धरान/ धरान–२० बसन्तटारकी निरमाया लिम्बू (राई) ७४ वर्ष पुगे पनि आफ्नै देशमा अनागरिक बनेर जीवन व्यतित गरिरहेकी छन् । उनको उमेरकाले सबैले वृद्धभत्ता थापेर सहज जीवन चलाइरहेका बेला निरमाया भने दैनिक मजदुरी गरेर जीविकोपार्जन गरिरहेकी छन् ।

‘सबैले वृद्ध भत्ता खाएको भन्छन्, मेरो चाही पहिला बनाउने पहल भएन् ।’ निरमाया भन्छिन् । नागरिकता बनाउने बेलामा उनी पूर्वी भारतको आसाममा गुजारे । उनी ४० वर्षको उमेर हुँदा उनलाई २०३९ सालमा भारत लगिएको थियो । त्यहाँ १८ वर्ष गुजारिन् । नेपाल आएको १४ वर्ष भएको उनी बताउँछिन् । १९९९ सालमा जन्मिएकी उनको त्यो बेलामा परिवारमा नागरिकता बनाउने चलन नभएको बताउँछिन् । भन्छिन्, ‘नागरिकताको चलन थिएन, बुढोले आसाम लगेको उतै बसेको बसैकै ।’

उनले विहेपछि पनि नागरिकता चाहिन्छ भनेर ख्यालै नभएको बताउँछिन् । जसका कारण अहिले उनी वृद्धभत्ता लगायत अन्य सरकारी सेवा सुविधाबाट बन्चित हुँदै आएकी छन् । ‘मलाई वृद्धा भत्ता पाउँछेस् भनेर भने, तर, नागरिकता कसरी बनाउने हो, के गर्नु पर्ने हो पत्ता छैन् मलाई ।’ उनी गुनासो पोख्छिन्, ‘के गरेर बनिने हो, कसरी बनिने हो पत्तै छैन् ।’ धरान–२० बसन्तटारबाटै उनको बिहे भएको थियो । बिहे लगत्तै आसाम लगेका उनका श्रीमान सातवर्ष अघि परलोक भए । श्रीमानको नागरिकता थियो । तर, बनाउने हेक्का नभएपछि अहिले उनी आफ्नै देशमा गैरनागरिक झै बस्नु परेको छ । न त उनको घरबारी नै छ, न त जग्गा जमिन नै । सुकुम्बासी झै छरछिमेकले बनाइदिएको घरमा उनी बसेर गुजारा चलाइरहेकी छन् ।

दैनिक ज्यालादारी काममा तल्लिन हुने उनी प्रशासनले नागरिकता बनाइदिए यो उमेरमा सरकारको सेवासुविधा पाउने आशामा छिन् । उनको आफ्नो माइतीपट्टी कोही पनि छैनन् । भोजपुरकी उनी बिहेपछि दुईवटा नानीहरु भए, तर उनीहरु बाँचेनन् । श्रीमानको जताजता उनी पनि त्यतै त्यतै हिडेका कारणले अहिले आफन्तसमेत कोही छैनन् ।

भाइबुहारी र भदैंहरु छन् । तर, उनलाई हेर्नको लागि खासै आउँदैनन् । उनले आफन्तको बाट नागरिकता पाउने आशै मारेकी छन् । नागरिकतको लागि आफन्तलाई पनि भनेकी छैनन् । ‘नागरिकताको लागि मैले आफन्तहरुलाई पनि भनेको छैन् । बाँ हुन्छ बाँ हुँदैन ।’ उनी भन्छिन् । आफू सँगैका दौतरीहरु सरकारी सेवा सुविधा पाएर बसिरहेका बेला उनी देशमै अनागरिकको पीडाबाट गुज्रिरहेकी छन् । यता तिर प्रशासनले ध्यान दिने हो भने ७४ वर्षीया निरमायालाई राहत हुने थियो कि ?