काठमाडौं/ सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए ।

साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्षमात्रै भएकाले म्याद थप्नका लागि भएपनि नेपाल फर्कनैपर्ने सोझो बुझाइ उनको थियो ।

राम्रो काम पाएको अवस्थामा श्रम स्वीकृतिको म्याद थप्न नेपाल आइ घर–परिवारसँग भेटघाट गरी केही समयपछि फेरि साउदी फर्कनेसम्मको योजना उनले बनाएका थिए ।

साहको जीवनमा वैदेशिक रोजगारीको भोगाइ सोचेजस्तो र योजना बनाएजस्तो हुन सकेन । दुई वर्ष पुगेपछि घर फर्कने तयारी गरी आफू काम गर्ने कम्पनीमा जानकारी दिन गएका साहलाई कम्पनीले नेपाल फर्कन अनुमति दिएन ।

कम्पनीको सहमतिको चिठीबिना साउदी अरबबाट प्रवेशाज्ञाको म्याद सकिएपनि कुनै कामदार नेपाल फर्कन नपाउने कानुनी बाध्यतामा उनी फसे ।

साउदीको ‘कफला’ पद्धतिमा स्वदेश फर्कनका लागि वहिर्गमन प्रवेशाज्ञाका लागि सम्बन्धित कम्पनीको स्वीकृति अनिवार्य छ ।

साउदीबाट फोनमा रासससँग साहले भने–‘आज पठाइदिन्छु, भोलि पठाइदिन्छु भन्दै कम्पनीले तीन वर्ष झुलाइसक्यो, अझै फर्कन अनुमति दिन्न । म त न मर्नु न बाँच्नुको अवस्थामा पुगें ।’

उनको सप्तरीस्थित घरमा बूढी आमा, श्रीमती, तीन छोरा र एक छोरी छन् ।

साह साउदी जाँदा ९ वर्षको कान्छो छोरा अहिले १४ वर्ष पुग्यो । छोराछोरी कस्ता भए भन्ने कल्पनामा बेलाबेला उनी टोलाउँछन् । बूढी आमा छोरा आउने आशामा दिन गन्दै बसिरहेकी छन् ।

बहराइननजिकैको वेल्डिङ वेड्स कम्पनीमा उनी वल्डिङको काम गर्छन् ।

त्रिपुरेश्वरको वर्ल्डवाइड इम्प्लोइमेन्ट कन्सल्टेन्टबाट रु ९० हजार तिरेर उनी त्यहाँ गएका थिए ।

आफ्नो समस्याबारे मेनपावर, साउदीस्थित नेपाली दूतावासलगायतलाई जानकारी गराएपनि हालसम्म कुनै सुनुवाइ नभएको पीडा फोनमा उनले पोखे ।

साहमात्रै होइन, दाङका तुलसी थापा, अर्जुन श्रेष्ठ, छविलाल गौतम, सुनसरीका श्रवण लिम्बू, नरेशकुमार चौधरी र कपिलवस्तुका अब्जल मुसलमान पनि दुई वर्षे श्रम सम्झौतामा तीन वर्षअघि साउदी अरब पुगेका थिए ।

उनीहरु कामका लागि गएको साउदीको कम्पनी कालोसूचीमा परेको रहेछ । साउदी अरब आएको तीन वर्षे अवधिमा १७ महिनामात्रै आफूहरुले काम पाएको पीडित नरेश चौधरीले टेलिफोनमा भने ।

पछिल्लो सात महिनादेखि काम नभएका कारण आफूहरु त्यसै कोठामा बस्नुपरेको उनले जानकारी दिए ।

घर फर्कनका लागि कम्पनीको स्वीकृति चाहिने तर कम्पनी नै कालोसूचीमा परेकाले उसले दिएको स्वीकृति काम नलाग्ने भएपछि उनीहरु समस्यामा परेका हुन् ।

पीडित चौधरीले भने–‘पैसा त कमाउन सकिएन । काम पनि नपाइने, घर जान पनि नपाइने भइ बन्दी जीवन बिताउनु परिरहेको छ ।’

त्यहाँको प्रशासनलाई घुस खुवाएर भएपनि नेपाल फर्काइदिन आवश्यक व्यवस्था मिलाउन भनेर आफूहरुले प्रतिकामदार दुई हजार साउदी रियालका दरले १२ हजार उठाएर कम्पनीलाई दिएपनि पछि कम्पनीले नसकेको भन्दै उनीहरुको रकम फिर्ता दिएको थियो ।

बानेश्वरमा रहेको स्वस्तिक ओभरसिजबाट उनीहरु वि।सं। २०७१ सालमा साउदी गएका थिए ।

घर फर्कन नपाउने यस्तै समस्या मोरङका निश्चल थापामागर र सञ्जयकुमार धितालले भोग्नु परिरहेको छ ।

त्रिपुरेश्वरको वर्ल्डवाइड इम्प्लोमेन्टबाट साढे तीन वर्षअघि साउदी गएका उनीहरुको राहदानीलगायत कागजपत्र त्यहाँको कम्पनीले लग्यो । अहिले कम्पनीले राहदानी हरायो भन्दै उनीहरुलाई फिर्ता दिँदैन ।

‘सो कम्पनीले दुई वर्षदेखि काम पनि दिएको छैन, तलब पनि दिएको छैन । नेपाल फर्किन्छुभन्दा फर्कन सहमति पनि दिन्न । यो बीचमा त्यहाँको प्रहरीले पक्राउ गर्‍यो तर छोडिदियो’–उनीहरुले भने ।

उनीहरुले साउदीस्थित दूतावासमासमेत यसबारेमा जानकारी गराएपनि दूतावासले सहयोग नगरेको उनीहरुको गुनासो छ ।

पीडित थापामगरका भिनाजु हर्क मगरले भने–‘उनीहरुलाई न त कम्पनीले काम गरेको भनेर कागजपत्र दिएको छ, न त उनीहरुको राहदानी नै दिएको छ ।’

साउदीअरबमा एक दशक रोजगारीमा रही नेपाल फर्किएर सुरक्षित आप्रवासको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष रहेका कुलप्रसाद कार्की साउदीको कफला कानुनका कारण नेपालीहरुले समस्या भोग्नुपरेको अनुभव सुनाए ।

सरकारले साउदीसँग श्रम सम्झौता गर्नसके धेरै समस्याको समाधान हुने र कामदारलाई समयमै उद्धार तथा राहत गर्न सकिने उनको भनाइ छ ।

अहिलको प्रक्रियामा कामदारको शव ल्याउनकै लागि तीन महिना कुर्नुपर्ने झन्झटिलो व्यवस्था रहेको उनले जानकारी दिए ।

अर्कोतर्फ कामदार समस्यामा पर्दा साउदीस्थित नेपाली दूतावासलेसमेत चासो नदिने गरेको पीडितहरुको भनाइ छ ।

साउदीको रियाद, जेद्दा र दमाममा नेपाली दूतावासको कार्यालय रहेकामा दमामस्थित शाखाले समन्वय नै नगर्ने गरेको कामदारहरु बताउँछन् ।

आर्थिक संकटका कारण साउदीका धेरै कम्पनी बन्द हुँदा त्यहाँ ठूलो संख्यामा नेपाली कामदार अहिले बेरोजगार हुनुपरेको छ ।