जुनबेला जनताले आफ्नो हातमा सबैभन्दा बलियो हतियार अझै साँध लगाएर उचालेका थिए । त्यो बेलामा सबै कुरा सुनिसकेर त्यो हतियार प्रयोग गर्ने गरी बसेका जनता जब आफ्ना कबोलको तमसुक लिएर जनता अगाडि आउँदै थिए । पार्टीहरू भन्दै थिए । जनता हो, हामी तपाईहरूलाई दिगो सरकार दिन्छौँ । हामीहरू तपाईहरूलाई राम्रो सुशासन दिन्छौँ । अनि दिन्छौं समृद्धि सुखी नेपाली बनाउँछौं । अब देशले समृद्धि हासिल गर्छ ।
हामी अब देशमा भोकभोकै मर्न दिँदैनौँ नेपाली जनतालाई । हामीलाई विश्वस्त गर्नुहोस् । अब हामीले साँच्चिकै सुशासन कायम गरेर छाड्छौंँ भनेर त्यो हतियारको प्रयोग आफ्नो पक्षमा गर्न अनुरोध गरेको तपाईंहरूले । तपाईंहरूको वाचा सुनेर नेपाली जनता यो वाचा कबोलको पक्षमा आफ्नो सबभन्दा बलियो हतियार ५ वर्षको लागि प्रयोग गरिदिए । जनताले उठाएको त्यो निर्णयको हतियारलाई आफूले मागेका थिए । त्यो प्राप्त भयो ।
नेपाली जनताले आफ्नो यात्रामा लामो समयसम्म कुशासन मात्रै खेपेका सुशासन भन्ने बित्तिकै जुरमुराएर सुशासन पाउनलाई आँखा चिम्लिएर दुईहात उठाएर त्यसको समर्थन गरेका थिए र जनता भन्दै थिए । साँच्ची नै अब हाम्रो देशमा पनि सुशासन भित्रिने भयो भन्दै हर्षले गद्गद भएर त्यो प्रयोग गरेका जनता आज सुशासनको गन्ध कस्तो हुन्छ भनेर हेर्दाहेर्दै निर्मला जस्ता थुप्रै किशोरीले जीवन गुमाए । अनि तिनै हिजोका जहिले पनि जनतालाई तिध्रा पाखुरा देखाएर जनतालाई छक्याउनेहरू र तर्साउनेहरू अहिले पनि त्यत्तिकै छक्याउँदै छन् । अहिले पनि जनतालाई त्राहीमाम पार्दै छन् । खोइ, हिजोको त्यो कबुल तिमी आफैले गरेको कबुल तिमीहरूले बिर्सियौ होला तर जनताले बिर्सेका छैनन् । तिमीले जनतालाई किन यसरी झुक्यायौ ? हिजो जति सक्ने हो, त्यत्ति मात्रै गर्छु भन्दा बिग्रिहाल्दैनथ्यो होला त ?
त्यो बेला तिमीहरूले भनेका थियौ, तपाईंहरू हामीलाई भोट दिनुहोस् । हामी तपाईहरूलाई दिगो सरकार दिन्छौँ । जनताले भोट हाले तपाईंहरूले ५ वर्ष ढुङ्गामा पछार्दा पनि केही नहुने दिगो सरकार पाउनुभएको छ । त्यति मात्रै हैन । तपाईहरूसँग अहिलेको संविधानमा भएका अप्ठ्यारा जति सबै फेरेर सजिलो बनाउन सक्ने गरिको मत बोकेको छ । त्यो मत हामीले तिमीहरूलाई दिएका छौँ । त्यो हामीले दिगो सरकार र सुशासनका लागि दिएका थियौँ । दिगो सरकार पाएपछि अब केले रोक्यो सुशासनलाई ?
हामी देशमा भ्रष्टाचार हुन दिँदैनौं भनेर त्यत्रो ठूला–ठूला स्वरमा चिच्याई चिच्याई कराएर आफ्नो तमसुकको कबुल सुनाएका थियौ । हामी पनि त्यसको साक्षी बसेका थियौँ । तर आज खोइ, त्यो गरेको कबुल दिगम्बर झा जस्ता भ्रष्टचारी तपाईहरूकै हातले फेरि नियुक्ति भएका छन् । त्यहाँ तपाईहरूसँग उसको के सौदाबाजी भयो र ? हुन त उसले राजीनामा दियो होला । त्यो तपाईहरूको कारणले होइन राजीनामा दिएको । त्यो जनताकै कारणले हो । हिजो यो देशका कर्मचारीलाई बिना स्वीकृति विदेश भ्रमण गर्न नदिने भनेर जनतासँग कबोल गरेका थियौ । तर आज सयौँको सङ्ख्यामा राष्ट्रिय ढिकुटी खर्चेर विदेश भ्रमणमा गएका छन् । सरकार जनता त्यसको साक्षी बसेका छ् । हिजो एउटी १५ वर्षीया किशोरी बलात्कार हुँदा त्यो बलात्कारीलाई आर्थिक लेनदेन गरेर बचाउने आफ्नै रोहवरमा जबरजस्ती अभिभावकलाई मिल्न लगाउने त्यसको अपराधमा संलग्न प्रहरी राष्ट्रपतिको हातबाट पुरस्कार दिन सिफारिस गरेका छौ । जनतालाई दिन खोजेको सुशासनको अर्थ यही हो ?
भरखर मात्रै युनिभर्सल पिसले नेपालमा एउटा कार्यक्रम ग¥यो । त्यो एउटा आइ.एन.जि.ओ. रहेछ । त्यो पनि संसारमै विवादमा मुछिएको । त्यसको सम्मेलन नेपालमा भयो । यो नेपालमा हुन सक्थ्यो । त्यो स्वतन्त्रपूर्वक उसले गरेको भए । तर त्यस्ले गरिने सम्मेलनमा देशका प्रधानमन्त्री जस्ले एन.जी.ओ. र आई.एन.जी.ओ. लाई नियन्त्रण गर्छु भन्ने प्रधानमन्त्री कसरी आफै त्यसको नियन्त्रणमा फस्न पुगे । खोइ तपाईंको राष्ट्रियता किन यसरी स्व–स्खलित भइरहेको छ । त्यो दक्षिण–पूर्वी एशियामा कुनै पनि देशले यसको सम्मेलन गर्न अस्वीकार गरेका थिए होला । अनि हाम्रो जस्तो संसारले स्वच्छ छवि प्रस्तुत गर्न हिजो सफल भएका प्रधानमन्त्रीले आज मर्ने बेलामा हरियो काँक्रो भने जस्तै यो के गरेको ? जब आयोजक कि त्यो महिलाले आफूलाई परमेश्वरको छोरी हुँ भन्दै आज मेरै कारणले शान्ति छाएको छ, भन्दै पाखण्ड कुरा गरेपछि त्यहीँ बसेर हाम्रा दुई तिहाइ सरकारका मानिसले गडड ताली बजाएको सुनेपछि नेपाली जनताको शिर निहुरिएको थियो । तर तपाईहरू कसैले पनि निधार खुम्च्याउनु भएन । अनि पछुतो पनि भएन । तपाईहरूको मुहार हाँसिरहँदा नेपाली जनताको हृदय रोइरहेको थियो ।
अहिले नेपाली जनताको पिर त्यसमा हो । जसले हिजो नाकाबन्दीको बेला दुनियाँले देख्नेगरी शिर ठाडो पारेर नेपाली जनतालाई स्वाभिमानको ज्ञान दिए । अनि हामी नेपाली जनता गरिब छौँ । तर कसैका दाश होइनौँ भन्ने सिकाएका थियौँ । हाम्रो देश सानो छ तर कसैको भाइ होइन । हामी स्वतन्त्र देशका स्वभिमानी नागरिक हौँ । सिंह भोकले मर्न सक्छ तर घाँस खाँदैन भने जस्तै हामी सानै देशका नागरिक भए पनि कसैका अगाडि टाउको झुकाएर, कायर भने होइनौँ भन्ने परिचय तपाईकै कारणले बनाएका जनता आज तपाई को यो कामले तपाईंको छवि स्खलित भएको हाम्रो लागि सह्य थिएन । तिनीहरूले यस्तै–यस्तै गरेको भए जसको हिजो पनि राष्ट्रपतिमा कुनै जिम्मेवारी बोध थिएन । विदेशी शक्तिकोे अगाडि हजारौं पटक टाउको झुकाएर आफ्ना मालिकको आज्ञा शिरोपर गरि रहेका थिए । तिनीहरूले यस्तै गरे पनि जे सुकै गरे पनि कागलाई बेल पाक्यो, हर्ष न विस्मात हुने थियो । तर नेपाली जनताले जसलाई यति ठूलो विश्वास गरे, उही मानिसको यो अवस्था देखेपछि अब कहाँ बिसाउने नेपाली जनताले मन ।
जुनबेला नेपाली जनताको हातमा एउटा निर्णयको बलियो ब्यालेट बोकेर लाइनमा उभिएका थिए । त्यो बेला सबैले त्यही कबोल सम्झिँदै प्रफुल्ल थिए । सुशासन दिगो सरकार चिरस्थायी सुखी नेपाली, समृद्ध नेपाल सम्झँदै थिए । सुखी नेपाली त्यो बेला हुनेछ, जब कोही नेपालीका छोरा छोरी पढ्न नपाएर जङ्गलमा बाख्रा चराउन, डबलीमा गाई गोठालो भएर जानु पर्दैन । सबै नेपालीका सन्तान पुस्तक र कलम बोकेर स्कुल जान्छन् । कुनै नागरिक बिरामी भएर जस्तोसुकै स्वास्थ्यसम्बन्धी सुविधा घरमै पाउनेछन् । अथवा आफ्नो नजिकै उपचार पाउँछन् भन्ने थियो । कसैले आज मैले के खाने, भोलि जाडोमा मैले के लगाउने भन्ने हुँदैन । आज मेरो भाँडो रित्तो भएको छ भन्ने पनि हुँदैन् । अनि सबै नेपाली जनताको आँगनमा एउटा एउटा गाडी हुनेछ । सबै नेपाली जनताको घरमा इन्टरनेट हुनेछ । नेपालका सबै नदीमा विजुलीका पावर हाउस हुनेछन् । नेपालमा राम्रा–राम्रा रिसोर्ट हुनेछन् । त्यहाँ कहीँ रोप–वे अब कही विद्युतीय बस, कतै साना–साना रेलगाडी पुग्नेछन् ।
हामीले कहिले तारा देख्न पाउनेछौँ । हामीलाई त्यहीँ ब्यालेट समाएको बेलामा बाँधेको वाचा त्यही थियो । हामीलाई समृद्धिको तपाईले गरेको कबुल त्यही थियो । तर खोइ त्यो वाचा, खोइ त्यो कबुल । तपाई सरकारमा बस्नेहरूले बुझ्नु पर्छ । एउटा हिउँदले कहिल्यै जाडो जाँदैन् । दिन त फेरि फर्केर पनि आउँछ । सम्झनुहोस् आफ्ना कबोलहरू अहिले पनि धेरै बिग्रिएको छैन । अब इमान जमान सम्झेर फर्कनुहोस् । तपाईले अब पनि अटेर गर्ने हो भने समयले कसैलाई पर्खेर बस्दैन । हिजो तपाईहरूको नाम सुन्दा खुुशीले उफ्रने अनुहार भोलि निधार खुम्च्याएर थुइक्क गरेर थुक्ने अवस्था नबनाउनुहोस् । सायद अहिले सपनामा हुनुहोला । नेपाली सचेत नागरिक, हामी सबै मिलेर ब्युँझने गरी पानी खन्याउन तयार छौँ । अहिले नै कसैले यो सबै काम गर्न सक्दैन भन्ने नेपाली जनताले बुझेका छन् । त्यसैले अहिले पनि आफ्नो कबोल सम्झिएर फर्कनु पर्छ । अब पनि बेर भयो भने पछुतो हुनुसिवाय अर्को उपाय बाँकी रहने छैन ।