उर्लाबारी/ नगरमा चार सय सिटी सफारी चालकका बीचमा दैनिक कर्म गरेर जीविकोपार्जन गर्दै आएकी ३२ वर्षीया दिलकुमारी लावती (राई)लाई परिस्थितिले सफारी चालक बनाएको छ ।

दैनिकी चलाउने अन्य कुनै विकल्प नभएपछि बाध्य भएर सिटी सफारी चलाउने विकल्प रोजेको उनको भनाइ रहेको छ । जागिरका लागि दर्जनौं कार्यालय, सङ्घ–संस्था धाउँदा पनि जागिर नपाएपछि चालकसम्बन्धी कुनै ज्ञान नभए पनि सफारी चलाएर भए पनि जीविकोपार्जन गर्ने निर्णयमा पुगेर ६ महिनाअघिदेखि उर्लाबारीका सडकमा उनी सिटी सफारी चालकको रूपमा व्यस्त भएकी छन् ।

जन्मेको ४ वर्षको उमेरमा दायाँ खुट्टाको गेडी फुस्किएर अपाङ्ग बनेकी दिलकुमारीले सिटी चलाएको देखेर शुरुका दिनहरूमा नगरमा धेरै सहकर्मीहरूले असम्भव ठानेका थिए तर आज उनीप्रति सबैको सहयोग र सद्भावले गर्दा यतिबेला अन्य सहकर्मीहरू उनीप्रति सहयोगी बनेका छन् ।

सङ्खुवासभाको खाँदबारी स्थायी घर भएका ४३ वर्षीय दिलकुमार राईसँग एक दशकअघि वैवाहिक जीवनमा बाँधिएकी दिलकुमारीका जीवनमा सधैँ दुःख मात्र आयो । दुःखका बीच जन्मेकी छोरीको नाम खुशी राखेर सधैँ खुशी बन्ने प्रण गरे । वैवाहिक जीवनमा बाँधिएका राई दम्पतीको अन्यभन्दा फरक प्रकृतिको प्रेम कहानी रहेको उनले सुनाइन् ।

मोरङको याङ्शिलामा माओवादी क्याम्प रहेको समयमा आफ्नो साथीलाई लगाएको मोबाइल फोन पाँचथरको मिक्लाजुङमा रहेकी दिलकुमारीको मोबाइलमा पुगेपछि शुरु भएको फोन संवाद अन्ततः प्रेममा रूपान्तरण भई विवाह भएको उनले सुनाइन् । सिधा हिँड्न नसक्ने दिलकुमारले जीवनसाथी स्वीकार गरेको र आजसम्म कहिले पनि अपाङ्ग भएका कारण परिवारबाट उपेक्षा नगरेको दिलकुमारीले बताइन् ।

नेपाली सेनामा कार्यरत रहेको समयमै तत्कालीन नेकपा (माओवादी) को जनमुक्ति सेनामा भर्ना भई शान्ति प्रक्रिया आएपछि सेना समायोजनपश्चात् आर्थिक प्याकेज लिई जीविकोपार्जनमा लागेको राई परिवार त्यसमा पनि खुशी हुन सकेन । राई दम्पतीले उर्लाबारीमा सञ्चालन गरेको होटल व्यवसायले तीन वर्षमा पनि स्थायित्व लिन नसकेपछि दिलकुमार वैदेशिक रोजगारीका लागि विदेश गए भने अपाङ्ग दिलकुमारी भने उर्लाबारीमा रोजगारीका लागि भौंतारिइहेकी थिइन् ।

गर्दा के हुँदैन र ? भन्ने अठोटका साथ सिटी सफारी चलाएर जीविकोपार्जन गर्ने उद्देश्य बोकेर स्थानीय जीवन विकास संस्था उर्लाबारीसँग १ लाख ५० हजार कर्जा लिइन् र सेकेण्डहेण्ड सफारी त खरिद गरिन् तर उनी बसेको घरसम्म पनि अर्कै व्यक्तिले चलाएर ल्याइदियो त्यो सिटी । चालकसम्बन्धी आवश्यक ज्ञान नभए पनि चलाउन सक्ने आँट भएकी दिलकुमारीलाई सिटी सफारी मजदुर सङ्घ उर्लाबारीका नगर अध्यक्ष शिव अधिकारीले साथ दिए र एक हप्ताको अवधिमा चलाउन सक्ने बनाएर रुटसमेत प्रदान गरे ।

एउटी अपाङ्गता भएकी महिलाले केही गर्छु भनेर सहयोग माग्दा आफूले सहयोग गरेको बताउँदै अध्यक्ष अधिकारीले विगत ६ महिनादेखि निर्धक्क भएर नगरका सबै स्थानहरूमा सिटी कुदाउँदै आएको बताएका छन् ।

दैनिक न्यूनतम् ५ सयदेखि अधिकतम् एक हजार ५ सय रुपैयाँ आम्दानी हुने अनुभव सुनाउँदै काम पाइँन भनेर समय खेर फाल्नुभन्दा जे सकिन्छ, त्यही काम गरे हुने कुरा बेरोजगार सबैलाई सुझावसमेत दिएकी छन् । वैदेशिक रोजगारीमा गएका श्रीमान्को कमाइले होटल व्यवसाय गर्दा लागेको ऋण तिर्र्र्दै गरेको र आफ्नो कमाइले संस्थाको ऋण, छोरीलाई पशुपति बोर्डिङ उर्लाबारीमा पढाउन र घरखर्च पुर्याउँदै आएको दिलकुमारीले बताइन् ।

सिटी सफारी मजदुर सङ्घका नगरअध्यक्ष अधिकारीले नगरमा अहिले ४ सय १८ वटा सिटी रहेकामा ६ वटामा मात्र महिला चालक रहेको बताएका छन् । महिला चालक पुरुषको तुलनामा अलि बढी अनुशासित भएका कारण पनि यात्रुले विश्वास गर्ने गरेको अनुभव दिलकुमारीको रहेको छ ।