काठमाडौं/ आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएका थिए । यी मध्ये खरेल र खनाल जनताका प्रिय प्रहरीको रुपमा चिनिइसकेका छन् ।

नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अब दुई साता मात्र बाँकी छ । प्रहरी महानिरीक्षक (आईजीपी) का लागि सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नाम चयन गर्ने अन्तिम तयारीमा रहेको छ ।

जनआकांक्षा अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै जना जनप्रिय प्रहरी अधिकारी खरेल र खनाललाई प्रहरी महानिरिक्षक (आईजीपी) बनाउने चतुर निर्णय लिएका छन् ।

अहिले सरकारले रमेश खरेललाई जिम्मेवारी दिने र उनी सेवा अवधिका कारण खनालभन्दा एक बर्षपहिले अवकाश पाउने भएकाले उनको अवकाशपछि सर्वेन्द्र खनाललाई जिम्मेवारी दिने गरी सबैको मन बुझाइसकेको जनाइएको छ ।

वरीयताका आधारमा अहिले सर्वेन्द्र खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ २०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।

उनी १ फागुन २०४५ मा नै असईबाट प्रहरी सेवा प्रवेश गरेका कारण खनाल र कार्की भन्दा अगाडी नै सेवा अवधिका कारण अवकास लिन्छन् । तर खरेलपनि खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए ।

खरेलकोे अवकाशपछि २०७५ फागुन १ पछि खनाललाई आईजीपी बनाउने बचनका साथ ओलीले प्रहरी संगठनभित्रपनि मिलाइसकेको बुझिएको छ । खरेल र खनालसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका थिए । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छन् । उनी भने चर्चा मै आउन सकेनन् ।

रमेश खरेल र उत्तम कार्की दुवै जना प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाले उनीहरूले क्रमशः १ फागुन २०७५ र ३० असार २०७५ मा अवकाश पाउनेछन् । यी चारै जना सँगै डीआईजीमा बढुवा भएका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म भने खनालभन्दा खरेल वरिष्ठतामा अगाडि थिए । तर पछि उनलाई पछाडी पारियो । २०७५ मा उनी अवकाश पाएपछि पालो आउनेछ । सर्वेन्द्र खनालको । खनालले पनि छोटो समय नेतृत्व पाउनेछन् ।

नेपाल प्रहरीमा यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने छ । यसअघि प्रकाश अर्याललाई डीआईजीबाटै आईजीपी बनाइएको थियो । गृह मन्त्रालयले हालसम्म कसैलाई पनि विशेष पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) नबनाइसकेकाले यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने भएको हो ।