धरान । जनताको आवाज बोल्ने कसम खाएर सदनमा पुगेका सांसद् कतिपय कार्यकालभरि नबोली बस्छन् । तर केही महिला सांसद् जसले सदनमा जनताको आवाज पटक–पटक उठाउँदै आएका छन् ।
२०७९ पुसमा ११ गतेदेखि सुरु भएको कोशी प्रदेशसभाको दोस्रो कार्यकालको ३२ महिनामा अहिले सातौं अधिवेशन सञ्चालन भैरहेको छ । हालसम्म कोशी प्रदेशसभाको १ सय २१ पटक बैठक सम्पन्न भैसकेका छन् । ती बैठकमा ३० महिला सांसद्मध्ये सबैभन्दा धेरै पटक सदनमा कुरा राखेर समानुपातिक सांसद् शोभा चेम्जोङले रेकर्ड बनाएकी छन् । दोस्रोमा सुनसरीकी मीना श्रेष्ठले रेकर्ड बनाएकी छन् । जनताका लागि आवाज उठाउन निर्वाचित भएर आएका ९३ जना सांसद्हरूमा ३१ जना महिला सांसद् रहेका छन् ।
महिला सांसद्हरूमध्ये सबै भन्दा बढी ३३ पटक मोरङकी नेपाली काङ्ग्रेसबाट समानुपातिकमा परेकी शोभा चेम्जोङले बोलेकी छन् । दोस्रोमा ३१ पटक सदनमा सुनसरी–२ (१) की मीना श्रेष्ठले बोलेकी छन् । चेम्जोङले शून्य समय र सैद्धान्तिक छलफलमा १६–१६ पटक र विषय समय लिएर १ पटक सदनमा बोलेकी छन् । जनताकोआवाज उठाउनेमा दोस्रो नं. मा परेकी श्रेष्ठले शून्य समयमा २० पटक र सैद्धान्तिक छलफलमा १० पटक बोलेकी छन् । उनी सुनसरी क्षेत्र नं. २ (१) बाट नेकपा (एमाले) को समानुपातिक कोटाबाट सांसद् बनेकी हुन् ।
यस्तै तेह्रथुमबाट एमालेकी सांसद् कमला दर्नालले २४ पटक सदनमा बोलेकी छन् । दर्नाल कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति सभापतिसमेत हुन् । यस्तै इलाम–१(१)बाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बूले पनि २४ पटक सदनमा बोलेकी छन् ।
यस्तै उदयपुरबाट एमालेकी गीतादेवी रेग्मीले २२ पटक, ताप्लेजुङबाट जनता समाजवादी नेपालकी निर्मला लिम्बूले पनि २२ पटक सदन आवाज उठाएकी छन् । सुनसरीबाट एमालेकी नीरादेवी खनालले १४ पटक र सुनसरीबाटै एमालेकी सांसद् यशोदा कायस्थले १५ पटक सदनमा बोलेकी छन् ।
महिलाहरूलाई कमजोर ठानेर वा आवश्यकता नठानेर कुनै पनि दलहरूले महिलालाई प्रत्यक्ष निर्वाचनमा सहभागी गराएनन् । यद्यपि केही महिलाहरूले प्रत्यक्षमा चुनाव लडे पनि पराजित भए । ३३ प्रतिशत महिला सहभागिता पु¥याउन दलहरूबाट समानुपातिकमा आएका महिला सांसद्मध्ये केही सांसद्हरूले सदनमा आफ्नो निर्वाचन क्षेत्र र समसामायिक विषयमा आवाज उठाउँदै आएका छन् ।
श्रेष्ठपछि २४ पटक आवाज उठाउने तेह्रथुमबाट प्रतिनिधित्व गर्ने एमालेकी कमला दर्नाल, इलाम क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बू रहेका छन् । उनीहरूले शून्य समय, सैद्धान्ति छलफल, विशेष समय लिएर र पार्टीको आधिकारिक धारणासमेत राखेका छन् । विभिन्न समयमा प्राकृतिक प्रकोप, कृषि, पर्यटन, स्वास्थ्य शिक्षालगायत समसामायिक विषय उठान गरेका छन् ।
३२ महिनाको अवधिमा कोशी प्रदेश सभामा एकपटक पनि नागरिकहरूका आवाज नउठाउने उदयपुरकी समानुपातिक काङ्ग्रेस सांसद् लीलाकुमारी राई रहेकी छन् । प्रदेश सभाको ३२ महिनाको अवधिमा शून्य समय, विशेष समय, सैद्धान्तिक र अन्य छलफल अनि दलको तर्फबाट एक पटक पनि बोलिनन् ।
आफ्ना निर्वाचन क्षेत्रका समस्या, उनीहरूले आफूसँग राखेका समस्या तथा अप्ठ्याराहरू सदनमा राखेर सरकारलाई ध्यानाकर्षण गराइरहेको सांसद् श्रेष्ठले बताइन् । जनताले सुझाएका कुरा सदनमा उठाएकी छन् । “अधिकांश विषयमा सरकार जवाफदेही पनि बन्दै आएको छ” संसद्मा बढी बोल्ने महिला सांसद् श्रेष्ठले ब्लाष्टसँग भनिन्, “राष्ट्रिय सरोकारका विषय एसियन हाइ–वे, रानी–किमाथाङ्का सडक, प्राकृतिक प्रकोपलगायत विषयमा पनि आवाज उठाइरहेको छु ।”
प्रदेशसभाको शून्य समय, सैद्धान्तिक छलफल र अन्य माध्यमबाट सांसद्हरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या तथा सुधारका सुझावसहित प्रदेशका मुख्य समस्या र सवालहरूबारे सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । शोभा चेम्जोङ, मीना श्रेष्ठसहित केही महिलाहरूले जनताको आवाज बोलिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक विदुर लिङ्थेप (लिम्बू) ले बताए ।
प्रदेशसभा सचिवालयको संशोधित नियम २०७४ अनुसार कोशी संसद्को बैठकमा सांसद्हरूले ‘शून्य समयमा ३ पटक’, ‘विशेष समयमा ७ मिनेट’ र ‘दलको तर्फबाट ८ मिनेट’ बोल्ने अवसर पाउँछन् । यसबाहेक विधेयकको सैद्धान्तिक छलफल र अचानक समयमा पनि सांसद्हरू बोल्ने गरेका छन् । आफ्ना निर्वाचन क्षेत्र र जनताको विषयमा सरोकार राख्ने सांसद्हरूले प्रायः समय मागेर सदनमा बोल्दै आएका छन् ।
कोशी प्रदेश सभा सचिवालयका अनुसार ९३ जना सांसद्मध्ये सांसद्हरूले ५ सय २४ पटक शून्य समयमा आफ्नो निर्वाचन क्षेत्रका समस्यासँगै सामाजिक, प्रशासनिक तथा आर्थिक सवालहरूमा आफ्नो धारणा राख्दै जनहितका विषय उठाएका छन् ।
कोशी प्रदेश सभामा विशेष समय र अन्य छलफलमा विशिष्ट अभिव्यक्तिहरू अन्तर्गत सांसद्हरूले ९३ र ३२ पटक आफ्नो धारणा राखेका छन् । दलको तर्फबाट भने सांसद्हरूले ५७ पटक अभिव्यक्ति दिएका छन् । कोशी प्रदेश सभाको अवधिमा सांसद्हरूले शून्य समयमा ५ सय २४ पटक, विधेयकको सैद्धान्तिक छलफलमा ४ सय ३० पटक, विशेष समयमा ९३ पटक, दलको तर्फबाट ५७ र अन्य छलफलमा ३२ पटक गरी जम्मा ३२ महिनाको ९ सय ६० दिनमा ११ सय ३६ पटक बोलेको संसद् सचिवालयको रेकर्डमा उल्लेख छ ।