धरान । सुनसरीको भोक्राहा गाउँपालिका–२ मा सामान्य विवादले उग्र रूप लिँदा एक महिला घाइते भएकी छन् भने एक वृद्धाको खुट्टामा चोट लागेको छ ।
मङ्गलबार बिहान सवा ७ बजेतिर स्थानीय ४० वर्षीया अनितादेवी मेहता र सोही ठाउँका ५५ वर्षीय गोपाल मेहता तथा उनका ३२ वर्षीय छोरा मुकेश मेहताबीच सामान्य विषयमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा उनीहरूबीच कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कुटपिटबाट अनितादेवी मेहताको निधारमा चोट लागेको छ भने उनको इनरुवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न गोपाल मेहताकी ७२ वर्षीया आमा सुकियादेवी मेहताको बायाँ खुट्टामा चोट लागेको छ । सुरुमा सामान्य चोट लागेको भनिए पनि उनलाई थप उपचारका लागि मोरङको विराटनगरस्थित मकालु अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी चौकी भोक्राहाबाट सइ अमरविनोद खड्काको नेतृत्वमा खटिएको टोलीले कुटपिटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।