकोपार्जन मै समस्या हुन थालेको छ । उनीहरू खेतीपाती र अन्य रोजगारीका लागि बसाइँ सर्न थालेका छन् । यहाँका माझीहरू खोलामा माछा मार्ने, डुङ्गा चलाएर बाटो हिँड्ने मानिसहरूलाई वारिपारि तार्ने, भारी वारिपारि तारिदिएर गुजारा चलाउँदै आएका थिए ।
































