बेनी/ शारीरिकरूपमा कमजोर हुँदैमा निराश र चिन्तित हुनु पर्दैन बरु मानसिकरूपमा दरलो बन्दै अगाडि बढ्ने हो भने समाजको नै अगुवा बन्न सकिन्छ भन्ने उदाहरण हातखुट्टा कृत्रिम तर दरिलो आत्मबल भएका यहाँका अगुवाले पुष्टि गरेर देखाइदिएका छन् ।
बेनी नगरपालिका–९ की गोरी दर्जीले रूखबाट लडेर खुट्टा गुमाएपछि समाजमा उनलाई ‘लौ तेरो त जीवन नै बर्बाद भयो’ भन्नेहरू धेरै थिए । २०६३ सालमा स्याउला लिन रूख चढ्नुभएकी दर्जी चिप्लिएर जमिनमा खसेपछि उनले आफ्नो भविष्य सकिएको महशुस गरेकी थिइन् । एउटा खुट्टा गुमाएपछि केही वर्ष उनको दैनिकी निकै कष्टकर भएपनि दरिलो आत्मबलका साथ सामाजिक कार्यमा निरन्तर सक्रिय हुन थाले । दलित महिलाकी अगुवासमेत रहेकी दर्जीले दलित तथा महिलासम्बन्धी कार्यक्रममा नियमित उपस्थिति हुन थालेपछि गाउँले समेत उनको साहसबाट दङ्ग पर्न थाले । कृत्रिम खुट्टा प्रयोग भएको समेत अहिले धेरै गाउँलेले पत्तो पाउँदैनन् ।
दर्जीको दरिलो आत्मबल र सक्रियताका कारण गाउँका सामाजिक कार्यमा लागेकाहरूले समेत सहयोग गर्न थालेपछि अहिले उ निकै उत्साहित छिन् । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडा नं. ९बाट मा नेकपा (एमाले)का तर्फबाट दलित महिला सदस्यमा निर्वाचित भएपछि दर्जीलाई पार्टीले नगरकार्यपालिकामा समेत अवसर दिएको छ । जनप्रतिनिधिको भूमिकामा उनले गाउँमा हुने सबै कार्यक्रममा आफ्नो उपस्थिति देखाइन् । “कृत्रिम खुट्टा भए पनि यो लगाउँदा नक्कलीजस्तो लाग्दैन । मेरो सक्रियताले नयाँ पुस्ताले मलाई अपाङ्ग भन्दैनन्”, दर्जीले भनिन् ।
राजनीतिसँगै अपाङ्ग सङ्घ म्याग्दीको कार्यसमिति सदस्य, स्थानीय महिला समूह, दलित सञ्जालमा समेत रहनुभएकी दर्जीले अपाङ्गता भएकालाई समाजमा हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन नसकेको बताइन् । दर्जी जस्तै २०६० साल चैत ७ गते माओवादीले गरेको म्याग्दी आक्रमणका क्रममा बम लागेर एउटा खुट्टा गुमाएका वडा नं.८ का कृष्णप्रसाद श्रेष्ठले कृत्रिम खुट्टाको सहयोगमा सामाजिक संस्थाको कार्यक्रमका साथै घरमै पसल सञ्चालन गरेका छन् । म्याग्दी जिल्ला अदालतमा कार्यरत रहेकै अवस्थामा घाइते रहेका श्रेष्ठले खुट्टा गुमाएपछि राहतका लागि डेढ दशकसम्म प्रयास गरे पनि अझै राहत पाएका छैनन् । “खुट्टा गुमेपछि मैले धेरै पीडा खेप्नुप¥यो, आँसुको नदी नै बग्यो”, श्रेष्ठले भने । राजनीतिक दलमा आबद्ध भएका अपाङ्गता भएकाले धमाधम राहत र सुविधा पाउँदासमेत आफूले निकै संघर्ष गर्नु परेको तर अपाङ्गताको नाममा महालुट भइरहेको उनको भनाइ छ ।
त्यसैगरी सोही नगरपालिकाको वडा नं.८ कै सुसन भण्डारीले पनि बाल्यकालमै खुट्टा गुमाए । सम्पन्न परिवारकी भए पनि सुसनले कृत्रिम खुट्टाको साहारामा बेनीकै माउण्ट एभरेस्ट आवासीय माविबाट राम्रो अङ्कसहित एसएलसी उत्तीर्ण गरी अहिले बिबिएको दोस्रो सेमेष्टरमा अध्ययरत छिन्। “सबै साथीसँग घुलमिल छु, मलाई सबैले मायाँ पनि गर्छन्”, भण्डारीले बताइन्। उच्च शिक्षा अध्ययन गरी निजामती कर्मचारी बन्ने लक्ष्य रहेको बताएकी उनले भनिन् “मैले नक्कली खुट्टा हालेको छु तर हिम्मत हारेको छैन, समाजमा धेरै राम्रो काम गर्ने लक्ष्य बोकेर हिँडेको छु”, । अपाङ्गता भएकाले समेत आफ्नो परिचय लुकाएको देख्दा अचम्म लाग्ने उनको भनाइ छ । बालबालिकालाई शिक्षा, जनचेतनामूलक कार्यका साथै शैक्षिक र विभिन्न सामाजिक कार्यमा समेत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी सुसनले अपाङ्गता मैत्री संरचनाका लागि दबाब दिनुपर्नेमा जोड दिइन् ।
जिल्लामा अपाङ्ग भएकाले एक दशकअगाडिसम्म परिवारको सहयोगमा आवतजावत गर्नुपर्ने अवस्था थियो । उनीहरूलाई कृत्रिम खुट्टालगायत अन्य सामग्री पाउन कठिन थियो तर प्रविधिको विकास भएपछि सजिलै पाउन थालिएको कृत्रिम अङ्गले साङ्गको जस्तै दैनिकी सहज बनाएको अपाङ्ग सङ्घका जिल्ला सचिव सुरेन्द्र खत्रीले बताए । “विगतमा आँसुमै बित्ने दिनहरू अहिले सामाजिक क्षेत्रको अगुवाइमा बित्छन् । हाम्रो पीडालाई समाजले बिस्तारै सुन्दै जान थालेको छ”, खत्रीले भने । २०६३ सालमा बेवारिसे बम विस्फोटमा परेर दुवै हात गुमाएका उनले अपाङ्गता भएकाको क्षेत्रको नेतृत्वमा रहेर काम गरिरहेको छ ।
खत्रीले दुवै हात गुमाए पनि एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्णसमेत गरे । उनी अपाङ्गता भएकाको राष्ट्रियस्तरको सञ्जालमा समेत संलग्न छन् । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने अर्थोटिक्स र प्रोथिटिक्स सामग्री सहज उपलब्ध गराउन विभिन्न सङ्घसंस्थामा पहलसमेत गर्ने गरेको खत्रीले बताए । हातखुट्टा गुमाएका, दृष्टिविहीनलगायत विभिन्न किसिमका समस्या भएकालाई राज्यले आधारभूत सुविधा सहजरूपमा निःशुल्क उपलब्ध गराउनुपर्नेमा समेत अपाङ्गता भएकाले माग गरेका छन् ।
यसैबीच धौलागिरि अञ्चलभित्रका कृत्रिम हातखुट्टाको प्रयोग गरिरहेकालाई लक्षित गरी बेलायतमा रहेका म्याग्देलीको साझा संस्था मोना युके र बेनी अस्पतालको सहयोगमा बेनीमा बेलायती चिकित्सकको टोलीले आयोजना गरेको कृत्रिम हातखुट्टा शिविरबाट ३५ जना लाभान्वित भएका छन् । कृत्रिम सामग्रीको प्रयोग गर्ने क्रममा समेत धेरै समस्या देखिने गरेकाले अभ्यास र प्रयोग गर्ने क्रममा अपनाउनुपर्ने सावधानीलाई समेत केन्द्रित गरी शिविर सञ्चालन गरिएको मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाले बताए । उनले शिविरमा आएका बिरामीको नाप बनाएर बेलायतमै ती सामग्री निर्माण गरिने जानकारी दिए । म्याग्दीका साथै धौलागिरि अञ्चलभित्र कृत्रिम हातखुट्टा प्रयोग गर्नेको आधिकारिक तथ्याङ्कसमेत नहुँदा समस्या भइरहेको छ । जनचेतना र पहुँचको अभावमा कृत्रिम सामग्री प्रयोग गर्ने नसकेका दुर्गम क्षेत्रमा अझै भेटिने गरेको छ ।