धरान । धरानमा नगर अस्पताल बनाउनका लागि धरान–१ छाताचोकस्थित जग्गालाई धरान उपमहानगरपालिका मातहतमा ल्याउन सबै एकमत भएका छन् । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहेको जग्गालाई धरान उपमहानगरपालिकाको मातहतमा ल्याई नगर अस्पताल बनाउने विषयमा बुधबार धरान उपमहानगरपालिका कार्यालय परिसरमा सर्वपक्षीय, सर्वदलीय छलफल भएको छ । धरान उपमहानगरका प्रमुख हर्कराज राई (साम्पाङ) ले बुधबार नगर अस्पताल बनाउने विषयमा छलफल डाकेका थिए । छलफलमा धरानमा भएका सबै राजनीतिक दलहरू तथा नागरिक समाजका अगुवाहरू नगर अस्पतालका लागि सबैभन्दा सुरुमा जग्गा नगर मातहतमा ल्याउनका लागि पहल गर्न एकमत भएका हुन् । नगर मातहतमा नआइञ्जेलसम्म उक्त क्षेत्रमा नगर अस्पताल बनाउन नसकिने कार्यक्रमका वक्ताहरूले बताएका थिए । 

“नगर अस्पताल बनाउने विषयमा सबै एकमत देखिए । त्यसका लागि बीपी प्रतिष्ठान मातहतको जग्गालाई नगर मातहतमा ल्याउन सबै एकमत देखिएका छन्” कार्यक्रममा सहभागी फोटो पत्रकार लक्ष्मण थापाले भने, “सबै राजनीतिक दलहरूले पहिला जग्गा नगर मातहतमा ल्याउन पहल गरौँ भनेका छन् ।” धरानमा रहेका नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जनता समाजवादी पार्टी नेपाललगायत राजनीतिक दलका प्रतिनिधिहरू सहभागी बनेका थिए । नगर मातहत जग्गा ल्याउनका लागि पहल समिति गठन गरिने भएको छ ।

अधिकांश राजनीतिक दलहरूले नगर मातहतमा जग्गा ल्याउनका लागि पहल गर्न आफूहरू तयार रहेको बताएका थिए । गत साउन ७ गते नगर प्रमुख हर्कराज राईले ‘जग्गा फिर्ता गर्न’ भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँलाई पत्राचार गरेका थिए । तर, उनले पठाएको पत्रमा अशिष्ट भाषाशैलीको प्रयोग गरेको भन्दै केहीले विरोध जनाएका थिए भने धरानस्थित बीपी प्रतिष्ठान प्रशासनले विरोध जनाउँदै प्रेश विज्ञप्ति जारी गरेको थियो । नगर प्रमुख राईले लेखेका थिए, “धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाताचोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनुहोला ।”

तत्कालीन समयमा उनले प्रधानमान्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बोधार्थ दिएका थिए । बुधबारको सर्वपक्षीय, सर्वदलीय भेलामा बीपी प्रतिष्ठानका निर्देशक डा. जगतनारायण प्रसाद पनि सहभागी थिए । उनले जग्गा फिर्ता गर्ने विषयमा बीपी प्रतिष्ठानको क्षेत्राधिकार नभएको तर धरानवासीका लागि बिमा बापतको सेवा दिन तयार रहेको बताएका थिए । उनले प्रथम सेवा बिन्दुको हिसाबमा नगर अस्पताल नभएको सन्दर्भमा बीपीले धरानवासीका लागि सक्दो सहयोग गर्ने बताए ।

बीपी प्रतिष्ठानले जारी गरेको विज्ञप्तिअनुसार उक्त जग्गा तत्कालीन श्री ५ को सरकारको मिति २०४८ माघ ४ गतेको निर्णयले दिएको थियो । पुरानो अस्पतालले चर्चेको एक बिघा ४ कठ्ठा १३ दशमलव १ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गरिएको प्रतिष्ठानले जनाएको थियो । प्रतिष्ठानले उक्त अस्पतालमा केही समय ओपिडी सेवा पनि सञ्चालन गरेको थियो भने हाल ओपिडी सेवा बन्द रहेको छ । तर, यहाँ बर्थिङ सेन्टर भने सञ्चालनमा रहेको छ । बीपी प्रतिष्ठान छुट्टै ऐनअनुसार सञ्चालन हुँदै आएको छ ।