धरान/सुनसरीको धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलले बुधबार आयोजना गरेको ‘इन्टर हाउस वक्तृत्वकला प्रतियोगिता’ मा कक्षा १० का आयुगप्यारा श्रेष्ठ प्रथम भएका छन् । 

कुल १५० अङ्कमध्ये उनले एक सय १८ अङ्क ल्याउँदै १२ प्रतिस्पर्धीलाई पछि पारेका छन् । उनले ‘विद्यार्थी जीवन’का बारेमा आफ्ना भनाइ राखेका थिए । यस्तै कक्षा १० कै स्वेच्छा इवा लिम्बू दोस्रो भएकी थिइन् । उनले ‘जङ्क फुड’ को विषयमा बोल्दै एक सय १५ अङ्क ल्याएकी थिइन् । यस्तै कक्षा ९ का सामयोगसाम लिम्बू तेस्रो भए । उनले कृत्रिम बौद्धिकताको विषयमा बोल्दै एक सय ११ अङ्क ल्याएका थिए । १३ जना प्रतिस्पर्धीले ‘विद्यार्थी जीवन, बौद्धिक कृत्रिमता (एआई), प्राकृतिक स्रोतसाधन र जङ्क फुड’ का विषयमा बोलेका थिए । 

Lotous_school (1)

वक्तृत्वकलाका विजयीहरू बायाँबाट क्रमशः आयुगप्यारा, स्वेच्छा र सामयोगसाम

कार्यक्रममा निर्णायकहरूमा स्कुलकी प्रिन्सिपल सञ्जीता शाही राई, भोजराज श्रेष्ठ,  र अमृता राई रहेका थिए । निर्णायकले प्रतियोगीहरूले प्रस्तुत गरेको ‘विषय परिचय, विषयवस्तुमाथिको तर्क, हाउभाउ, शैलीशिल्प तथा निष्कर्ष’ का आधारमा छनौट गरेका थिए । निर्णय सार्वजनिक गर्दै प्रिन्सिपल शाहीले भनिन्, “विषयबारे बुझ्नका लागि पढ्नु पर्छ । कोर्षका पुस्तक तथा बाह्य पुस्तकहरू अध्ययन गरेमा ज्ञान बढ्छ । त्यसले यस्ता प्रतियोगिताहरूमा फाइदा पुग्छ ।”

स्कुलका निर्देशक गणेश राईले भने, “विद्यार्थीहरूमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले स्कुलले कार्यक्रम गर्दै आइरहेको छ, यो नियमित जस्तै हुन्छ ।” उनले  विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षाका बावजुद व्यवहारिक शिक्षा तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले विभिन्न खालका कार्यक्रम गर्दै आएको बताए ।

Lotous_school (2)