गणेशजी देवताहरूका गणपति हुन् । देवताहरूमा सबैभन्दा बुद्धिमान्, लेखनमा सिद्धहस्त, तत्काल निर्णय गर्नसक्ने सफल योद्धा र मातापिताको सेवा गरेकै कारण उनी प्रथम पूज्य पनि भएका हुन् । भाद्र शुक्ल चतुर्थीका दिन गणेशजीको विशेष पूजा आराधना गरिन्छ । गणेशजीको उत्पत्ति भएको विश्वासमा सो दिनलाई गणेश चौथी पनि भनिन्छ । गणेशको आराधना, पूजा र प्रार्थना हरेक दिन नै गरिन्छ । पाञ्चायन देवताहरूभित्र पर्ने भएकाले पनि उनको उपासना सनातनीहरूले नित्य नै गर्दछन् । तथापि गणेश चौथी या गणेश चतुर्थीका दिन गणेशजीको मन्दिरमा विशेष उत्सव मनाएर भव्यताकासाथ पूजा र आराधना गर्ने गरिन्छ ।
धरानको विजयपुर कोशी प्रदेशको सर्वाधिक धार्मिक तीर्थस्थल र मठ मन्दिर भएको स्थान हो । प्राचीन र अर्वाचीन मन्दिरहरूले यो क्षेत्रलाई गौरवशाली र आध्यात्मिक क्षेत्रको पहिचान दिएको छ । पुरातŒव विभागको अनुसन्धानअनुसार विजयपुरमा ३२ वटा पुरातात्वक ‘साइड’ हरू छन् । अधिकांश व्यक्तिहरूका बीच भने यहाँका पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा र पञ्चकन्या मन्दिर मात्र प्रसिद्ध छन् ।
विजयपुरमा मात्र चार गणेश विद्यमान छन् । काठमाडौंमा चार विनायक भए जस्तै विजयपुरमा पनि चार गणेश रहेका भए पनि आम भक्तजनले ती चार गणेशबारे जानकारी पाएको देखिँदैन । जानकारीका अभावमा ती चारै गणेशमा भक्तजनहरूले त्यति ध्यान दिएको पाइँदैन । यसै परिप्रेक्षमा आउँदो गणेश चौथीको अवसर पारेर विजयपुरका चार गणेशबारे उल्लेख गर्ने प्रयास गरिएको छ । चार गणेशमध्ये कुन प्राचीन हुन् ? कुन मन्दिर कसको पालामा र कसले स्थापना ग¥यो भन्ने बारे ठोस जानकारी कहीँ कतै भेटिँदैन । प्रमाणहरूको अभावमा सरसर्ती मन्दिरहरूबारे मात्र उल्लेख गरिनेछ ।
विजयपुरका चार गणेशमध्ये सम्भवतः साक्षी गणेश सबैभन्दा प्राचीन हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यसपछि गादी गणेशको स्थापना भएको हुनसक्छ । भीमसेन गणेश र ऋद्धिसिद्धि गणेश पनि यहाँका पुराना र ऐतिहासिक गणेशहरू हुन् ।
साक्षी गणेशः पिण्डेश्वर मन्दिरदेखि करिब तीन सय मिटर उत्तरमा साक्षी गणेशको मन्दिर अवस्थित छ । गुम्बज शैलीमा निर्मित यो मन्दिर विजयपुरमा पिण्डेश्वर स्थापनापश्चात् निर्माण भएको अनुमान गर्न सकिन्छ । पूजा या धार्मिक अनुष्ठान गर्दा सबैभन्दा पहिले गणेशजीको पूजा गर्नुपर्ने भएकोले पिण्डेश्वर मन्दिर आउनुपूर्व यहाँ दर्शन गर्नका लागि यो मन्दिर निर्माण भएको अनुमान गरिएको हो । नाम नै साक्षी गणेश भएकोले भक्तहरूले पिण्डेश्वर दर्शनको फल पाऊँ भन्ने कुराको साक्षीका लागि यी गणेश स्थापना गरिएका हुनसक्ने स्थानीय व्यक्तिहरूको भनाइ छ । २०३० सालमा प्रकाशित ‘देशको माटो देशका ढुङ्गा’ पुस्तकमा समेत यसको उल्लेख गरिएको छ । यो मन्दिर रुद्राक्षारण्य कालकै भएकोसमेत उल्लेख गरिएको छ । साक्षी गणेशको विग्रह (मूर्ति) सुन्दर रहेको छ । प्राचीन मूर्तिको सट्टा अर्कै मूर्ति राखिएको हो वा यही मूर्ति प्राचीन हो भन्न सकिन्न । मूर्ति हेर्दा साक्षी गणेशको विग्रह पुरानो हो तर अत्यन्त प्राचीन हो भनेर भन्न सकिने अवस्थाको भने देखिँदैन । चार हात भएका सुँढ देब्रेतिर ढल्काएका सवा फिट अग्लो विग्रह प्रष्ट देखिने अवस्थाको भने छैन । पुरानो भएको र निरन्तर पूजाका कारण हो वा प्राचीन मन्दिर भत्किएर जीर्णोद्धार गर्दा मूर्तिमा चोट परेर हो वा के कारण हो मूर्ति खिइएको अवस्थामा रहेको छ । यस्तै प्रकारले पिण्डेश्वर मन्दिरमा रहेका सरस्वती र गणेशको मूर्ति पनि खिइएका पाइन्छन् । पिण्डेश्वरमा रहेको सरस्वतीको मूर्ति नवौं दशौं शताब्दीको भएको अनुमान गरिन्छ । यस आधारमा हेर्ने हो भने साक्षी गणेशको मूर्ति नवौं या दशौं शताब्दीको भएको अनुमान गर्नुपर्ने हुन्छ । २०४५ सालको भूकम्पमा पुरानो मन्दिर भत्किएपछि धरानका व्यवसायी जनसेवक भण्डारीले सो मन्दिर क्षेत्रको जग्गा वरिपरि कम्पाउण्ड वाल निर्माण गरेर संरक्षण गरेका हुन् । त्यसपछि मन्दिर निर्माण भएको हो । पिण्डेश्वर दर्शन गर्नुपूर्व यी गणेशको दर्शन अनिवार्य गर्नु पर्दछ । साक्षी गणेशको दर्शन विना पिण्डेश्वर दर्शन अपूरो हुने विश्वास गरिन्छ ।
गादी गणेशः विजयपुर चोकमा थोरै उत्तर–पश्चिम डाँडामा गादी गणेशको मन्दिर रहेको छ । काठमाडौँ शैलीमा बनेको सानो मन्दिरमा शिलालाई गणेश मानेर स्थापित गरिएको छ । विजयपुरमा स्वायत्त शासन हँुदा यो स्थान न्यायालयका रूपमा प्रयोग हुने गरेको पुराना स्थानीयको भनाइ रहेको छ । यहाँबाट तराईको फाँट, धरान बजारदेखि कोशी नदीसम्म प्रष्ट देखिन्छ । सम्भवतः किरात या सेनहरूको कार्यकालमा यो मन्दिर स्थापना भएको हुनसक्छ । त्यसैले यहाँ मूर्तिको सट्टा शिलालाई स्थापना गरेर पूजा गरिएको अनुमान गरिन्छ । सेनहरूले स्थापना गरेको दन्तकालीमा समेत मूर्तिको साटो शिला स्थापना गरिएको हुनाले गादी गणेश दन्तकाली मन्दिर स्थापना हुँदा सँगसँगै स्थापना भएको मान्न सकिन्छ ।
गणेश भीमसेनः विजयपुरमा नेवारहरूको बस्ती बढ्दै गएपछि उनीहरूको कुलदेवताका रूपमा भीमसेनको मन्दिर स्थापना गरे । उनीहरूले भीमसेनसँगै गणेशको पनि स्थापना गरे । त्यसैले यो मन्दिरको नाम गणेश भीमसेन राखिएको हुनसक्छ । यो मन्दिर विजयपुर चोकमै पूर्व मोहोडा फर्किएर निर्माण गरिएको छ । विगतमा गुम्बज शैलीमा निर्माण भएको मन्दिर हाल शिखरशैलीमा निर्मित छ । मन्दिरको स्थापना कहिले भयो भन्ने केही प्रमाण नभए पनि यहाँ रहेका पुराना घण्ट र शिलालेखबाट यहाँ १८८० मा घण्ट चढाएको १८८४ मा मन्दिर निर्माण गरेको भेटिन्छ । मन्दिरमा गणेश र भीमसेनसहित अन्य देवदेवीका मूर्ति पनि स्थापना गरिएका छन् । मन्दिरभित्र र बाहिर प्राचीन र पुराताŒिवक समयका विभिन्न आकृति कुँदिएका शिलाहरू राखिएका छन् । भीमसेन सहकाल (समृद्धि) का देवता र रक्षक पनि हुन् । विजयपुरमा बस्ती बसेदेखि नै स्थानीयको रक्षा र सहकालको आशयले यो मन्दिरको स्थापना गरिएको हो ।
ऋद्धि सिद्धि गणेशः श्री पिण्डेश्वर मन्दिर परिसरभित्र गणेशको बेग्लै मन्दिर स्थापित छ । श्री पिण्डेश्वर दर्शन पूर्व गणेशको दर्शन गर्ने चलन छ । विगतमा यो क्षेत्रमा मानिसहरूको बसोबास नहुँदा साक्षी गणेश जाने बाटो जङ्गलले घेरिएको र एक्लै दुक्लै त्यहाँ पुग्न डरलाग्दो भएपछि पिण्डेश्वर मन्दिर परिसरमै गणेशको स्थापना गरिएको अनुमान गर्न सकिन्छ । यहाँ पिण्डेश्वरका सम्मुखमा सिधै पश्चिम पट्टि ऋद्धिसिद्धि गणेशको मन्दिर नै निर्माण गरेर विग्रह स्थापना गरिएको छ । मन्दिरको प्रवेशद्वारमा दायाँबायाँ दुई कन्याहरूको मूर्ति स्थापना गरिएको छ । ती मूर्तिहरू विश्वकर्माकी पुत्रीहरू र गणेशका पत्नीहरू ऋद्धि र सिद्धिका भएको बताइन्छ । २०४५ साल पूर्व ती मूर्तिहरूका माथि ऋद्धि र सिद्धि लेखिएको बोर्डसमेत रहेकोले तिनीहरू ऋद्धिसिद्धि नै हुनसक्ने जानकारहरूको अनुमान छ । ऋद्धिलाई बुद्धिको प्रतिक र सिद्धिलाई सफलताको प्रतिक मानिन्छ । त्यसैले पिण्डेश्वरमा रहेका गणेशलाई ऋद्धिसिद्धि गणेश भनेर भनिएको हो । तथापि पिण्डेश्वर मन्दिरका प्रवेशद्वारहरूमा यस्ता जोडी कन्याहरू अरू दुई ठाउँमा पनि रहेका छन् । त्यसैले गणेश मन्दिरद्वारअगाडि भएका कन्याहरू ऋद्धि र सिद्धि नै हुन् भनेर ठोकुवा गर्न सकिने अवस्था भने देखिँदैन ।
यो मन्दिर पनि २०४५ सालको भूकम्पमा क्षति भएपछि धरानका विद्वान् स्व.लोकेन्द्रप्रसाद आचार्यको स्मृतिमा वहाँकी धर्मपत्नी कौशल्यादेवी आचार्यले २०५४ सालमा निर्माण गर्नुभएको हो ।
यस्तै धरानको मुटु भानुचोकमा पनि गणेशको भव्य मन्दिर रहेको छ । हाल घण्टाघर परिसरमा रहेको मन्दिर पनि यहाँका स्थानीयले स्थापित गरेका हुन् । घण्टाघर निर्माण हुने भएपछि यहाँको पुरानो र सानो मन्दिरको स्थानमा हालको भव्य मन्दिर स्थापना गरिएको हो ।
गणेश चौथीमा विजयपुरमा रहेका कुनै पनि गणेश मन्दिरमा भव्य उत्सव गर्ने चलन छैन । भानुचोकको गणेश मन्दिरमा भने उत्सव मनाउने चलन रहेको छ । यस वर्षदेखि श्रीपिण्डेश्वर बाबाधाम समितिले गणेश चौथीको अवसरमा यही भाद्र ११ गते बुधबार साक्षी गणेश मन्दिरमा भव्य पूजाआजा र उत्सव मनाउने तयारी गरेको छ । साक्षी गणेश र भानुचोकका गणेश मन्दिरमा मात्र होइन, गादी गणेश र गणेश भीमसेनमा समेत गणेश चौथीका दिन भव्य पूजा हुन आवश्यक देखिन्छ ।